+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares
सुदन गुरुङसँग वार्ता :

‘जेनजीले न्याय नपाएसम्म चुनाव हुँदैन’

‘गृहमन्त्री ओमप्रकाश अर्याल आफ्नो बोलीमा अडिग हुनुहुन्न । उहाँले प्रधानमन्त्री निवासमा दुई महिनामा काम गर्न नसके सत्ता छोड्दिन्छु भनेर हामीलाई वचन दिनुभएको थियो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते २१:१४

अहिले जेनजी र अन्य राजनीतिक समूहबीच टकराव बढ्दो छ । विशेषगरी एमाले नेतालक्षित प्रदर्शन जेनजीले गरिरहेका छन् । सिमरा घटनापछि सुर्खेत, धनगढीमा पनि जेनजीले महेश बस्नेत जाने कार्यक्रमलाई लक्षित गरेर विरोध प्रदर्शन गरे ।

यता सुदन गुरुड नेतृत्वको द काउन्सिल अफ जेनजी छ, जसले गृहमन्त्रीको राजीनामा मागिरहेको छ । यसका प्रदेश संयोजकको असहमतिका बाबजुद सुदनले गृहमन्त्रीविरुद्ध सञ्जालमा बोलिरहेका छन् ।

यो किन भइरहेको छ ? अनि जेनजीले चाहेको के हो ? यसको नाममा निषेधको राजनीतिक सुरु भएको हो ? अनि चुनाव नजिकिँदै जाँदा जेनजीहरूको रणनीति के छ ? यसबारे हामी नेपालका संयोजकसमेत रहेका जेनजी अगुवा सुदन गुरुङसँग अनलाइनखबरका कौशल काफ्लेले गरेको कुराकानी :

तपाईंहरू पछिल्लो समय सडकमा देखिनुहुन्छ । गृहमन्त्रीको राजीनामा मागिरहनुभएको छ । यसले तपाईंहरु कसैबाट परिचालित हो कि भन्दै आशंका पनि छ के हो खासमा ?

अँ । अति गर्न थाले अब त । हुँदाहुँदा मलाई कल्याण श्रेष्ठले प्रयोग गरिरहेको छ भनेर समाचार आइरहेका रहेछन् । जिन्दगीमा मैले कल्याण श्रेष्ठ भेटेकै छैन, यार । यो त सरासर चरित्र हत्या हो ।

उसोभए पछिल्लो समय यही सरकारबाट किन असन्तुष्ट हुनुहुन्छ ?

हाम्रो जेनजीका भाइबहिनीहरू समातिएका छन् । लगभग ३ हजारभन्दा बढी मान्छे त जेलभित्र छिरिसके । अपराधीकरण बढ्यो । नभएका मुद्दा, झुटा मुद्दा लगाएर थपेर मान्छेहरूलाई जेल हालिन थालेको छ । यो एकदमै गलत हो । म अहिले यसमै काम गरिरहेको छु । ती भाइबहिनीको लागि लडिरहेको छु ।

अहिलेको प्रधानमन्त्री अनि सरकारका प्रतिनिधि तपाईंहरुले नै छान्नुभएको होइन र ? किन यस्तो भयो ?

त्यो बेलाको कुरा यस्तो हो, हामीलाई जेनजीहरू सबै मिलेर नाम दिनुभएको थियो । मलाई ‘दाइ, तपाईं जे गर्नुहुन्छ, हामी तयार छौँ’ भनेर म्यान्डेट दिएको थियो । त्यो बेला सुशीला कार्कीको नाम निकाल्ने नै ओमप्रकाश अर्याल हुन् । उहाँ जेनजीको आन्दोलनमा मध्यस्थता गर्न आएको एउटा पात्र मात्र हो ।

उहाँले नै सुशीला कार्की कानुन बुझेको, सम्माननीय व्यक्ति भएको र महाअभियोग लगाएर हटाउन खोजिएकोले उहाँले काम गर्नुहुन्छ भनियो । तत्कालीन सत्तासँगको एग्रेसनले पनि उहाँले इमानदार भएर राम्रो काम गर्नुहुन्छ भनेर भनियो । हामीलाई कन्भिन्स गराइयो ।

बरु मैले कार्कीको नाम पाएपछि १७ जनाले मात्र निर्णय गरेर हुँदैन भनेर आम जेनजीको मत लिन डिस्कर्डमा भोटिङ पनि गराएँ । प्रोसेस यही हो । यसरी उहाँ प्रधानमन्त्री बन्नुभएको हो ।

अहिले फर्केर हेर्दा, ती नाम सिफारिस गर्नेहरूमाथि कुनै शङ्का लाग्छ ?

मलाई त के थाहा । आन्दोलनमा आएर भेटेका मान्छेहरू हुन् सबैजना । हामी त अन्याय सहनुहुँदैन भनेर लडेका थियौँ । अहिले आएर उहाँहरूले त्यतिखेरको समयको फाइदा लिनुभयो भन्ने मलाई लाग्छ ।

त्यो प्रेसरको फाइदा उहाँहरूले लिनुभयो । हामी जुन प्रेसरमा थियौँ, आज सरकार नबने भोलि जे पनि हुन्छ भनेर तर्साइएपछि यो सबै छिटोछिटो गरिएको थियो । हामीले पनि विज्ञका कुरा सुन्नुपर्छ भनेर पत्याएका थियौँ ।

ओमप्रकाश अर्याल त राष्ट्रपति निवासमा कानुनी सल्लाहकार भएर जानुभएको थियो । उहाँले प्रधानमन्त्री नबन्दासम्म ‘देश डुब्ने भयो’ भनेर मलाई नै बोलाउनुभयो ।

कानुनी सल्लाहकारको नाताले उहाँले मलाई सुरुमै भन्नुपर्थ्यो कि, ‘सुदन जी, यो संविधान रह्यो भने तपाईंहरूको माग कुनै पनि पूरा हुँदैन’ भनेर । तर, उहाँले यति मात्र भन्नुभयो कि ‘हाम्रो प्रधानमन्त्री आइसकेपछि बाँकी माग पूरा भइहाल्छ । म संविधानको एक्सपर्ट हुँ, मलाई विश्वास गर्नुस्’ भनेर मलाई झुक्काउनुभयो ।

मेरो टिमको बिजनेस एक्सपर्ट अधिवक्ता रमन कर्ण समेत त्यहाँ हुनुहुन्थ्यो । कर्ण व्यावसायिक क्षेत्रको विज्ञ, मचाहिँ कानुनको विज्ञ भनेर ओमप्रकाशजीले भनेपछि हामी उहाँको कुरामा कन्भिन्स भएका थियौँ ।

यो सबै हेर्दा, उहाँहरूले हामीलाई दुरुपयोग गर्नुभयो भन्नेलाग्छ । त्यतिखेरको प्रेसरको फाइदा लिनुभयो ।

पछिल्लो समय गृहमन्त्रीसँग बढेको टकराव पनि यसकै कारण हो ? किन उहाँप्रति आक्रोश पोखिरहनुभएको छ ?

उहाँको व्यवहार सही भएन । कानुनको असमान प्रयोग भयो । अराजक अभिव्यक्ति दिने, समाज भड्काउने, गुण्डागर्दी देखाउने मान्छेहरू (जस्तैः महेश बस्नेत लगायत) लाई छुट दिने, तर त्यसको प्रतिक्रिया दिने हामी जेनजीहरूलाई चाहिँ झूटा मुद्दा लगाएर समात्ने र थुन्ने काम बढ्यो । कानुन त सबैको लागि बराबर हुनुपर्‍यो नि ।

भिडियो खिचेको भरमा पनि निर्दोष जेनजीहरूलाई पक्राउ गर्ने र नचाहिने मुद्दा थप्ने काम भइरहेको छ । गृहमन्त्रीसँग यसलाई फिल्टर गर्न, भेरिफाई गर्नसक्ने एउटा सानो डिपार्टमेन्ट बनाउने क्षमता समेत छैन ।

मुख्य कुरा त गृहमन्त्री ओमप्रकाश अर्याल आफ्नो बोलीमा अडिग हुनुहुन्न । उहाँले प्रधानमन्त्री निवासमा दुई महिनामा काम गर्न नसके सत्ता छोड्दिन्छु भनेर हामीलाई वचन दिनुभएको थियो । तर, दुई महिना के, दशैँ, तिहार, छठ सकिँदासम्म पनि छोड्नुभएन । काम पनि गर्न सक्नुभएन ।

अनि गृहमन्त्री बन्ने बेलामा पनि उहाँले ‘मेरो विज्ञता कानुनमा हो, म कानुन मन्त्रालयमा जान्छु, गृहमा राम्रो मान्छे राख्नुस्’ भन्नुभएको थियो । त्यसैले गृहमा हामीले हर्क साम्पाङको नामसमेत लगेर प्रधानमन्त्रीलाई भेट गराएका थियौँ । तर, बेलुका न्युज आउँदा उहाँ आफैँ गृहमन्त्री बन्नुभयो । यो ढाँटछल हो । यसले हामी त्यसबेला आक्रोशित पनि बनेका थियौँ ।

कामकै कुरा गर्दा, घाइतेको वर्गीकरण गर्न तीन महिना भईसक्यो । यस्तो असक्षम मान्छेलाई गृहमन्त्रीमा टाँसेर बस्न हामीले आन्दोलन गरेको होइन नि ।

तर, तपाईंहरूले नियुक्ति र बढुवा जस्ता कुरामा टसल बढेर विरोध गर्नुभएको हो भन्ने आरोप छ नि ?

यो उहाँले नै फैलाएको झूटो न्यारेटिभ हो । मैले उहाँसँग कुरा नगरेको धेरै भइसक्यो । मैले के भनेको थिएँ भने, राम्रो मान्छे नियुक्ति गर्नु, जो विवादित छैन, जसले न्याय दिन सक्छ । तर, त्यो भएन । त्यसपछि बाहिर विरोध बढेपछि उहाँले सुदन गुरुङले आइजीपी अनि के-के को नियुक्तिमा चित्त बुझाएन भनेर अफवाह फैलाउनुभयो । यो सरासर झुटो हो ।

सडकमा अन्य राजनीतिक दलका व्यक्ति र कार्यकर्तालाई निषेध गर्ने हिसाबले किन कार्यक्रम गरिराख्नु भएको त ?

हामीले अहिले भदौ २३ गते जेनजीहरूमाथि दमन गर्नेलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ भनेका हौं । निर्दोष जेनजीहरूमाथि लागेको झुटा मुद्दा खारेज गरेर तत्काल रिहा गर्नुपर्छ । ढाँटेर, छलछाम गरेर पदमा बसेका गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।

तर, अहिले त्यही शक्ति अनेक ठाउँमा खुलेआम हिँडेको छ, त्यो पनि जेनजी भाइबहिनीलाई थर्काउँदै । अनि सरकार के हेरेर बसेको छ ? हामीमाथि भइरहेको आक्रमणचाहिँ किन कसैले देख्दैन ? खासमा विषयमा हामीले के गर्यौँ हैन, उनीहरूले के बोलिरहेका छन् भन्ने हो । हामीले कसैलाई निषेध गरेको हैन, यो त बस् क्रियाको प्रतिक्रिया मात्र हो ।

अनि संविधानको हकमा तपाईंको अडान के हो ? एकपटक तपाईंले ‘संविधान फाल्ने कि राख्ने, कन्फ्युज छु’ भन्नुभएको थियो, जुन निकै विवादिन पनि बन्यो नी ?

त्यो बेला कन्फ्युज छु भन्नुको मतलब, बाहिरबाट जेनजीले मलाई ‘संविधान खारेज गर्नुपर्छ’ भनेर म्यान्डेट दिएर पठाएको थियो । तर, भित्र गएपछि कुरा अर्कै आयो । ओमप्रकाश अर्यालले राष्ट्रपति निवासमा मलाई ‘म एक्सपर्ट हुँ, यो संविधान राख्नैपर्छ’ भनेर हामीलाई भन्नुभयो । बाहिरबाट जेनजीले खारेज गर्नु भनेर पठाएका थिए, भित्र फाल्नु हुँदैन भन्ने कुरा आयो । त्यसपछि बाहिर आउँदा मैले त्यो बोलेको हुँ । बाँकी मेरो केही स्वार्थ पनि छैन, केही छैन । विज्ञहरुले जे सल्लाह दिए त्यो कार्यान्वयन गराउन लागिपरेको हुँ ।

अनि यो सरकारसँग जेनजीहरू पनि सन्तुष्ट हुनुहुन्न । दलहरुले पनि बनाएको सरकार हैन यो । अहिले सरकार कसको बलमा अडिएको छ जस्तो लाग्छ ?

यो सरकार न पार्टीले पठाएको हो, न चुनाव जितेर आएको हो । बरु यो सरकार जेनजी र नेपाली जनताको बलमा टिकेको हो । मुख्य लौरो हामी जेनजी नै हौँ । तर, उहाँहरूले त्यो लौरो नै भाँचिरहनु भएको छ । उहाँहरूले अहिले ‘सत्तामा आइसक्यौँ’ अब कसैको मतलब छैन भन्ने सोच्दै हुनुहुन्छ भने यो गलत हुनजान्छ ।

यता एमालेले त संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्चमा गएको छ । यसलाई के भन्नुहुन्छ ?

त्यही त, यत्रो आन्दोलन गरेको फरक के भयो र अहिले ? कुनै हत्यारालाई कारबाही भएको छैन । भ्रष्टाचारीलाई कारबाही भएको छैन । गृहमन्त्री त गिरीबन्धुमा केपी ओलीविरुद्ध लडेको भनेर मलाई कन्भिन्स गराउने मान्छे हो । उहाँसँग गिरीबन्धुको सबै फाइल पनि छ । मैले यसविरुद्ध लडेको हुँ, कारबाही गर्नुपर्छ भनेर मलाई नै भनेकै हो । अहिले राज्यसत्ता आफ्नै हातमा छ । सडकमा हुँदा कराउने, सत्तामा पुगेपछि चुप लाग्ने ? यस्तो हुनु भएन ।

हामीले लडेको यस्तो कामै नगर्ने मान्छेलाई राख्न होइन । परिस्थिति सम्हाल्न मात्र हो भने त पहिलाकै गृहमन्त्री ठीक थियो होला नि । हामीले त सुशासन माग्दै योग्य मान्छेलाई पदमा स्थापित गराउन लडेको हो ।

यस्तो अवस्थामा पुराना शक्ति फेरि उठ्न खोज्नु नौलो होइन । बरु हामीले र हाम्रो सरकारले काम गर्नुपर्‍यो । अब के हुन्छ त मलाई थाहा छैन, तर सरकारले जे गरिरहेको ठिक छैन । यसले हाम्रो आन्दोलन अपराधिकरण बढ्ने जोखिम नै धेरै भयो ।

अब तपाईंहरू चाहिँ चुनावमा कसरी जानुहुन्छ ? तयारी के छ ?

कुन मुख लिएर जाने इलेक्सनमा हामी ? हाम्रो माग पुरै नभई यत्तिकै चुनावमा जाने ? हामीले न्याय नपाएसम्म चुनावमा जाने कुरै आउँदैन । त्यही पनि इलेक्सन हुन्छ होला र ? मलाई त शंका लागिरहेको छ ।

चुनाव यिनीहरूको एजेन्डा नै रहेछ । हाम्रो एजेन्डा नै फरक छ । यिनीहरुले चुनावमात्र भनिरहेका छन्, हामीले त्योमात्र भनेका छैनौँ । जेनजीले बनाएको सरकारको एजेन्डा फरक थियो, अहिले उनीहरूको एजेन्डा नै भिन्नै छ । यो त खै, के भयो भयो । जेनजीको रगतको फाइदा लिए सबैले । हामीले अर्कै सोचेको, अहिले अर्कै भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?