१५ मंसिर, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूविरुद्ध चलिरहेका भ्रष्टाचारका मामिलाहरूमा राष्ट्रपति आइजेक हर्जोगसँग औपचारिक रूपमा माफीको अनुरोध गरेका छन्।
राष्ट्रपति कार्यालयले राष्ट्रपति आइजेक हर्जोगले यस ‘असाधारण गुहार’ माथि विचार गर्नुअघि न्याय अधिकारीहरूको राय लिने बताएको छ । यस कदमको ‘महत्त्वपूर्ण परिणामहरू हुन सक्ने’ भएकोले यो परामर्श लिन लागिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।
पछिल्ला पाँच वर्षदेखि नेतान्याहु तीन फरक-फरक मामिलाहरूमा मुद्दाहरूको सामना गरिरहेका छन्। उनीमाथि घुसखोरी, धोखाधडी र विश्वासघातको आरोपहरू छन्। यद्यपि नेतान्याहुले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दै आएका छन् ।
नेतान्याहुले एक भिडियो सन्देशमार्फत उनी कानुनी प्रक्रियाले पूर्ण निष्कर्ष पाओस् भन्ने चाहिरहेको बताएका छन्, तर ‘राष्ट्रिय हित’ को लागि अहिले नै यो प्रक्रिया टुङ्ग्याउनु उचित हुनेछैन।
यसैबीच, इजरायलका विपक्षी दलहरूले माफीको गुहार माग्नुअघि नेतान्याहुले आफ्नो दोष स्वीकार गर्नुपर्ने बताएका छन् । यस महिनाको सुरुमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली राष्ट्रपति हर्जोगलाई नेतान्याहुलाई ‘पूर्ण रूपमा माफी’ दिन अपील गरेका थिए। त्यस समय हर्जोगले माफीको लागि कुनै पनि व्यक्तिले औपचारिक रूपमा अनुरोध गर्नुपर्ने बताएका थिए।
आइतबार राष्ट्रपति कार्यालयले नेतान्याहुको यस अनुरोधको बारेमा जानकारी दिएको छ र उनको लिखित पत्र ‘यसको गम्भीरता र त्यसको प्रभाव’ लाई ध्यानमा राख्दै सार्वजनिक गर्ने निर्णय गरिएको भनेको छ । अहिलेसम्म राष्ट्रपति कार्यालयले राष्ट्रपतिले यसमाथि कहिले निर्णय गर्नेछन् भन्ने बताएको छैन।
नेतान्याहुमाथि लागेका तीन आरोपहरू
सन् २०२० मा नेतान्याहु पदमा रहँदा आरोप लाग्ने इजरायलका पहिलो प्रधानमन्त्री बनेका थिए। महान्यायाधिवक्ता अभिखाई मन्डब्लिटले फेब्रुअरीमा नै तीन मामिलाहरूको सिलसिलामा नेतान्याहुमाथि मुद्दा चलाउन चाहेको बताएका थिए ।
आफ्नो निर्णयको जानकारी दिँदै उनले भनेका थिए, ‘मैले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई उहाँमाथि तीन आरोपमा मुद्दा चलाइनेछ भनेर बताएको छु। जब कुनै महान्यायाधिवक्ताले पदमा रहेका प्रधानमन्त्रीमाथि भ्रष्टाचारको गम्भीर मामिलाहरूमा मुद्दा चलाउने कुरा गर्छ, त्यो दुःखद हुन्छ।’
नेतान्याहुविरुद्ध चलिरहेका यी मामिलाहरूलाई केस १,०००, केस २,००० र केस ३,००० का नामले चिनिन्छ। यी सबै मामिलाहरू विचाराधीन थिए र गत महिना यी तीनैमाथि अन्तिम सुनुवाइ भएको थियो।
केस १,०००: यस मामिलामा नेतान्याहुमाथि धोखा दिएको र विश्वास तोडेको आरोपहरू छन्। उनीमाथि आफ्नो एक धनी साथीबाट कुनै कामको बदलामा धेरै महँगा उपहारहरू जस्तै पिंक स्याम्पेन र एकप्रकारको धुमपानहरू लिएको आरोप छ।
यी सबै उपहारहरू केवल मित्रताको कारणले प्राप्त भएको र उनले उपहारहरूलाई गलत तरिकाले कुनै कामको बदलामा नलिएको नेतान्याहुले जिकिर गरेका छन् । उनका साथीले पनि यस्ता कुनै पनि आरोप अस्वीकार गरेका छन्।
केस २,०००: यो मामिला पनि धोखा र विश्वास तोडेको बारे हो। नेतान्याहुले एउटा प्रमुख अखबारका प्रकाशकलाई आफ्नो पार्टीको उत्कृष्ट कभरेज र आफ्ना प्रतिद्वन्द्वी पार्टीलाई कमजोर गर्नका लागि एउटा डिलमा स्वीकृति दिएको आरोप छ ।
यस मामिलामा पनि नेतान्याहु र अखबारका प्रकाशकले आरोपहरू अस्वीकार गरेका छन्।
केस ३,०००: तीनै मामिलाहरूमध्ये यो सबैभन्दा सङ्गीन छ र यसमा नेतान्याहुमाथि घुस लिने आरोप छ। यसबाहेक उनीमाथि विश्वास तोडेको र धोखा दिएको आरोपहरू पनि छन्। नेतान्याहुले एउटा प्रमुख दूरसञ्चार कम्पनीको पक्षमा नियामकको निर्णयलाई बढावा दिएको र यसबाट त्यो कम्पनीले आफ्ना वेबसाइटहरूमा नेतान्याहुको समर्थन गर्ने र सकारात्मक खबरहरूलाई स्थान दिनेगरी समझदारी भएको आरोप पनि छ ।
यद्यपि कम्पनीको पक्षमा भएको निर्णयलाई विशेषज्ञहरूले आफ्नो समर्थन दिएका नेतान्याहुले तर्क गरेका छन् । उता, कम्पनीले कुनै पनि अनुचित कदमको आरोपहरू अस्वीकार गरेको छ।
नेतान्याहुले के भने?
नेतान्याहुले यी सबै आरोपहरूलाई ‘राजनीतिक षड्यन्त्र’ भनेका छन् र आफूविरुद्धका मुद्दाहरूलाई आफ्ना राजनीतिक विरोधीहरूद्वारा ‘निशाना साध्ने प्रयास’ को संज्ञा दिएका छन् ।
आइतबार जारी आफ्नो विज्ञप्तिमा उनले आफूविरुद्ध चलिरहेका केसहरू ‘कमजोर भइरहेको’ बताएका छन् । साथै, उनले यो प्रक्रियाले देशलाई भित्रबाट विभाजन गरिरहेको बताएका छन् ।
उनले भने, ‘ट्रायलको तत्काल अन्त्यले देशमा तनाव कम गर्न र व्यापक आपसी समझदारी बढाउन मद्दत गर्नेछ, जसको देशलाई सख्त आवश्यकता छ।’
आफूलाई हप्तामा तीन पटक अदालतमा उपस्थित हुन माग गरिएको र त्यो असम्भव हरेको नेतान्याहुलेब ताएका छन् । यी मामिलाहरूमा माफीले देशविरुद्धका खतराहरूसँग जुध्न र ‘राष्ट्रिय एकता’ को हितमा अवसरहरू सिर्जना गर्न मद्दत गर्ने उनले तर्क गरेका छन् ।
विपक्षी के भन्छन् ?
विपक्षले भने नेतान्याहुले आफ्नो निजी फाइदालाई राष्ट्र हितको रूपमा प्रस्तुत गरिरहेका आरोप लगाएको छ ।
विपक्षी नेता येर ल्यापिडले नेतान्याहुले दोष स्वीकार गरे, पश्चात्ताप व्यक्त गरे र तुरुन्तै राजनीति दिने मात्र उनलाई माफी दिन सकिने बताएका छन् ।
वामपन्थी नेता र इजरायली सेनाका पूर्व डेपुटी कमान्डर याएर गोलानले भने, ‘माफी तिनले माग्छन् जो दोषी हुन्छन्।’
इजरायलको कानून के भन्छ?
इजरायलको आधारभूत कानून अनुसार देशका राष्ट्रपतिसँग व्यक्तिको ‘सजाय माफ गर्ने, कम गर्ने वा त्यसलाई बदल्ने’ शक्ति हुन्छ। यद्यपि, देशको सर्वोच्च अदालतले पहिले नै राष्ट्रपतिले जनहित वा एकदमै विशेष परिस्थितिहरूमा दोष सिद्ध हुनुअघि पनि कुनै व्यक्तिलाई माफी दिन सक्ने भनेको छ ।
नेतान्याहु सम्बद्ध पार्टी र उनका समर्थकहरू यी मामिलाहरूमा उनको माफीको पक्षमा तर्क गरिरहेका छन् । तर देशको एक ठूलो वर्ग यदि नेतान्याहुले माफी पाए देशको लोकतान्त्रिक परम्परा र न्यायिक स्वतन्त्रताको लागि खतरा हुने बुझाइमा छ ।
– बीबीसीबाट
प्रतिक्रिया 4