१५ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताएका हुन् ।
उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए ।
नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पत्ति हुने उनको भनाइ छ ।
विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको उनले बताए ।
‘विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पत्ति आज हामीले प्रयोग गरिरहेका छौं । त्यसको स्वामित्व हस्तान्तरण भएर नेपाली लगानीकर्ताको हातमा आएको होला, कतिपय स्वामित्व हस्तान्तरण भएर नेपाल सरकारको हातमा पनि आएको होला । सम्पत्ति सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरू हुन्छन्, कानुनसम्वत ढंगले कुनै पनि व्यक्तिलाई अपराधीकरण गर्ने वा कारबाही गर्ने हो । सडकबाट कसैलाई औला ठडाएर अपराधीकरण गर्न कानुनी राज्यमा मिल्दै मिल्दैन,’ उनले भने ।
लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानुनअनुसार कारबाही हुने उनले बताए । सडकबाट अपराधी करार गरेर निजी सम्पत्तिमाथि हमला गर्न नमिल्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4