+
एनपीएल २०२५ :

एनपीएलमा विदेशी खेलाडी : रोय आइपुगे, डुप्लेसी आउँदै, कोको फर्किए ?

२०८२ मंसिर  १५ गते १३:५४ २०८२ मंसिर १५ गते १३:५४

लिगको आधा भन्दा धेरै खेल सकिँदा विदेशी खेलाडी आउने र फर्कने क्रम चलिरहेको छ । स्टार खेलाडीहरू जिमी नीशम र गुल्बादिन नाइब फर्किसकेका छन् भने जेसन रोय आइपुगिसकेका छन् । फाफ डुप्लेसी आउँदै छन् ।

एनपीएलमा विदेशी खेलाडी : रोय आइपुगे, डुप्लेसी आउँदै, कोको फर्किए ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा १९ खेल सकिएका छन् र विदेशी खेलाडीहरूको प्रदर्शन ब्याटिङमा डोमिनेटर बनेको छ।
  • विदेशी खेलाडीहरू जस्तै जिमी नीशम, गुल्बादिन नाइब, र शुभम रन्जाने बीचमा फर्किएका छन् भने जेसन रोय र फाफ डु प्लेसी नेपाल आइपुगेका छन्।
  • फ्रेन्चाइजहरूले विदेशी खेलाडीहरू थपिरहेका छन् र केही खेलाडीहरू टी-१० र इन्टरनेशनल लिग टी-२० खेल्न बीचमा नेपाल छाडेर गएका छन्।

१५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा १९ खेल सकिएका छन् । अहिलेसम्मको खेलमा विदेशी खेलाडीहरूको प्रदर्शन उत्कृष्ट देखिएको छ ।

बलिङमा नेपाली खेलाडीहरू पनि अघि रहेपनि ब्याटिङमा भने विदेशी खेलाडीहरूले डोमिनेट गरिरहेका छन् । यस पटक पनि एक टिममा चार विदेशीले प्लेइङ ११ मा खेल्न पाउने प्रावधान रहेको छ । त्यसैअनुसार हरेक टिमले विदेशी खेलाडीहरू खेलाइरहेका छन् ।

लिगको आधा भन्दा धेरै खेल सकिँदा विदेशी खेलाडी आउने र फर्कने क्रम चलिरहेको छ । विशेषगरी यूएईमा भएको टी-१० लिग र अब सुरु हुन लागेको इन्टरनेशनल लिग टी-२० का कारण केही विदेशी खेलाडी एनपीएलका लागि बीचमा आउने जाने भएका छन् ।

यस पटक एनपीएलमा विश्व चर्चित फाफ डु प्लेसी, क्रिस लिन, मार्टिन गप्टिल, जेसन रोय, इमरान ताहिर, जिमी निशम जस्ता खेलाडी अनुबन्ध भएका थिए ।

त्यसमा केही खेलाडी सुरुमै नेपाल आएर खेल्न थाल्दा केही खेलाडी खेलेर फर्किसकेका छन् भने केही खेलाडी आउन बाँकी छन् ।

जिमी नीशम

कुन-कुन खेलाडी फर्किए ?

एनपीएलको दोस्रो संस्करणको सुरुवातदेखि खेलेका जीमी नीशम लगायत केही खेलाडी फर्किसकेका छन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जितेका नीशमले दोस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेलेका थिए । तर यस पटक उनले पहिलो सिजन जस्तो खेल्न सकेनन् ।

उनले चार खेल खेल्दा एक अर्धशतकसहित कूल ९९ रन बनाए । पहिलो खेलमा विराटनगर विरुद्ध शुन्यमा बउट भएका उनले दोस्रो खेलमा सुदुरपश्चिम विरुद्ध ४७ रन बनाएका थिए । त्यसपछि जनकपुरसँग १ रनमा आउट भएका उनले लुम्बिनी लायन्स विरुद्ध अर्धशतक बनाएका हुन् ।

लुम्बिनी विरुद्ध आफ्नो अन्तिम खेलमा अविजित ५१ रन बनाएका उनी लयमा फर्कने बला एनपीएल छाडेर गए । उनी युएईको आईएल टी-२० लिग खेल्न फर्किएका हुन् । यस्तै पोखराकै अर्का विदेशी खेलाडी डान डौथवेट पनि फर्किएका छन् । उनी चोटका कारण फर्किएको पोखरा एभेन्जर्सले जनाएको छ ।

यसैगरी लुम्बिनी लायन्सका अफगानिस्तानी अलराउण्डर गुल्बादिन नfइब पनि आईएल टी-२० लिग खेल्न फर्किएका छन् । उनले पनि सुरुवाती पाँच खेल खेलेर फर्केका हुन् । नाइबले पहिलो खेलमा चितवन राइनोज विरुद्ध अविजित ४४ रन बनाउँदै राम्रो सुरुवात गरेका थिए । तर त्यसपछि उनको ब्याट खासै चल्न सकेन ।

गुल्बादिन नाइब

आईएल टी-२० मा नीशम र गुल्बादिन एउटै टिम दुबई क्यापिटल्सबाट खेल्नेछन् । यस्तै काठमान्डु गोर्खाजका नामिबियन खेलाडी जेरार्ड एरसामस पनि ५ खेल खेलेर फर्केका छन् । उनले काठमान्डुका लागि ५ खेलमा जम्मा ७१ रन बनाएका थिए । काठमान्ठुलाई कर्णाली याक्स विरुद्ध जित दिलाउँदा उनले अविजित ४३ रन बनाएका थियो । त्यो नै उनको व्यक्तिगत उच्च स्कोर थियो । यस्तै ५ खेलमा बलिङ गर्दा ३ विकेट मात्र लिए ।

यसैगरी विराटनगर किंग्सका अमेरिकी अलराउण्डर शुभम रन्जाने पनि फर्किएका छन् । रन्जानेले विराटनगरको सुरुवाती तीन जितमा राम्रो प्रदर्शन गरेका थिए । उनले चार खेल खेल्दा ८६ रन बनाउनुका साथै ५ विकेट समेत लिएका थिए । पहिलो खेलमे पोखरा विरुद्ध उनले ३८ रन बनाउदै २ विकेट पनि लिएका थिए । यस्तै जनकपुर विरुद्ध ३७ रन बनाएर १ विकेट लिएका थिए ।

कोको थपिए ?

विदेशी खेलाडीहरू बिचमै फर्किएपछि फ्रेन्चाइजहरूले अरु विदेशी खेलाडीहरू पनि थप्न थालेका छन् । यस्तै सुरुमै अनुबन्ध भएका केही खेलाडीहरू पनि बीचमा एनपीएल खेल्न आउँदैछन् ।

सुरुमै अनुबन्ध भएका तीन स्टार खेलाडी मध्ये जेसन रोए आइतबार नेपाल आइपुगेका छन् । उनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्नेछन् । उनी अबुधाबी टी-१० लिग खेलेर एनपीएलका लागि आएका हुन् । यस्तै पोखराले सुरुमै अनुबन्ध गरेको रेमन रेइफर नआउने भएपछि उनको स्थानमा युगान्डाका अलराउण्डर सुमित वर्मालाई ल्याएको थियो ।

यस्तै दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी विराटनगर किंग्समा अनुबन्ध भएदेखि नै चर्चामा थिए । उनी पनि टी-१० लिगमा अनुबन्ध भएकोले लिगको मध्यमा नेपाल आउँदैछन् । डु प्लेसी सोमबारसम्म नेपाल आइपुग्ने विराटनगर किंग्सले जनाएको छ ।

जेसन रोय

विराटनगरले यसअघि नै शुभम रन्जाने फर्किएपछि श्रीलंकन अलराउण्डर शेहान जयासूर्यालाई अनुबन्ध गरिसकेको छ । शेहानले काठमाडौं आएर शुक्रबार कर्णाली याक्स विरुद्ध समेत खेलेका थिए । तर उक्त खेलमा फिल्डिङका क्रममा घाइते भएपनि उनले बीचमै मैदान छाड्नुपरेको थियो । शेहानको बारेमा विराटनगरले केही आधिबकारिक सार्वजनिक गरेको छैन ।

यसैगरी लुम्बिनी लायन्सले पनि लिगको बीचमा श्रीलंकन विकेटकिपर ब्याटर निरोशन डिक्वेलालाई अनुबन्ध गरेको छ । सुरुमा ५ मात्र विदेशी खेलाडी अनुबन्ध गरेको लुम्बिनीले छैटौं विदेशीको रुपमा डिकवेलालाई अनुबन्ध गरेको हो ।

गुल्बादिन नाइब बीचमै जाने भएपछि लुम्बिनीले डिकवेलालाई भित्र्याएको हो । डिकवेलाले पोखरा विरुद्ध ३७ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए ।

यस्तै सुदूरपश्चिम रोएल्सले पनि लिगको मध्यभागमा भारतीय अलराउण्डर पुनित मेहरालाई भित्र्याएको छ । सुदूरपश्चिमले पनि सुरुमा ५ मात्र विदेशी खेलाडी अनुबन्ध गरेको थियो । जसमा सुदुरले क्रिस लिन, जोश ब्राउन, हर्मित सिंह र स्कट कुगेलेइनलाई मात्र खेलाएको छ । ध्रुव परासर भने बेन्चमै छन् । उनले वैकल्पिक फिल्डरको रुपमा मात्र खेलेका छन् ।

सुदूरका अष्ट्रेलियन खेलाडी ब्राउन पनि प्लेअफको समयमा फर्केन चर्चा चलेपनि टिमले आधिकारिक रुपमा केही सार्वजनिक गरेको छैन । यस्तै हर्मित सिंह शारजाह वारियर्सका अनुबन्ध भएपनि उनी भने फर्केका छैनन् । हर्मीतले आफूले एनपीएलको पुरा सिजन खेल्ने सामाजिक सञ्जालमा पुष्टी गरेका छन् ।

फाफ डुप्लेसी

साविक विजेता जनकपुरले भने लिगको सुरुमै ७ विदेशी खेलाडी अनुबन्ध गरेको थियो । जसमा दक्षिण अप्रिकी बलर इमरान ताहिर नेपाल आएका छैनन् । यस्तै दक्षिण अफ्रिकाकै वायन पार्नेल जनकपुरको दुई खेलपछि मात्र नेपाल आएर त्यसपछिका दुई खेल खेलिसकेका छन् । उनले पछिल्लो खेलमा कप्तानी नै गरेका थिए । उनी एनपीएलमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी समेत बने ।

यस्तै जनकपुरले लिगकै बीचमा पाकिस्तानी अलराउण्डर माज सदाकतलाई पनि अनुबन्ध गरेको थियो । उनले पनि नेपाल आएर दुई खेल खेलिसकेका छन् ।

पहिलो सिजनका जनकपुरलाई च्याम्पियन बनाउँदा सर्वाधिक रन बनाउँदै नायक बनेका लाहिरु मिलान्थाले भने यस सिजन खासै राम्रो खेल्न सकेनन् । उनी पछिल्ला दुई खेलमा ड्रप भएका थिए । उनकै स्थानमा माज सदाकतले खेलेका हुन् ।

इमरान ताहिर भने कहिले आउने जनकपुरले केही सार्वजनिक गरेको छैन । चितवन राइनोज र कर्णाली याक्सले भने कुनै नयाँ विदेशी खेलाडी थपेको छैन । यी दुई टिमबाट कुनै पनि विदेशी खेलाडी फर्केका पनि छैनन् ।

इमरान ताहिर
एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५ जेसन रोय फाफ डुप्लेसी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय