+
+
Shares

बाँकेमा ११९ एचआईभी संक्रमित फेला

बाँकेमा एचआईभी संक्रमितको सङ्ख्या ११९ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १४:१७

१५ मंसिर, नेपालगञ्ज । बाँकेमा एचआईभी संक्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआईभी संक्रमित फेला परेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका एचआईभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए । तीमध्ये २७ पुरुष र १२ महिला रहेका छन् । संक्रमितमध्ये आठ जना ३९ वर्षमाथिका र १५ देखि ४९ वर्षसम्मका ३१ जना छन् ।

आर्थिक वर्ष २०८१/८२ मा फेला परेका एचआईभी संक्रमित ८० जनामध्ये १५ देखि ४९ वर्षसम्मका ६६, ४९ वर्षमाथिका आठ र १५ वर्षमुनिका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शाहले पछिल्लो समय जनचेतनामूलक कार्यक्रम लगायतका कारण एचआईभी संक्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको जानकारी दिँदै बाँकेमा रहेका एचआईभी संक्रमितहरूले भेरी अस्पताल, नेपालगन्जबाट निःशुल्क औषधि पाइरहेको बताए ।

‘बाँकेका विभिन्न स्थानमा रहेका स्वास्थ्य चौकीमा पनि एचआईभी परीक्षण हुन्छ तर अन्तिममा भेरीमा परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुगिन्छ,’ उनले भने ।

जिल्लामा आव २०८०/८१ मा १०१ जना एचआईभी संक्रमित फेला परेका थिए । जिल्लामा १० हजार ७५९ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित फेला परेका थिए । त्यसअघिको आव २०७९/८० मा १०९ जनामा सङ्क्रमण देखिएको थियो । उक्त आवमा १७ हजार ३२८ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमित फेला परेका थिए ।

फोकल पर्सन शाहले बाँकेमा आव २०८१/८२ मा ६१३ जना एचआईभी संक्रमित भेरी अस्पतालमा ‘एआरटी’ उपचारमा रहेको बताए ।

त्यसैगरी पीएमटीसीटी कार्यक्रमअन्तर्गत २८ हजार २३४ जना गर्भवती आमाहरूलाई एचआईभी जाँच गर्दा नयाँ एचआईभी संक्रमित नभेटिएको बताइएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गत आव २०८०/८१ मा सात जना एचआईभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएका थिए भने अघिल्लो आवमा पाँच जना संक्रमितले स्वस्थ बच्चा जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?