News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको उर्लाबारी-९ आम्बारी चासोक स्थलमा स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको स्मृतिमा करिब साढे ३ लाख लागतमा सिलाम साक्मा बनाइएको छ।
१५ मंसिर, काठमाडौं । मोरङको उर्लाबारी-९ आम्बारी चासोक स्थलमा परिवारको सम्झनामा सिलाम साक्मा बनाइएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ थक्लुङको स्मृतिमा उनको परिवारले करिब साढे ३ लाख लागतमा सिलाम साक्मा बनाइदिएका हुन् ।
थक्लुङ परिवारले सिलाम साक्माको अनावरण गरी किराँत याक्थुम चुम्लुङ उर्लाबारी नगर शाखालाई हस्तान्तरण गरेको छ ।
आफ्नी आमाले जातीय कला, संस्कृतिमा निक्कै लगाब राख्ने भएकाले सम्झनालाई जीवन्त राख्न पनि उहाँको सिलाम साक्मा निर्माण गरेको छोरा सुमन थक्लुङले बताए ।
किराँत याक्थुम चुम्लुङका अध्यक्ष बानु सुब्बाले सिलाम साक्मा निर्माणकर्ता दाता थक्लुङ परिवारलाई धन्यवाद दिँदै आभार प्रकट गरे । ‘उहाँहरूले परिवारको स्मृतिमा सिलाम साक्मा निर्माण गरिदिनुभएको छ’ सुब्बाले भने, ‘परिवारको स्मृति सँगै सँस्कृतिको मौलिकता र जगेर्ना हो । नयाँ पुस्तामा इतिहास पुस्तान्तरण हुने हो ।’
हस्तान्तरण कार्यक्रममा स्वर्गीय लक्ष्मी मायाका श्रीमान धर्महाङ थक्लुङ, किरात याक्थुम चुम्लुङ उर्लाबारी नगर अध्यक्ष बानु सुब्बा, वडा सदस्य गणेश किम्दाङ, अरनिको हस्पिटल प्रालिका अध्यक्ष लोलिम पोमु, गायक डम्बर नेपाली, नेपाली काङ्ग्रेस उर्लाबारी नगर सचिब राजन रायमाझी लगायत चुम्लुङका कार्यसमिति,थक्लुङ परिवार लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
२०१५ पुस १५ गते तेह्रथुम जिल्ला सम्दु-८ मा जन्मिनुभएको लक्ष्मीमायाको २०७६ साल भदौ २७ गते निधन भएको थियो ।
के हो, सिलाम साक्मा ?
लिम्बु जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिएर स्वागत र सम्मान गरिन्छ। बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने सिलाम साक्माको छेउमा फुर्को राखिएको हुन्छ । सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुन महिला–पुरुष छातीमा सिलाम साक्मा सजाएर पुग्ने गर्छन् । सिलाम साक्मा मुन्धुम र लिम्बु परम्पराको महत्वपूर्ण तङसिङ संस्कारमा प्रयोग हुने गर्छ।
लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बा बताउँछन् ।
उनका अनुसार ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ । प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।
‘पहिले यो धातु र छालाको बन्ने गर्थ्यो। हतियारको प्रहारबाट रोक्नका लागि प्रयोग हुन्थ्यो । पछि तान्त्रिक रूपमा पूजामा राख्न थालियो । यसले नराम्रो कुरा रोक्छ भन्ने विश्वास छ । यो बाँस र बेत बाँसबाट पनि बनाइन्थ्यो । पछि धागो र बाँसको बनाउन थालियो । तङसिङमा सहभागीलाई घरमा राख्नका लागि सिलाम साक्मा दिइन्छ । यो महत्वपूर्ण परम्पराको निरन्तरता हो।
प्रतिक्रिया 4