+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

इमरान मृत्युको हल्ला: प्रदर्शनको चेतावनीपछि रावलपिण्डीमा ‘धारा १४४’ लागू, के हो यो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते ११:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका इस्लामाबाद र रावलपिण्डीमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको विरोध प्रदर्शन रोक्न धारा १४४ लागू गरिएको छ।
  • धारा १४४ अन्तर्गत डिसेम्बर १ देखि ३ गतेसम्म पाँच वा बढी मानिस भेला हुन, सार्वजनिक सभा, र्‍याली, प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
  • खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई नोभेम्बर २७ मा सेनाको आदेशमा प्रहरीले सडकमा लात्ती-मुक्का प्रहार गरी कुटेको थियो।

१६ मंसिर, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को विरोध प्रदर्शन हुनुअघि इस्लामावाद र रावलपिण्डीमा धारा १४४ लागू गरिएको छ।

यो निर्णय पूर्व प्रधानमन्त्री इमरान खानको मृत्युको हल्ला र देशमा अशान्ति फैलने डरबीच आएको छ।

दुवै शहरका प्रशासनले धारा १४४ अन्तर्गत कुनै पनि प्रकारको विरोध प्रदर्शन वा सभाको अनुमति नभएको बताएका छन्।

यस अन्तर्गत डिसेम्बर १ देखि ३ गतेसम्म कुनै पनि सार्वजनिक सभा, र्‍याली, जुलुस, धर्ना, प्रदर्शन गर्न, ५ वा सोभन्दा बढी मानिसहरू भेला हुन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

आदेशमा हतियार, लाठी, गुलेली, पेट्रोल बम, विस्फोटक सामग्री बोक्न रोक लगाइएको छ। यसबाहेक, घृणायुक्त भाषण दिन, प्रहरीको ब्यारिकेडिङ हटाउने प्रयास गर्न, दुई जना मानिस एक मोटरसाइकलमा पछाडि बस्न र लाउडस्पीकरको प्रयोग गर्नमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।

सरकारी आदेशमा आदेशमा जिल्ला गुप्तचर समितिले केही संगठन र तत्वहरूले ठूलो मात्रामा मानिसहरूलाई भेला गरेर कानुन-व्यवस्था भत्काउने दाउमा रहेको रिपोर्ट दिएपछि यो कदम लिइएको स्पष्ट पारिएको छ ।

यी व्यक्तिहरूले संवेदनशील ठाउँहरू, सरकारी भवनहरू र चुनिएका स्थानहरूमा आक्रमण गर्न सक्ने भएकाले, जनताको सुरक्षा र शान्ति कायम राख्नका लागि यी प्रतिबन्धहरू लगाइएका छन्।

पीटीआई नेता असद कायसरले संसदका दुवै सदनका विपक्षी सांसदहरू इस्लामाबाद उच्च अदालत बाहिर प्रदर्शन गर्ने र त्यसपछि आफ्नो धर्नालाई अदियाला जेलतर्फ लैजाने बताए।

उनले भने, ‘अदालत आफ्नो आदेश लागू गर्न असफल भएको छ र जेल प्रशासन पनि अदालतको आदेशहरूको पालना गर्न तयार छैन। त्यसैले प्रदर्शन गर्ने निर्णय गरिएको हो ।’

गत हप्ता, खैबर पख्तुनख्वाका मुख्यमन्त्रीले जेल बाहिर धर्ना दिएका थिए । उनलाई आठौँ पटक इमरान खानलाई भेट्नबाट रोकिएपछि धर्ना दिएका हुन् । त्यसैगरी, खानका परिवारका सदस्यहरूलाई पनि धेरै हप्तादेखि उनलाई भेट्न दिइएको छैन।

यसअघि, पाकिस्तानका न्याय राज्यमन्त्री अकील मलिकले सोमबार भने, ‘पख्तुनख्वामा सुरक्षा र प्रशासनको अवस्था निकै खराब भइसकेको छ।’ पाकिस्तान सरकार खैबर पख्तुनख्वामा राष्ट्रपति शासन लगाउने बारे विचार गरिरहेको छ।

जियो न्यूजका अनुसार मलिकले भने, ‘खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदी त्यहाँको स्थिति सुधार्न पूर्ण रूपमा असफल भएका छन्। उनी न त केन्द्र सरकारसँग कुनै समन्वय गरिरहेका छन् न त आवश्यक ठाउँहरूमा कुनै कारबाही गरिरहेका छन्।’

सेनाको आदेशमा अफ्रिदीलाई प्रहरीले कुटेको थियो

इमरान खानलाई समर्थन गर्न रावलपिण्डीको अदियाला जेल पुगेका खैबर-पख्तुनख्वा (केपी) राज्यका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई प्रहरीले नोभेम्बर २७ मा सडकमा लडाई कुटेको थियो।

मिडिया रिपोर्टअनुसार, मुख्यमन्त्री सोहेल अफ्रिदीमाथिको आक्रमणको कारबाही सेनाको आदेशमा गरिएको थियो। अफ्रिदी बिहीबार उनी जेल पुग्दा त्यहाँ भारी सुरक्षा बल तैनाथ थियो र पीटीआई समर्थकहरूको भीड लगातार बढिरहेको थियो।

प्रहरीले उनलाई र उनीसँग आएका नेताहरूलाई अगाडि बढ्नबाट रोक्यो। धकेला-धकेल बढेपछि प्रहरीहरूले मुख्यमन्त्रीलाई लात्ती-मुक्का पनि हानेर भुइँमा लडाइदिए। पीटीआईले यस घटनालाई लोकतान्त्रिक अधिकारमाथि हमला बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?