+

मालान र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

२०८२ मंसिर  १६ गते १३:१७ २०८२ मंसिर १६ गते १३:१७

मालानले १९औं ओभरमा आउट हुनुअघि ५४ बल खेल्दै ४ चौका  र ५ छक्का मद्दतमा सर्वाधिक ८० रन जोडे । अर्जुन साउदले पनि अर्धशतक बनाए ।

मालान र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

१६ मंसिर, काठमाडौं । डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो ।

चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।

चितवका लागि मालान र अर्जुन साउदले पहिलो विकेटका ११२ रनको साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए ।

चितवनले नियमित ओपनर दीपक बोहरालाईलाई ड्रप गर्दै आज अर्जुन साउदलाई डाविड मालानसँग ओपनिङ गराएको थियो । जुन फलदायी भयो ।

मालान र अर्जुनले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । दुवै ओपनरले अर्धशतक पनि प्रहार गरे ।

यस सिजन चौथो शतकीय साझेदारी थियो भने पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । यस्तै पहिलो विकेटका लागि भएको सर्वाधिक साझेदारी पनि हो ।

यसअघि सुदूरपश्चिमका विनोद भण्डारी र जोश ब्राउनले पोखरा एभेन्जर्सविरुद्ध पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेका थिए ।

ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याटर अर्को छेउबाट आउट भएका थिए ।

मालानले १९औं ओभरमा आउट हुनुअघि ५४ बल खेल्दै ४ चौका  र ५ छक्का मद्दतमा सर्वाधिक ८० रन जोडे । जनकपुरका माज सदाकतले मालानलाई १९औं ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा पारेका थिए ।

यस्तै यस सिजन पहिलो पटक ओपनिङ गरेका अर्जुन साउदले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५२ रन बनाए । उनलाई निकोल लफ्टी इटनले सञ्जय कृष्णमूर्तिबाट क्याचआउट गराएका थिए ।

१४औं ओभरको चौथो बलमा ५२ रन हुँदा अर्जुनको क्याच आदित्य महताले छाडेका थिए । तर लगत्तै अर्को बलमा कृष्णमूर्तिले क्याच गर्दै आउट गरेका हुन् ।

तेस्रो क्रममा ब्याटिङमा आएका सैफ जैब ५ बलमा ७ रन बनाएर १५औं ओभरमा आउट भए । त्यस्तै यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका रबि बोपारा पनि आज सस्तैमा आउट भए । बोपारा ५ बलमा ३ रन जोडेर आउट भए ।

अर्को छेउबाट लगातार विकेट जाँदा एक छेउ सम्हालेका मालान पनि १९औं ओभरमा आउट भएका थिए ।

कप्तान कुशल मल्लले अन्तिम ओभरमा दुई छक्का र एक चौकासहित १८ रन जोडेका थिए । मल्लले १४ बल खेल्दै २ चौका र २ छक्का  मद्दतमा अविजित ३० रन जोडे ।

जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले १-१ विकेट लिए ।

एनपीएल नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय