News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १७ मंसिरमा सदनमा राजीनामा घोषणा गरेका छन्।
- यादवको विवादित कार्यकाल २२ दिन मात्र रह्यो र यो मधेशमा तीन महिनामा तेस्रो मुख्यमन्त्रीको राजीनामा हो।
- मधेश प्रदेशमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले सरकार गठन गरेको छ र सातदलीय गठबन्धन भित्र मुख्यमन्त्रीबारे विमर्श भइरहेको छ।
१७ मंसिर, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज सदनमा राजीनामा घोषणा गरेका छन् । कार्तिक २३ गते राति ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त भएका थिए ।
२४ गते बिहान बर्दिबासको पानस होटेलमा शपथ लिएका यादव सर्वोच्चको परमादेश पश्चात २४ घण्टा भित्र विश्वासको मत लिन डाकिएको प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका हुन् । झण्डै उनको यो विवादित कार्यकाल २२ दिन रह्यो ।
उनी लगायत पछिल्लो तीन महिना यता सदनमा यसरी नै तीन मुख्यमन्त्रीले राजीनामा दिनु परेको छ । भदौ २३ गतेको जेनजीको आन्दोलन यता मधेश झन् अस्थिर बनेको छ । प्रदेश सभाको दोस्रो कार्यकालको तीनवर्षमा मधेशमा चारवटा सरकार परिवर्तन भइसकेका छन् । जसमा जेनजी आन्दोलन पश्चात मात्र तीन सरकार परिवर्तन भएको हो ।
जेनजीको आन्दोलनको क्रममा २४ भदौमा मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतको निर्देशनमा दिएको राजीनामा प्रकरण पश्चात मधेश यो स्थितिमा आइपुगेको हो ।
जेनजी आन्दोलन पश्चात् अवस्था समान्य बनेपछि मुख्यमन्त्री सिंहले राजीनामाको कुरा फेरे । पार्टीले दबाब दिएर साथ छाडेपछि बाध्य भएर असोज २८ गते विश्वासको मत लिने बहानामा सदनमा आफ्ना धारणा राख्दै सिंहले पदबाट राजीनामा घोषणा गरेका थिए । त्यो सरकारले झण्डै १६ महिना कार्यकाल पूरा गरेको थियो ।
त्यसपछि असोज २९ गते लोसपाका नेता जितेन्द्र सोनल जसपासहित ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कार्तिक २२ गते विश्वासको मत लिन बसेको सदनमा सत्ता गठबन्धन जनमतका दुई सांसदको अनुपस्थिति र माओवादीका दुई सांसदले विद्रोह गरेपछि सोनलले अन्नतः राजीनामा घोषणा गर्नु परेको थियो ।
त्यसपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा एमालेले आफ्नै पार्टी निकट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द मण्डललाई प्रयोग गरी असोज २३ गते राति गोप्य रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको थियो ।
प्रदेश प्रमुख भण्डारीले बिरामीको बहाना गरी उपचारको लागि काठमाडौं निस्किन लागेर बर्दिबासको कालापानीस्थित पानस कटेजमा मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएकी थिइन् । त्यस यता सातदलीय गठनबन्धनको आन्दोलनले मधेश भवन अशान्त बनेको थियो ।
तीनवटै सरकारले फेरि सदनमा विश्वासको मत पाउने स्थिति नदेखेपछि राजीनामा गर्नु परेको छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका १–१ सांसद छन् ।
संविधानको धारा १६८ को ३ बमोजिमको सरकार एमालेले गठन गरेपछि उसलाई राप्रपा र नागरिक उन्मुक्तिले मात्र साथ दिएको थियो । बाँकी काँग्रेसहितको छुट्टै सातदलीय गठबन्धन छ । अब सातदलीय गठबन्धन भित्रको मुख्यमन्त्री बन्नेबारे दलहरु भित्र विमर्श भइरहेको छ ।
मधेशमा अस्थिर सरकारले कामकारबाही प्रभावित बनेको छ । मातहतका निकायले राम्ररी कार्य सम्पादन गर्न सकेको छैन ।
प्रतिक्रिया 4