+
+
Shares

मधेशमा नेताले गुमाए संयमता : कर्मचारी कुटे, सरकारी सम्पत्ति तोडफोड गरे

प्रदेश प्रमुखले गरेको नियुक्ति र नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण गर्न आउने भन्दै कांग्रेससहितका दलका सांसद कार्यकर्ताहरुले तोडफोड, कुटपिट र राष्ट्रिय झण्डा फाल्नेसम्मको गतिविधि गरेका छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ कात्तिक २४ गते २२:२१

२४ कात्तिक, जनकपुरधाम । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नाटकीय शैलीमा प्रदेशको मुख्यमन्त्री नियुक्त गरेपछि सोमबार दिनभर मधेश तनावग्रस्त भयो ।

मधेश भवनभित्र दलका सांसदसहित दलका नेता कार्याकर्ताहरुरुले नाराबाजी गर्दै तोडफोड, कर्मचारी प्रहरीमाथि कुटपिट, राष्ट्रिय झण्डा फाल्नेदेखि सरकारी सम्पत्ति तोडफोड जस्ता गतिविधि गरे ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशको ठूलो दल एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गर्दा दिनभर तनाव भयो ।

सोमबार बिहान ४ बजे आफू बिरामी र उपचारको लागि काठमाडौं जानुपर्ने भन्दै उनले बाहिर निस्किन खोजेकी थिइन् । उनलाई निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले फुलको गुच्छा दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विदाइ पनि गरेका थिए ।

तर बिहान एकाएक सरकार उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा एकाले संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त र शपथ भइसकेको भिडियो र तस्वीरले सनसनी फैलियो । सामाजिक सञ्जालका भित्ता रंगिए ।

महोत्तरीको बर्दिबास नगरपालिका-३ कालापानी स्थित होटेल पानसमा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले शपथ ग्रहण गारएकी थिइन् । साथै नवनियुक्त मुख्यमन्त्री यादवले तीनजना विनाविभागीय मन्त्री नियुक्त गरेर प्रदेश प्रमुखबाट सपथ ग्रहण समेत गराइदिए ।

एमालेबाट लखन दास, राप्रपा नेपालकी कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीबाट बिमला अंसारी मन्त्री बनिन् । नवनियुक्त मुख्यमन्त्री यादवले आफूलाई शनिबार राति करिब ११ बजेतिर प्रदेश प्रमुखले नियुक्त गरेको बताए ।

‘मलाइ राति ११ बजेतिर नै प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो । आज शपथ ग्रहण गराउने समय थियो,’ उनले भने, ‘तर बिहानै ४ बजेतिर प्रदेश प्रमुख बिरामी भएको भनेर मलाई फोन गर्नुभयो । मैले भने मलाई शपथग्रहण गराएर जानुस् । त्यहाँ उनीहरु घेरेर बसेका थिए । त्यसकारण उहाँ निस्केपछि मलाई होटेलमै शपथ ग्रहण गराउनु भयो । त्यहाँबाट काठमाडौं जानुभयो ।’

मुख्यमन्त्री नियुक्त गरेको खबर सार्वजनिकसँगै बिहानैदेखि मधेश भवनमा सात दल र तिनका नेताहरू भेला भएका थिए । दलका नेताहरु छलफलमा बसे । त्यसका कतिपय प्रदेश सांसदसहित कार्यकर्ता नाराबाजीसँगै सार्वजनिक सम्पति तोडफोडमा उत्रे । यसको कारण हो, दलहरुलाई आश्वास्त पारेर प्रदेश प्रमुखले छल्नु ।

लोसपाबाट असोज २९ मामुख्यमन्त्री नियुक्तभएका जितेन्द्र सोनलले कार्तिक २२ गते (शनिबार) सदनमै विश्वासको मत लिने बेला राजीनामा दिएका थिए ।

सोही दिन साँझ प्रदेश प्रमुख भण्डारीलाई मुख्यमन्त्रीले राजीनामा पत्र बुझाएका थिए । राजीनामा स्वीकृत भयो । तर आइतबार दिउँसोसम्म प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरिनन् ।

एमालेकै कोटाबाट भण्डारी प्रदेश प्रमुख, ठूलो दल एमाले र सभामुख समेत एमालेकै रहेका कारण दलहरू सचेत थिए । पछि मुख्यमन्त्री नियुक्त गर्न लागेको भन्दै दलका नेता कार्यकर्ता प्रदेश प्रमुखविरुद्ध नाराबाजी र धर्ना दिए । उपधारा २ बमोजिम सरकार गठनको लागि दबाब दिए । साँझ कांग्रेस समेत ६ दलको कित्तामा आएर प्रदेश प्रमुख सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाउँदै खबरदारी गरे ।

प्रदेश प्रमुख भण्डारीले कानुनविद्हरुसँग छलफल गरिरहेकाले १/२ दिनको समय माग्दै संविधानको भावनाअनुसार नै आफू अघि बढ्ने आश्वस्त गराएकी थिइन् ।

तर उनले त्यस विपरीत आइतबारकै मितिमा एमाले संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरिन् ।

सोमबार बिहान उपचारको लागि जान लागेको भन्दै निस्केर होटेलमा पुगेर शपथग्रहण गराइन् । मधेश प्रदेश प्रमुख भण्डारीको यस कार्यको चर्को आलोचना भइरहेको छ । दलहरुले मधेशको अस्मितामाथि प्रहार गरेको र संसद विघटन गर्न षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

सांसदहरुबाट भएका तीन घटनाले आलोचित मधेश

प्रदेश प्रमुखले गरेको नियुक्ति र नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण गर्न आउने भन्दै कांग्रेससहितका दलका सांसद कार्यकर्ताहरुले तोडफोड, कुटपिट र राष्ट्रिय झण्डासमेत फाल्नेसम्मको गतिविधि गरेका छन् ।

बिहानै मधेश भवन छिर्न नदिएपछि लोसपाका केही नेताहरुले प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेका थिए । एकजना असई माथि भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बलमे सांसदहरुबाट प्रहरीमाथि भएको घटना आफैंमा निन्दनीय रहेको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दलका सांसदहरु पुगेर तोडफोडदेखि कर्मचारीमाथि हातपात गरेका छन् ।

हातपात गर्ने लोसपाका पूर्व प्रदेश सांसद परमेश्वर साह, लोसपा नेता जितेन्द्र झा छन् । यो भिडियो सामाजिक सञ्जजालमा भाइरल भइरहेको छ । यस्तै कांग्रेसका प्रदेश सांसद तथा पूर्वमन्त्रीसमेत रहेका विरेन्द्र सिंहले राष्ट्रिय झण्डाको अपमान गरेका छन् ।

उनले छेउमा राखेको झण्डा हातले उठाएर फालेका थिए । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यी तीनवटै अराजक घटनाको सर्वत्र आलोचना भइरहेको छ ।

यति मात्र होइन प्रदेश प्रमुखको कार्यालयको अगाडि रहेको बोर्ड, गमला लगायतको सामानहरु जसपा प्रदेश सांसद ललिता पासवान विद्रोही, लोसपा सांसद रुपा यादव लगायतले तोडफोड गरेका हुन् । दलहरुको यी यस्ता अस्वभाविक गतिविधिले दिनभर मधेश भवन तनावग्रस्त रह्यो ।

तनावको कारण नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहणको लागि आएनन् । उनी दिनभर आफ्नो गृहनगरसहित जनकपुरधाम स्थित आफ्नो डेरामा नेताकार्यकर्ता भेटघाटमा व्यस्त रहे । नवनियुक्त मुख्यमन्त्री यादवले मधेश भवनमा मुख्यमन्त्रीको कार्यकक्ष नरहेकाले अहिले पदभार ग्रहण नगर्ने बताए ।

‘मधेश भवनमा मुख्यमन्त्रीको कार्यकक्ष नै छैन । कार्यकक्ष व्यवस्थापन भएपछि पदभार ग्रहण गर्छु । आज दिनभर आफ्नो घरसहित जनकपुरधाम स्थित डेरामा छु’ उनले भने ।

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले अवैधानिक सरकार गठनविरुद्ध सर्वोच्च जाने बताएका छन् । त्यसका लागि उनीसहित जसपा, लोसपा, माओवादी केन्द्रसहितका पाँचजना आजै काठमाडौं पुगेका छन् । भोलि रिट हाल्ने दलहरुको तयारी छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?