News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य उद्योगलाई कच्चापदार्थ अभाव हुँदा उद्योगीले केराउ-मरिच आयात खुलाउन माग गरेका छन्।
- सरकारले औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिच आयात अनुमति दिने कार्यविधि २०७८ अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।
- कोभिड महामारीपछि विदेशी मुद्रा सञ्चिति खुम्चिएपछि सरकारले यस्ता वस्तु आयातमा रोक लगाएको थियो।
१८ मंसिर, काठमाडौं । खाद्य उद्योगलाई कच्चापदार्थ अभाव भएसँगै उद्योगीले केराउ-मरिच आयात खुलाउन माग गरेका छन् ।
नेपालमा बिक्री प्रयोजनका लागि यी वस्तु आयातमा रोक लगाइएको छ । सरकारले हरेक वर्ष राजपत्रमा प्रकाशित गर्दै निश्चित कोटा तोकेर औद्योगिक वस्तु आयात खुलाउने गर्छ ।
यस वर्ष यसरी आयात नखुल्दा तस्करी बढेको गुनासो समेत उद्योगीको छ । सरकारले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थका रूपमा सुपारी, केराउ र मरिच पैठारी गर्ने कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यस्ता वस्तु आयात अनुमति दिने गर्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार कोभिड महामारीपछि विदेशी मुद्रा सञ्चिति खुम्चिन थालेसँगै सरकारले यस्ता वस्तु आयातमा रोक लगाएको थियो ।
त्यसयता औद्योगिक प्रयोजनका लागिमात्र परिमाण तोकेर आयात खुला गर्ने गरिन्छ । उद्योगका लागि आवश्यक कच्चापदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरिच आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्छ ।
नेपालमा चाउचाउ, मसला र गुट्खा, दालमोड, जडीबुटीलगायत उद्योगले केराउ, मरिच र सुपारी खपत गर्ने गर्छन् । यसबाहेक पौष्टिक आहार उत्पादन गर्ने कम्पनीको समेत कच्चापदार्थका रूपमा यी वस्तु प्रयोग हुन्छन् ।
सरकारले विगत वर्षमा यी वस्तुको खपत, उद्योगहरुले लिएको कोटा, त्यसअनुसार भए नभएको समेत तथ्यांकका आधारमा यस्ता वस्तुको आयात खुलाउने गृहकार्य गरेको नेपाल सरकारका एक मन्त्रीले जानकारी दिए ।
‘विगतमा तस्करी हुने गरेकाले यी वस्तुको आयात खुलाउने विषय विवादमा पर्ने गरेको रहेछ । तर, आयात बन्द गर्दा देशकै उद्योगहरु समस्यामा पर्ने र अनौपचारिक माध्यमबाट बिलबिनाका सामान खपत गर्नुपर्ने अवस्था आएको गुनासाे आएको छ,’ उनले भने, ‘उद्योगहरुको समस्या समाधान गर्ने हेतुले यी वस्तुको आयात खुलाउने तयारी गरिएको हो ।’
प्रतिक्रिया 4