१८ मंसिर, काठमाडौ । महाधिवेशन प्रतिनिधि चयनको रस्साकस्सीपछि नेकपा एमाले पंक्ति नेतृत्व चयनको गृहकार्यमा केन्द्रित भएको छ ।
केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउने र परिवर्तनको एजेन्डासहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष बनाउने समूहले आफ्नो शक्ति बढाउने प्रयत्न गरिरहेका छन् ।
प्रचारलाई प्रभावकारी बनाउन नेताहरूका अन्तर्वार्ता बाक्लिएका छन् भने सामाजिक सञ्जाल पोस्टरले भरिएका छन् ।
निर्वाचित प्रतिनिधिलाई प्रभावित बनाउने विषय नेताहरूको प्राथमिकतामा पर्ने नै भयो । तर यस्ता प्रयत्नहरू भन्दा बढी जोड प्रभावशाली नेताहरूलाई आफ्नो पक्षमा खुलाउनेमा ध्यान गएको देखिन्छ । अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पाखरेल दुवैले आकांक्षी नेताहरू समेटेर बलियो टिम निर्माण गर्ने गृहकार्य गरिरहेका छन् ।
ओलीले गुन्डुमै बोलाएर नेताहरू मनाउने प्रयत्न गरिरहेका छन् । आकांक्षी नेताहरूलाई मिलाएर टिम निर्माण गर्न उनलाई सजिलो छैन । मुख्यगरी महासचिव पदका आकांक्षी व्यवस्थापन गर्न ओलीलाई कठिन छ ।
हालका महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ मध्ये एक जनालाई रोज्नुपर्ने अप्ठ्यारोमा ओली छन् । अरू पदका आकांक्षीहरू पनि व्यवस्थापन गर्नुपर्ने दबाबमा ओली छन् ।
नवौं र दशौं महाधिवेशनमा ओलीलाई अध्यक्ष बन्न साथ दिएका विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङहरूले महासचिव पद नछोड्ने अडान लिएका छन् । आफूहरूसँग सात जना पदाधिकारी रहेको सन्देश ओलीलाई उनीहरूले दिएका छन् ।
तर लामो समयदेखि ‘पार्टी नेता नभएर ओलीको सचिवालय सदस्य’ भन्ने आरोप खेप्दै आएका शंकर पोखरेल र प्रदीप ज्ञवालीको चित्त बुझाउन सजिलो छैन । अझ गत २०–२२ भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट संशोधित विधानका कारण आकांक्षीहरू समेट्न गाह्रो परेको छ ।
संशोधित विधान बमोजिम हालका १९ सदस्यीय पदाधिकारी संख्या घटेर १५ सदस्यीयमा झर्नेछ । स्थायी समितिको छुट्टै संरचना रहने छैन । त्यसो हुँदा हालका ४२ जना स्थायी समिति सदस्यले पदाधिकारीमा आकांक्षा राख्नु स्वभाविक छ ।
‘संशोधित विधान बमोजिम हालका स्थायी समिति सदस्यहरूले पदाधिकारीमा उठ्ने अथवा पोलिटब्यूरोमा घटुवा भएर बस्नुको विकल्प छैन,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन् । स्थायी समिति सदस्य रहेका गौतम आफैं पनि कम्तीमा सचिव पदमा उम्मेदवार बन्नुपर्ने दबाबमा छन् । ‘अब मैले हुने भनेको पदाधिकारी नै हो, अर्को विकल्प छैन,’ उनी भन्छन् ।
अझ पोलिटब्यूरो र कतिपय केन्द्रीय सदस्यले समेत पदाधिकारीमा आकांक्षा राखेकाले ओलीलाई टिम निर्माण सजिलो छैन । त्यसैले उनले नेताहरूलाई बोलाएर आफूले सूची तयार पार्ने र त्यसमा चित्त नबुझे अर्को समूहमा नजान निर्देशन दिइरहेका छन् । जबकी पद नपाउने अवस्थामा ओलीको निर्देशन मानेर समूह नफेर्ने भन्ने सम्भावना कमजोर छ ।
पदाधिकारीको टिम निर्माणमा तुलनात्मक सजिलो ईश्वर पोखरेललाई छ । ओलीको विकल्प चाहेका यो पक्षका नेताहरू आवश्यक पर्दा त्याग गर्न तयार रहेको सार्वजनिक सन्देश नै दिइरहेका छन् ।
यो समूहका मुख्य नेता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हुन् । पार्टी सदस्यता नवीकरण नगरेर ओलीले उनलाई रोकिदिएका छन् । आफूलाई रोक्ने ओलीको विकल्प खोज्न विद्या भण्डारीले आफ्नो पूरा शक्ति प्रयोग गरेकी छन् ।
उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य आवश्यक परे नेतृत्वबाट विदा लिन तयार छैन । एमालेका संस्थापक नेताहरू अमृत बोहरा र मुकुन्द न्यौपानेलाई पदाधिकारीमा समेट्नु नपर्ने सजिलो छ । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, गोकुल बाँस्कोटा, कर्ण थापाहरू यही पद चाहिन्छ भनेका छैनन् । ओलीको पक्षमा रहेका नेताहरूलाई तानेर उपाध्यक्ष, महासचिव, उपमहासचिव जस्ता पद दिन यो पक्षका नेताहरू तयार छन् ।
यद्यपि आकांक्षी नेताहरूको संख्या र १५ जना मात्र पदाधिकारी हुने विधानको व्यवस्थाका कारणले पोखरेललाई पनि टिम निर्माण गर्न सजिलो देखिन्न ।
आकांक्षी सबैलाई पदाधिकारी बनाउने हो भने एमालेको पदाधिकारी संख्या कोशीकै नेताहरूले भरिन्छ । कोशीमा ओली सहित गुरु बराल, योगेश भट्टराई, भीम आचार्य, लालबाबु पण्डित, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नि खरेल र परशुमेघी गुरुङ स्वभाविक पदाधिकारीका आकांक्षी छन् ।
सुवास नेम्वाङको निधनपछि बराललाई ओलीले उपाध्यक्ष मनोनीत गरेकाले उनीसँग सोही पदमा दोहोरिने अथवा विदा हुने विकल्प छ । देशव्यापी बलियो सञ्जाल रहेका योगेश भट्टराई दुईपटक सचिव भइसकेका छन् । यसपटक उपमहासचिव भन्दा माथिका पदमा उम्मेदवारी दिने तयारीमा छन् ।
भीम आचार्य पूर्वसचिव हुन् । यसपटक उपाध्यक्ष अथवा उपमहासचिव बन्न चाहनामा छन् । २०७१ सालमा ओली अध्यक्ष निर्वाचित हुँदा लालबाबु पण्डित उपाध्यक्ष पदका उम्मेदवार थिए । उनी पदाधिकारीका स्वाभाविक दावेदार छन् । कोशीका संस्थापक मुख्यमन्त्री शेरधन राई यसपटक कुनैपनि हालतमा पदाधिकारी बन्न चाहन्छन् । उनी उपमहासचिव पदका आकांक्षी छन् ।
नवौं महाधिवेशनमै सचिव पदमा लडेका परशुमेघी गुरुङ पनि कोशीबाट पदाधिकारीका स्वाभाविक दाबेदार हुन् ।
मधेशमा तुलनात्मक थोरै दाबेदार छन् । सचिव रघुवीर महासेठ यसपटक बढुवा हुने चाहनामा छन् । स्रोतका अनुसार उनी उपाध्यक्ष वा उपमहासचिव बन्ने योजनामा छन् ।
ओलीको साथ पाएर स्थायी समितिमा बढुवा हुँदै मधेश इन्चार्ज पाएका लीलानाथ श्रेष्ठ पदाधिकारीकै आकांक्षामा छन् । सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल र जुलीकुमारी महतो पनि पदाधिकारीकै दाबेदार छन् ।
बागमती प्रदेशमा पनि कोशीकै जस्तो आकांक्षीको भीड छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विदा लिने घोषणा गरेकी छैनन् । तसर्थ उनी सहित बागमतीबाट सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विन्दा पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, शेरबहादुर तामाङ र सिताकुमारी पौडेल स्वाभाविक दाबेदार छन् । किनकी उनीहरू स्थायी समिति सदस्य वा त्यो भन्दा माथिका पदमा छन् ।
पोलिटब्यूरो सदस्यहरू अरुण नेपाल, गोकुल बाँस्कोटा, महेश बस्नेत र विनोद श्रेष्ठले पनि अनुभव र योग्यताका आधारमा पदाधिकारीमै दाबी गरिरहेका छन् ।
लुम्बिनीका अहिले नै ६ जना पदाधिकारी छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण बिष्ट र छविलाल विश्वकर्मा लुम्बिनीका हुन् । अर्थात् १५ पदाधिकारी हुने एमालेमा ४० प्रतिशत अहिले लुम्बिनीका पदाधिकारी छन् ।
उनीहरू बाहेक ठाकुर गैरे, लिला गिरी, वैजनाथ चौधरी र खिमलाल भट्टराई फेरि केन्द्रीय सदस्यको मात्र उम्मेदवार बन्न चाहँदैनन् । आठौं महाधिवेशनबाटै केन्द्रीय सदस्य रहेका ठाकुर गैरे त गुटबन्दीकै पेलानमा परेर स्थायी समिति सदस्य समेत बन्न नपाएका नेता हुन् ।
गण्डकी प्रदेशका सिनियर नेता पृथ्वीसुब्बा गुरुङले महासचिव पदकै दाबी सार्वजनिक गरिसकेका छन् । ओलीले उनलाई उपाध्यक्ष दिन चाहेका छन् भने ईश्वर पोखरेल समूहले महासचिव लड्न प्रस्ताव गरेका छन् ।
पार्टी सचिव पद्या अर्याल पनि यसपटक बढुवा हुने चाहनामा छिन् । उपाध्यक्ष विष्णु पौडेल नजिक मानिने अर्यालले यसपटक उपमहासचिव बन्ने चाहना राखेकी छन् ।
स्थायी समिति सदस्य मात्रै भएपनि उपमहासचिव गुरुङसँग समानान्तर शक्ति अभ्यास गर्दै आएका खगराज अधिकारी यसपटक जसरी पनि पदाधिकारी बन्ने योजनामा छन् । स्रोतका अनुसार गुरुङलाई टक्कर दिन पनि अधिकारी उपाध्यक्ष बन्ने तयारीमा छन् ।
२०७१ सालको नवौं महाधिवेशनमा ओलीकै प्यानलबाट उपाध्यक्ष पदको उम्मेदवार बनेका किरण गुरुङ हाल बागमती प्रदेश इन्चार्ज छन् । गुरुङ जसरी हुन्छ पदाधिकारी बन्न चाहन्छन् । स्थायी समिति सदस्य थममाया थापा पनि उपाध्यक्ष पदकै स्वाभाविक दाबेदार हुन् ।
विद्या भण्डारी, अष्टलक्ष्मी शाक्यहरूले उपाध्यक्ष पद सम्हालिसकेकाले एमालेलाई समावेशी देखाउन पनि थममायालाई पदाधिकारीमा ल्याउने चाहना प्रतिनिधिहरूमै छ । छविलाल विश्वकर्मा पछि एमालेमा दलित समुदायका सिनियर नेता रहेका जगत विश्वकर्मालाई पनि पदाधिकारीमा ल्याउने योजना नेताहरूले नै बनाइरहेका छन् ।
एमालेमा हाल पदाधिकारी नभएको प्रदेश कर्णाली हो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल स्थायी समिति सदस्य मात्र छन् । यसपटक उनी कम्तीमा सचिव हुन चाहन्छन् । तर कँडेलसँग समानन्तर संगठनको अभ्यास गरिरहेका स्थायी समिति सदस्य गोरखबहादुर बोगटी यथास्थितिमा रहने चाहनामा छैनन् । उनी पदाधिकारीमै बढुवा हुने गृहकार्यमा छन् । कर्णालीबाट पदाधिकारीको आकांक्षा राख्ने अर्को नेता हुन्, भैरवबहादुर श्रेष्ठ ।
तुलनात्मक रुपमा सुदूरपश्चिम प्रदेशमा पदाधिकारीको संख्या थोरै छ । हालका सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापा पदाधिकारीमा समेटिन खोज्ने स्वाभाविक नेता हुन् । पोलिटब्यूरो र केन्द्रीय सदस्यहरूबाट दाबी नआउने हो भने सूदुरपश्चिममा तुलनात्मक सजिलो छ ।
जेनजी आन्दोलनपछि एमालेले आफूलाई युवामय देखाउन खोजेपनि पार्टीभित्र केन्द्रीय सदस्यले समेत पदाधिकारी बन्न पाउने सक्ने स्थिति देखिन्न । तर विगतका भूमिका, प्रभाव र क्रियाशीलता हेर्दा माधव ढुंगेल, झपट रावल, किशोर विक्रम मल्ल, नविना लामा, विष्णु रिजाल, निरज आचार्य, विद्या भट्टराई, उषाकिरण तिम्सिना, ऐन महर, रमेश पौडेलहरूले पनि कम्तीमा सचिव पदको दाबी गर्न सक्छन् ।
हेर्नुहोस् सम्भावित आकांक्षीहरूको सूची :
अध्यक्ष
केपी शर्मा ओली
ईश्वर पोखरेल
कोशी
गुरू बराल, योगेश भट्टराई, भीम आचार्य, लालबाबु पण्डित, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, अग्नि खरेल, परशुमेघी गुरुङ, विनोद ढकाल ।
मधेश
रघुवीर महासेठ, लिला श्रेष्ठ, सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, जुलीकुमारी महतो ।
बागमती
अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विन्दा पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, शेरबहादुर तामाङ, सिताकुमारी पौडेल, अरुण नेपाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, विनोद श्रेष्ठ ।
लुम्बिनी
युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा, ठाकुर गैरे, लिला गिरी, वैजनाथ चौधरी, खिमलाल भट्टराई, सूर्य थापा, रामकुमारी झाँक्री ।
गण्डकी
पृथ्वीसुब्बा गुरूङ, पद्या अर्याल, किरण गुरुङ, थममाया थापा, खगराज अधिकारी, जगत विश्वकर्मा ।
कर्णाली
यामलाल कँडेल, गोरखबहादुर बोगटी, भैरवबहादुर श्रेष्ठ ।
सुदूरपश्चिम
लेखराज भट्ट, कर्ण थापा ।
केन्द्रीय सदस्यहरूबाट माधव ढुंगेल, झपड रावल, किशोर विक्रम मल्ल, नबिना लामा, विष्णु रिजाल, निरज आचार्य, विद्या भट्टराई, उषाकिरण तिम्सिना, ऐन महर, रमेश पौडेल लगायत ।
प्रतिक्रिया 4