+
+
Shares

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते ६:४२

१९ मंसिर, काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ ।

बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

यस्तो छ प्रतिनिधिसभा निर्वाचन तालिका

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको जनाएको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।

आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मंसिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मंसिर २४ गते प्रकाशित हुनेछ ।

यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।

यस्तै, आगामी माघ ३० गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ ।

आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?