News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलमा केयरगिभरका रूपमा जान लक्की ड्रमार्फत आउट भएका १ हजार २ सय १ जनाले नयाँ विज्ञापन नखोल्न र आफूहरूलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
- उनीहरूले श्रम मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म ज्ञापनपत्र बुझाउँदै तत्काल इजरायल पठाउने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
- सरकारले नयाँ विज्ञापन खोल्ने तयारी गरिरहेको खबरले उनीहरूमा अनिश्चितता बढाएको र योग्य उम्मेदवारलाई प्राथमिकता नदिए कानुनी कदम चाल्ने चेतावनी दिएका छन्।
१९ मंसिर, काठमाडौं । इजरायलमा केयरगिभरका रूपमा जान वञ्चित भएकाहरूले नयाँ विज्ञापन नखोल्न माग गरेका छन् ।
गत वर्ष भएको विज्ञापनमा सम्पूर्ण प्रक्रिया पूरा गरेर लक्की ड्रमार्फत ‘आउट’ भएका उम्मेद्वारहरूले आफूहरूलाई प्राथमिकता नदिई नयाँ विज्ञापन नखोल्न माग गरेका हुन् ।
उनीहरूले श्रम मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म ज्ञापनपत्र बुझाउँदै आफूहरूलाई इजरायल पठाउने प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका छन् ।
इजरायलमा ‘जीटुजी’ प्रक्रिया अन्तर्गत सहायक कामदारका रूपमा नेपालबाट इजरायल पठाउने पठाउने गरिएको छ । दोस्रो चरण अन्तर्गत ११ असार २०८१ मा विज्ञापन खुलेको थियो ।
त्यसपछि लिखित परीक्षा, कागजात प्रमाणीकरण, स्वास्थ्य परीक्षण लगायत सबै चरण पूरा गरेका ३ हजार ४ सय ३ जनामध्ये गोलाप्रथाबाट २ हजार २ सय २ जनामात्र छनोट भएका थिए भने १ हजार २ सय १ जना लक्की ड्रपछि आउट भएका थिए ।
यही समूहका १ हजार २ सय १ जनाले आफूहरूलाई नै प्राथमिकतामा राखेर इजरायल पठाउन व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।
गोलाप्रथाबाट बाहिरिएपछि आफूहरूको भविष्य अन्योलमा परेको उनीहरूले जनाएका छन् । तर, सरकारले नयाँ विज्ञापन खोल्ने तयारी गरिरहेको खबर सार्वजनिक भइरहेको बताउँदै त्यसले झन् अनिश्चितता बढाएको जनाएका छन् ।
समूहका प्रतिनिधिले वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत निकायमा ज्ञापनपत्र बुझाउँदै सरकारको प्रक्रियागत ढिलाइका कारण महिनौंदेखि प्रतीक्षामा बस्नुपरेको बताए ।


पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि गोलाप्रथाबाट बाहिरिएका योग्य उम्मेदवारलाई लैजाने अभ्यास पहिले पनि भएको थियो । अहिले पनि त्यही प्रक्रिया दोहोरिनुपर्ने उनीहरूको माग छ ।
नेपाल सरकारले इजरायली रोजगारदातासँग तत्काल समन्वय गरेर लक्की ड्रबाट जान वञ्चित रहेकालाई लैजाने वातावरण मिलाउन माग गरेका हुन् ।
हालसम्म २०८१ सालमा छनोट भएकामध्ये १ हजार ५ सयभन्दा बढी केयरगिभर इजरायल पुगिसकेका छन् ।
सामाजिक सञ्जालमा ‘स्वास्थ्य क्षेत्र’ का लागि नयाँ विज्ञापन खुल्ने कुरा फैलिन थालेपछि यसले उनीहरूमा थप असन्तोष पैदा गरेको छ । ‘हामीजस्तै प्रतीक्षारत उम्मेदवारलाई प्रक्रियाबाट बाहिर राखेर नयाँ भर्ना खोल्नु अन्याय हुनेछ,’ उनीहरूले भनेका छन् ।
यदि सरकारले योग्य तर गोलाप्रथाबाट बाहिरिएका उम्मेदवारलाई प्राथमिकता नदिई नयाँ विज्ञापन नै अघि बढाएमा कानुनी कदम चाल्न बाध्य हुने चेतावनी उनीहरूको छ ।
इजरायलले २०७८ सालमा नेपालबाट १ हजार ६ सय केयरगिभर लगेको थियो । त्यो बेला लक्की ड्रमार्फत छनोटमा परेका १ हजार १ सय ७५ र लक्की ड्रमार्फत आउट भएका करिब ५ सय जनालाई समेत लगेको थियो ।
त्यसपछि २०८१ मा दोस्रो चरण अन्तर्गत ८ सय केयरगिभरका लागि विज्ञापन आह्वान गरिएको थियो । तिनका लागि विज्ञापन आह्वान गरे पनि पछि इजरायल र श्रम मन्त्रालयबीचको समझदारीमा २ हजार जना लैजाने भन्ने थियो ।
प्रतिक्रिया 4