News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई भेटेर पृथ्वीराजमार्गका पोखरादेखि मुग्लिन खण्डमा सुरक्षित वस्ती अवधारणा लागू गर्न ध्यानाकर्षण गराएको छ।
- पार्टीले सडक खण्डमा स्मार्ट लाइट, अपाङमैत्री फ्लाइओभर, सडक पुनर्निर्माण, CCTV जडान र राजमार्ग अस्पताल स्थापना गर्न माग गरेको छ।
- अलपत्र परेका विकास आयोजना जस्तै भिमाद स्वास्थ्य चौकी भवन र घुमाउनेको पुल निर्माण कार्य यथाशीघ्र अघि बढाउन आग्रह गरिएको छ।
१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई भेटेर अलपत्र विकास आयोजना निर्माणप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपा नेता श्रीराम न्यौपानेको नेतृत्वमा मन्त्री घिसिङलाई भेटर पृथ्वीराजमार्गका पोखरादेखि मुग्लिन खण्डको बस्ती क्षेत्रमा सुरक्षित वस्ती अवधारणा लागू गर्न ध्यानाकर्षण गराइएको छ ।
सडक खण्डमा आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था गर्न एवं अलपत्र परेका विकास निर्माणका आयोजना कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाइएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत पोखरादेखि तनहुँको आँबुखैरेनी सडकखण्डमा रहेका स्थान सडक दुर्घटनाको उच्च जोखिममा रहेको उल्लेख गर्दै नागरिकको जीवन, स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
मन्त्री घिसिङलाई रास्वपाको ज्ञापनपत्रः
माननीय मन्त्रीज्यू,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,
सहरी विकास मन्त्रालय, र
ऊर्जा तथा जलस्रोत मन्त्रालय,
विषय: पृथ्वीराजमार्गका पोखरादेखि मुग्लिन खण्डको बस्ती क्षेत्रमा सुरक्षित वस्ती अवधारणा लागू गर्दै आवस्यक पूर्वाधार र सुरक्षा व्यवस्था गर्न तथा अलपत्र परेका केहि विकास निर्माणका आयोजना कार्यान्वयन सम्बन्धमा ज्ञापनपत्र पेश गरिएको बारे।
माननीय मन्त्रीज्यू,
पृथ्वीराजमार्ग अन्तर्गत पोखरा देखि तनहुँको आँबुखैरेनी सम्मका कोत्रे, दुलेगौंडा, खैरेनिटार, थर्पु, जामुने, गुणादी, दमौली, कमलबारी, डुम्रे, सत्रसय, आँबुखैरेनी लगायतका राजमार्गका दुबै किनाराका मुख्य बस्ती क्षेत्र दिनप्रतिदिन भीडभाड, यातायातको चापका कारण मुख्यतया वालवालिका, वृद्द र असहायहरु सडक दुर्घटनाको उच्च जोखिममा परेका छन्। यी क्षेत्रमा बसोबास गर्ने सबै नागरिकको जीवन, स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्नु राज्यको प्राथमिक दायित्व भएकोले हामी निम्न बुँदागत सुझाव एवं मागहरू सहित तपाईँको ध्यानाकर्षण गराउन चाहन्छौँ।
हाम्रो सुझाव एवं मागहरू
१. स्मार्ट सडक बत्ती (Smart Light) जडान
घना बस्ती, चोक तथा जोखिमयुक्त स्थानमा आधुनिक ऊर्जा–कुशल स्मार्ट लाइटहरू जडान होस्।
२. अपाङमैत्री फ्लाइओभर तथा यातायात संरचना
आवश्यकता र औचित्यताको आधारमा पैदलयात्री तथा अपाङमैत्री फ्लाइओभर वा अन्डरपास निर्माण होस्। दुवै साइडमा नाला ढाकी वालवालिका राजमार्गको सडकमा निस्कन नसक्ने गरी रेलिङ राखीयोस्।
३. जोखिमयुक्त घुम्तीहरूमा सडक पुनर्निर्माण
केहि घुम्तीहरु (Sharp Bend) र दुर्घटनाग्रस्त क्षेत्रमा दृश्यता बढाउने, चौडाइ सुधार गर्ने तथा सुरक्षित मोडको पुन: डिजाइन गरी पुनर्निर्माण गरियोस्।
३. चार्जिङ स्टेसनसहितको आधुनिक हाइवे सर्भिस सेन्टर
यात्रुको सुविधा, आपतकालीन सेवा र हरित ऊर्जा प्रवर्द्धनका लागि पायक पर्ने ठाउँमा पर्याप्त पार्किङ स्थल, सार्वजनिक शौचालय, Charging Station, चमेना गृह सहितको सुविधायुक्त आधुनिक हाइवे सर्भिस सेन्टरको विकास गर्न स्थानीयले प्राथमिकता पाउने गरी निजी क्षेत्रका लागि खुल्ला गर्ने नीतिगत व्यवस्था होस्।
४. राजमार्ग एम्बुलेन्स र राजमार्ग अस्पताल
दुर्घटना पीडितलाई छिटो उपचार उपलब्ध गराउन अत्यावश्यक भएकोले राजमार्ग एम्बुलेन्स र राजमार्ग अस्पताल स्थापना गरियोस्।
५. राजमार्गमा CCTV जडान
सुरक्षा निगरानी, दुर्घटना नियन्त्रण र अपराध रोकथामका लागि राजमार्गलाई समेट्ने गरी CCTV जडान गरियोस्।
६. गति सीमा, लेन मार्किङ र लेन अनुशासन
कडाइका साथ कार्यान्वयन
सडक मापदण्ड अनुसारका सुरक्षा चिन्ह, रिफ्लेक्टर र ट्राफिक गाइडलाइन व्यवस्थित रूपमा राखियोस्।
७. सुरक्षित वस्ती अवधारणा लागू
राजमार्ग छेउका बसोबास क्षेत्रलाई सुरक्षित, स्वस्थ र व्यवस्थित बनाउन दीर्घकालीन योजना ल्याइ सार्वजनिक गरियोस्।
८. अलपत्र परेका विकास निर्माणका आयोजना सम्बन्धमा
करिब विगत दश वर्ष देखि अलपत्र परेर बसेका भिमादको स्वास्थ्य चौकी भवन, रिसिङ-घिरिङमा पर्ने राष्ट्रिय राजमार्गहरु श्रृङपथ र कृष्णमार्ग तथा वुद्दसिंह मार्ग र मुग्लिङ-नारायणगढ सडक जोड्ने घुमाउनेको पुल यथासक्य चाँडो निर्माण कार्य अघि बढाइयोस्।
माननीय मन्त्रीज्यू, यी सबै मागहरू जनसुरक्षा, दुर्घटना न्यूनीकरण, राजमार्गको स्तर अनुसारको सुविधासम्पन्न यातायात सेवा र समग्रमा द्रुत गतिको सुरक्षित विकासका आधारभूत आवश्यकता हुन्। हाम्रो अपेक्षा छ—मन्त्रालयले प्राथमिकताका साथ आवश्यक बजेट, योजना र कार्यान्वयन प्रक्रिया आगामी वर्षको निति तथा कार्यक्रम मार्फत अघि बढाई राजमार्ग वरपरका स्थानीय बासिन्दाको जीवनस्तर र सुरक्षामा तत्काल सुधार गर्न संपुर्ण तनहुँवासीको तर्फबाट जोडदार माग गर्दछौं ।
अन्त्यमा, हाम्रो मागलाई सकारात्मक रूपमा ग्रहण गरी यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक पहल समेत गरिदिनुहुन अनुरोध गर्दछौं।
धन्यवाद।
…………….
ई. श्रीराम न्यौपाने तथा
टीम राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ।
मिति:- २०८२/०८/१९ गते
प्रतिक्रिया 4