+
+
Shares

निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो : अर्थमन्त्री

निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १३:१४

२१ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारण सभामा उनले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको बताए ।

निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको उनको भनाइ छ ।

अनिश्चयले युवालाई थप निराश बनाउने उनको तर्क छ । संविधान बमोजिम समयमा निर्वाचन गर्नुपर्ने दायित्व वर्तमान सरकारको रहेको उनले बताए ।

मुलुक अहिले परिवर्तनको संघारमा रहेको तर परिवर्तन भइनसकेको भन्दै उनले जेनजी आन्दोलन आर्थिक समृद्धिको लागि नभइ भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको बताए ।

‘अहिले हाम्रो मुलुक परिवर्तनको संघारमा छ । परिवर्तन भइसकेको छैन । त्यसका त्यसका तरंगहरू अझै पनि छन् । त्यो तरंगले हामीलाई गलत दिशामा नपुर्‍याओस् भन्नुको निमित्त खासगरी जेनजी आन्दोलन भनेको आर्थिक समृद्धिका लागि थियो भन्नेकुरा मैले बुझेको छैन । उहाँहरूको नारा दुई दिनमा हामीलाई आर्थिक समृद्धि चाहियो भन्ने पनि थिएन । हामीलाई मुलुकभित्रै अवसर मिलोस् र बाहिर जान नपरोस् भन्ने पनि थिएन । दुई वटा मात्रै मुद्दा थियो । एउटा भ्रष्टाचार बढ्यो । राज्यका शक्तिशाली नेतृत्वदायी व्यक्तिहरूबाटै भ्रष्टाचारको संरक्षण भयो । त्यसको अन्त्य हुनुपर्छ र अर्को सुशासन कायम हुनुपर्छ । कम्तीमा पनि नागरिकले सरकारको सेवाग्राहीको रूपमा पाउनुपर्ने सेवा सही तरिकाले पाउनुपर्‍यो भन्ने दुई वटा माग थियो,’ उनले भने ।

अर्थमन्त्री खनालले समाजमा रहेका गलत जुनसुकै क्रियाकलापलाई पनि नियन्त्रण गर्नैपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?