+
+
Shares

पोर्चुगलको मदेइरामा घुम्ती शिविर सुरु, पहिलो दिन ५५ नेपालीले लिए सेवा

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको टोलीले मदेइरा आइल्यान्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो।

रासस रासस
२०८२ मंसिर २१ गते १८:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले सामुद्रिक टापु मदेइरामा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवा सुरु गरेको छ।
  • राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा मदेइरामा दुई दिनसम्म सञ्चालन हुने शिविरबाट एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको छ।
  • घुम्ती शिविरले राहदानी म्याद सकिएका, हराएका, क्षति भएका र कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई राहत दिएको छ।

२१ मंसिर, लिस्बन। पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको टोलीले मदेइरा आइल्यान्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो। घुम्ती सेवाको पहिलो दिन आज ५५ जना सेवाग्राही नेपालीले सेवा लिएको टोलीले जनाएको छ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुरु गरिएको राजदूत पौडेलले बताए।

दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले बताए। आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन राजदूत पौडेलले मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रहसमेत गरे।

शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद छ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ।

यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ ।

दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो। घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइरावासी नेपालीलाई राहत मिलेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताए।

विशेषतः शिविरबाट पोर्चुगलको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका, म्याद सकिएका, हराएका र अन्य कागजात प्रमाणीकरण गर्नुपर्ने नेपालीहरूलाई राहत मिलेको उनको भनाइ छ।

घुम्ती शिविरबाटै दूतावासको सेवा पाउँदा सामुद्रिक टापु मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीले बताए ।

यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो सहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो। पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ७० हजारको हाराहारीमा रहेको अनुमान छभने मदेइरामा दुई हजार बढीको हाराहारीमा नेपाली रहेको अनुमान छ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?