+
+
Shares

लेनिन सम्झँदै ओलीलाई ईश्वरको कटाक्ष : सब ठिकठाक छ भन्नु पतनको सुरुवात हो

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कम्युनिस्ट नेता लेनिनको भनाइ सापटी लिंदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको अडानलाई पतनको सुरुवातको संज्ञा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १७:१२

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कम्युनिस्ट नेता लेनिनको भनाइ सापटी लिंदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको अडानलाई पतनको सुरुवातको संज्ञा दिएका छन् ।

सोमबार पार्टी मुख्यालय च्यासलमा बुझाइएको पोखरेल समूहले तयार गरेको अवधारणापत्रमा उनले जेनजी विद्रोहको मूल्यांकनमा दुई अतिवाद हावी भएको भन्दै ओलीलाई एउटा अतिवादको संज्ञा दिएका छन् ।

‘आजको अवस्थासँग हाम्रा सीमा, कमजोरी र असफलताको कुनै सम्बन्ध नदेख्नु अर्को अतिवाद हो,’ उनले भनेका छन्, ‘वर्तमान अवस्था र इतिहासको वस्तुनिष्ठ समीक्षा नगरी भविष्यको मार्गचित्र निर्माण सम्भव छैन ।’

पोखरेलले जेनजी विद्रोहमा दोषी सबै पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

यस्तो छ पोखरेलको विश्लेषण :

यो आन्दोलन (जेनजी विद्रोह) र विध्वंसक आक्रमणपछि दुई थरीका अतिवादी विचारहरू प्रस्तुत भएका छन् ।

१. एकथरिले यसको सम्पूर्ण कारक तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका प्रमुख राजनीतिक दल र प्रमुख नेताहरू भएको टिप्पणी गरिरहेका छन् ।

उनीहरूले भनिरहेका छन् – ‘राजनीतिक दलहरूले केही पनि गरेनन्, देशमा केही हुँदै भएन, राजनीतिक दलका नेता सबै खराब र उस्तै हुन्, जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सबैभन्दा सर्वोच्च संस्था संसदसमेत औचित्यहीन भयो ।’

खासमा हाम्रा कमजोरीहरूमाथि टेकेर उनीहरूले संविधान र व्यवस्थालाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । हाम्रो संविधान र व्यवस्था भत्काएर नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानलाई कमजोर बनाउन एउटा अतिवाद सक्रिय छ । यो विचार हाम्रो राष्ट्र, संविधान र व्यवस्थाविरोधी अतिवाद हो ।

२. अर्को अतिवादी टिप्पणी छ, ‘हामीले राम्रो गरिरहेका थियौं । हाम्रा आर्थिक परिसूचकहरू क्रमशः सुधारको बाटोमा थिए । भौतिक संरचनाहरू धमाधम बन्दै थिए । तीनै तहको आवधिक निर्वाचन भइरहेका थिए ।’ अर्थात् ‘जे भइरहेको छ त्यो सब ठिकठाक थियो, जे गरिरहेका थियौं गजब गरिरहेका थियौं ।’ आज जे भयो त्यो हाम्रो कारणले होइन केवल ‘देशी-विदेशी प्रतिक्रियवादी’ हरूको षड्यन्त्रको कारण भयो भन्ने टिप्पणी भइरहेको छ । आजको अवस्थासँग हाम्रा सीमा, कमजोरी र असफलताको कुनै सम्बन्ध नदेख्नु अर्को अतिवाद हो ।

वर्तमान अवस्था र इतिहासको वस्तुनिष्ठ समीक्षा नगरी भविष्यको मार्गचित्र निर्माण सम्भव छैन । कमरेड लेनिनले भने जस्तो ‘सब ठिक छ’ भन्ने अतिवाद स्थिरता होइन, पतनको सुरुवात हो । यो विचार हाम्रो सुन्दर भविष्यको बाधक र अवरोधक हो ।

हामी दुवैखाले अतिवादी विश्लेषणबाट मुक्त हुनु जरुरी छ । २३ र २४ भदौका घटनाको अलग अलग ढंगले वस्तुगत तथा तथ्यपरक ढंगले निश्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही गरिनु पर्दछ ।

साढे दुई सय वर्षको आधुनिक इतिहासमा नेपाली समाजले यसप्रकारको संकटको सामना गर्नुपरेको थिएन । सहिष्णुता, एकता, सद्भावको हिसाबले गौरवमय मूल्य र मानकहरू स्थापित थिए । तर, २४ भदौमा हामीले निर्माण गरेका हाम्रा सांस्कृतिक मूल्यहरूको चिरहरण गरियो ।

हाम्रा सांस्कृतिक मूल्यहरू, पूर्वमान्यताहरू कुनै सग्लो रहेनन् । यस्तो स्थिति उत्पन्न हुन लागेको, नेपाली समाज निराशा र आक्रोशको विष्फोटन गर्न तयार भएर बसेको मेसो हामीले पाएनौं । चाहे त्यो हामीले भनेको जस्तो नकारात्मकताको प्रचारले होस् चाहे हामीले अभ्यास गरेको राजनीति, हामीले अभ्यास गरेको सेवा प्रवाहको तरिका, हामीले देखाएको समृद्धि र विकासको सपना र जनताको अपेक्षाका बीच खाडल भएर किन नहोस् ।

गोली लागेर ज्यान गुमाएका नवयुवाहरूको वर्ग आधार हेर्दा पनि छर्लङ्ग हुन्छ कि शहर निम्न आयस्नोत भएका र बेरोजगारीले सताइएका मानिसहरूले भरिएको छ । निम्न मध्यम वर्ग र श्रमिक वर्ग यस्ता विद्रोहको अग्रपंक्तिमा देखिएको छ ।

२०३६ को आन्दोलन र २०४६ को आन्दोलन, २०६२/०६३ जनआन्दोलनमा मध्यमवर्गको सहभागिता बलियो थियो । अहिले त्यस्तो आन्दोलनमा निम्नमध्यम वर्ग र गरिबहरूको सहभागिता बढ्दै गएको छ । यसको अर्थ हुन्छ २०४७ पछि हामीले लिएका आर्थिक नीतिले सीमित मानिसलाई धनी त बनायो सँगै आम मानिसहरू सिमान्ततिर धकेलिए ।

हामीले समाजको वर्ग विश्लेषण सही ढंगले गर्ने र सो अनुरूप तल्लो वर्गलाई समेट्ने आर्थिक नीतिहरू ल्याउन सकेका छैनौं भन्ने यसले प्रमाणित गर्दछ ।

हामी र आम मानिसका बीच सम्बन्ध टुट्नुको यो कारणको सम्बोधन नगरी जनतामा विकास भएको आक्रोश र निराशा चिर्न सम्भव थिएन । यसपालि त्यसको पनि विष्फोट भयो । हाम्रो शासकीय वैधानिकता, पार्टीको राजनीतिक वैधानिकता र हाम्रो विचार, सिद्धान्त र सांगठनिक व्यवहार, कार्यशैलीहरूमा थुप्रै प्रश्नहरू उठेका छन् । त्यसै भएर भावी दिशा तय गर्नु अगाडि हामीले आफ्ना कमजोरीहरूको समग्रमा समीक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?