News Summary
Generated by OK AI. Editorially reviewed.- अरुणा लामाले ५२ वर्षको उमेरमा संगीत क्षेत्रमा थुप्रै अजम्बरी गीतहरू गाएर नेपाली संगीतमा अमिट छाप छाडिन्।
- उनकी छोरा सुप्रित राज प्रधानले आफ्नो बाल्यकालका सम्झनाहरू सुनाउँदै आमाको संघर्षशील र ममतामयी व्यक्तित्वको चर्चा गरे।
- अरुणा लामाको निधनपछि सुप्रितले आफ्नो फुटबल खेलाडी बन्ने सपना त्यागेर ट्राभल व्यवसाय थालेका छन् र आमाको संगीत विरासत बचाउन चाहन्छन्।
आफ्नो जीवनकालमा थुप्रै अजम्बरी गीतहरू गाइन्, अरुणा लामाले ।
हेर न हेर कान्छा.., पोहोर साल खुसी फाट्यो.., एक्लै बस्दा सधैं मलाई.., उदास मेरो जीवनकथा.., हिमालसरी म.., फूललाई सोधें..
आज पनि यी गीतका झंकार उत्तिकै ताजा र सुमधुर छन्, जति हिजोका दिनमा थियो । गीत गाउँदागाउँदै ५४ वर्षको उमेरमा उनले संसार छाडिन् । उनी कस्ती थिइन् ? उनको जीवन भोगाइ कस्तो थियो ? स्वभाविक चासो छ आजको दिनमा पनि । यही चासो लिएर हामीले सुप्रीत राज प्रधानलाई भेट्यौं, जो अरुणा लामाका एकमात्र छोरो हुन् । उनको बाल्यकालका स्मृति कोट्याएर हामीले त्यो सानो आँखीझ्यालबाट अरुणा लामालाई चियाउने यत्न गर्यौं । कस्ती थिइन् त अरुणा लामा ?
०००
‘तँ त ४० वर्षपछि फुटबल खेल्न सक्दैनस् । अनि के गर्छस् ? म त ७० वर्ष हुँदा पनि गीत गाइरहेको हुन्छु’
सुप्रितराज त्यसबेला खुबै फुटबल खेल्थे । घरबाट टाढा-टाढा गएर । कहिले आफैं जोस्सिएर त कहिले साथीहरूको पछिपछि लागेर । तर, अर्कै क्षेत्र भए पनि उनकी आमाले फुटबल खेलाडीहरूबारे थोरबहुत ज्ञान राखेकी थिइन् । उनलाई राम्रैसँग थाहा थियो, सक्रिय भएर बुढ्यौलीसम्म कसैले पनि फुटबल खेल्न सक्दैनन् ।
यसैले त उनले आफ्नो छोरो सुप्रित राज प्रधानलाई त्यसो भन्ने गर्थिन् । तर समय बदलियो । परिस्थितिले कोल्टे फेर्यो । अरुणा लामाको वचन समयसँगै धुवाँजसरी विलय भएर गयो । आज न सुप्रितराज प्रधान फुटबलर भए न अरुणा लामाले ७० वर्षको बुढ्यौलीमा गीत गाउन पाइन् ।
०००
आजकल सुप्रित दिल्लीमा बस्छन् । ट्राभलिङ सम्बन्धी उनको व्यावसाय उतै छ । तर फुर्सद मिल्नसाथै उनी काठमाडौं आइहाल्छन् । कोरोनाकालपछि त्यो क्रम अलि पातलिएको छ। तर, काठमाडौंले उनलाई तान्न छाडेको छैन। किनकि यही भूमिका उनकी आमाले छाडेको अमीट छाप छ । अनगिन्ती यादहरू छन् ।
५६ वर्षीय सुप्रित किशोरवयमा छँदै आफ्ना बुबाआमाले बनाएको गोरेटोमा हिँड्न सक्थे । उनले कोसिस गरेकै हुन् । ब्यान्ड बनाएकै हुन् । तर संगीतका तरङ्गहरूले उनलाई छोएन सायद । साट्टामा फुटबलको रसले तान्यो । र, उनी कतै अल्मलिए ।
फेरि उनलाई आफ्नै परिचय बनाउनु पनि त थियो । आफ्नो बाटो आफैं बनाउनु थियो । त्यसको लेखाजोखा त समयले गरिरहेको होला । तर, यो उमेरसम्ममा आइपुग्दा उनलाई आफ्नो निर्णयप्रति केही गुनासो छैन । आमाबुबाकै बाटोमा नलागेकोमा कत्ति पश्चाताप छैन ।
उनी त आफ्नो बुबाआमाको संगीतले जोडिदिएका अनगिन्ती साइनो र यादगार क्षणहरू सम्झेर मख्ख परिरहन्छन् । आज पनि दार्जीलिङको बाल्यकाल सम्झिन्छन् । उनलाई लाग्छ- अझैं पनि आमा र आफ्नी दिदीसँगै त्यहीँ छु । उनकी आमा अरुणा लामा संगीत बाहेक जागिरमा पनि थिइन् । दुवै क्षेत्रमा व्यस्त हुनुपर्ने भएकाले कहिलेकाहीँ हप्ता दिनसम्म घरमा आउँदिनथिन् । त्यस्तोमा छोराछोरीलाई सघाउनका लागि सहयोगी राखेकी थिइन् ।
तर उनी घरमा हुँदा माहौल नै फरक हुन्थ्यो ।
संगीत र कलाका पारखीहरूका लागि उनीहरूको घर केन्द्रबिन्दु हुन्थ्यो । पाहुनाहरूको चहलपहल यति धेरै हुन्थ्यो कि, चिया पसल खोलेको भए धनी हुन्थें भनेर अहिले उनी मजाक गर्छन् ।
साँच्चै नै घरमा आउनेहरूको संख्या बाक्लै हुन्थ्यो। गीतकारहरू अरुणा लामालाई गीत देखाउन आइरहन्थे । संगीतकारहरू संगीत सम्बन्धी विमर्श गर्न घरमा आउँथे। तिनमा मनि कमल क्षेत्री, शान्ति ठटाल, हिरा वाइबा, गणेश शर्मा, रोशन सिंह, किरण मोक्तान, कुन्दन राज सुब्बा आदि हुन्थे । प्रायः घरमा आउने सबैले संगीतबाहेक अरु विषयमा कुरा नगर्ने सुप्रितको सम्झनामा छ ।

स्मृतिहरूमा डुब्दै जाँदा उनी आमासँगै बेलुकाको खाना खाने समयमा पुग्छन् ।
प्रायः आमाले पकाएको सबै कुरा उनलाई मन पर्थ्यो । एक त आमाले पकाएको खान पाउनु नै दुर्लभ थियो । आजकल बेलाबेला आफैं खाना पकाइरहँदा सुप्रित आफ्नी आमाले पकाए जसरी पकाउन कोसिस गर्छन् । तर, मेसो पाउँदैनन् । र उतिबेलाको स्वाद सम्झेर चित्त बुझाउँछन् । त्यसबेला उनीहरूको घरमा डाइनिङ टेबल थिएन । भान्सामा आमासँगै पलेटी कसेर खाना खाएको पल सुप्रितलाई हिजो जस्तै लाग्छ ।
अरुणा लामा कतै टाढा गए घर फर्कंदा कहिल्यै खाली हात फर्किन्थिन् । काठमाडौं गएको बखत त जिन्स पाइन्ट, विशेष किसिमको इलास्टिक बेल्ट र अन्य लुगाफाटो सुप्रित र सपनालाई ल्याइदिन्थिन् । ती लगाएर गाउँ डुल्नुको मजा नै छुट्टै हुन्थ्यो । कार्यक्रमका लागि टाढा जाँदा उनीहरूले आमासँग कुराकानी गर्न पाउँदैनथे । कोही घर जाने मान्छे भेटिए अरुणाले घरमा चिठ्ठी पठाउँथिन् । चिठीसँगै केही न केही सामान पनि आइपुग्थ्यो । बालापनको तृष्णा सुप्रितलाई चिठीभन्दा तिनै सामानमा बढी चासो हुन्थ्यो । चिठीमा भने प्रायः अरुणाले ‘बदमासी नगर्नू, स्कुल जानू, राम्रो पढ्नू, म यति दिनमा आइहाल्छु’ जस्ता सन्देश पठाइरहेकी हुन्थिन् ।
आज सुन्दा सुप्रितको बाल्यकाल जति रमाइलो छ, त्यति नै कारुणिक पनि । चार वर्षको हुँदा उनले बुबालाई गुमाउनु पर्यो । बुबा शरण प्रधान २९ वर्षको कलिलो उमेरमै बिते । त्यसबेला उनकी दिदी सपना ८ वर्षकी थिइन् । अरुणा लामाको सांगीतिक करियरले उचाइ लिँदै थियो ।
अरुणाले शरणसँग मिलेर केही गीतहरू समेत निकालेकी थिइन् । शरण राम्रो संगीतकार थिए । तर अरुणाको पोल्टोबाट फुत्केर समय गयो । त्यसले सिर्जेको पीडा, बाध्यताबीच विचलित नभई आमा, बाबु दुवै बनेर छोरी सपना र छोरा सुप्रिलाई हुर्काइन् । उनीहरूलाई बुबाको कुनै अभाव हुन दिइनन् । आफू घोटिएर सन्तानको जीवन उज्यालो बनाइन् ।
भविष्य बनाउने सन्दर्भमा समेत अरुणाले छोरालाई केही भनिनन् । यस्तै बन्नुपर्छ भनेर जोड गरिनन् । उनीहरूको रुचिलाई नै सहयोग गरिन् । दार्जीलिङको राम्रै विद्यालयमा पढाइन् ।
सुप्रित अलि ठूलो भएपछि आफूसँगै विभिन्न कार्यक्रमहरूमा समेत लगिन् । त्यही सिलसिलामा सुप्रित आमासँगै पहिलो पटक प्लेनमा काठमाडौं आएका थिए । विराटनगरबाट प्लेनमा चढ्दा उड्न थालेपछि अताल्लिएको क्षण हिजोअस्ती जस्तै लाग्छ उनलाई ।

त्यसबेला गीत रेकर्ड गर्न लाग्दा अथवा कुनै पनि कार्यक्रमको तयारी गर्न जाँदा पनि सुप्रित आमासँगै हुन्थे । अनि त्यही मौकामा अन्य संगीतकारको साइकल चढ्थे सुप्रित ।
बुझ्ने भएपछि मात्र न हो, सुप्रितले आफ्नी आमा ठूलो गायिका हुन् भनेर थाहा पाए । यसकारण सुप्रितको नजरमा अरुणा असाध्यै सिधा, संघर्षशील र ममतामयी व्यक्ति हुन् । उनी आफ्नी आमालाई असाध्यै ठूलो बोझ उठाउने साहसी र त्यागी समेत मान्छन् । कहिल्यै पनि कुनै कुरामा गुनासो नगर्ने निकै थिइन् । सहयोगी पनि उस्तै । कुनै बिरामीका लागि सहयोग उठाउने कार्यक्रममा गीत गाउँदा अरुणाले पैसा लिनै नमानेको सुप्रित सम्झन्छन्।
आफ्नो पूरा जीवनकालभर अरुणाले एउटै मात्र गुनासो गरेको सुप्रितलाई सम्झाना छ । त्यो हो विदेशमा गएर कार्यक्रम गर्न नपाउनु । त्यसमा स्वास्थ्यको दोष थियो ।
अत्यन्तै जिद्दी गरेर एउटा गीत गाएको पनि सुप्रितलाई छ । ’उदास मेरो जीवन कथा’ भन्ने गीत असाध्यै मन पराएपछि अरुणाले गोपाल योञ्जनसँग त्यो गीत मागेकी थिइन् । । त्यो गीत नारायण गोपाल अथवा अन्य कसैलाई गाउन लगाउने तयारी थियो ।

नारायण गोपाल र गोपाल योञ्जन दुवैसँग अरुणाको राम्रो सम्बन्ध थियो । गोपाल योञ्जनले अरुणालाई नयाँ-नयाँ गीतहरू गाउन भनिरहन्थे । तयार पारेका कुनै गीत छन् भने सुनाइहाल्थे । भोटाहिटी नजिकै रहेको ’सेतो दरबार’ भनिने घरमा अरुणाको आउजाउ हुन्थ्यो । नारायण गोपालको घरमा जाँदा पेमला लामा (नारायण गोपालकी पत्नी) ले बनाएको मोमो खाएको सम्झना सुप्रितमा ताजै छ ।
०००
सुप्रित २५-२६ वर्षका भइसकेका थिए । यसबेलासम्म फुटबलर बन्ने उनको सपना टुटिसकेको थियो । उनी शिक्षण पेशामा लागेका थिए । त्यसैसमयतिर उनले ट्राभल एजेन्सीमा राम्रो भविष्य देखे । अनि शिक्षण छाडेर काठमाडौं बस्न थाले । दिदी पनि अन्तै थिइन् ।
उता अरुणा लामा दार्जीलिङमा एक्लो भइन् । उनलाई रोगले च्याप्दै लगिरहेको थियो । कामका कारण सुप्रित आमासँग सँगै हुन पाएका थिएनन् । त्यसै रोगले अरुणलाई ५४ वर्षको उमेरमा सबैबाट छुटाएर लग्यो ।
आज फर्केर हेर्दा त्यो डेढ, दुई वर्ष आमासँगै हुन नपाएकोमा सुप्रितलाई बेलाबेला पोल्ने गर्छ । तर यात्रा गर्दा, रेस्टुरेन्टमा जाँदा, अथवा टिभीमा अरुणा लामाको कुनै पनि गीत बज्दा आमाको अमरताको आभास गर्छन् । ’ओहो, ममी त यहीँ हुनुहुन्छ जस्तो लाग्छ’ उनी भन्छन् ।
आमाले नेपाली संगीतलाई दिएको योगदानलाई अहिलेको नयाँ पुस्ताले कत्तिको सम्झेको छ, कति स्वीकारेको छ, आमालाई उनीहरू कति सुन्छन् ? कहिलेकाहीँ यस्ता प्रश्न खेलिरहन्छन् उनको मनमा । आमाको गीत–संगीतको त्यो विरासत कतै विलय हुँदै जाँदै त छैन भन्ने डर पनि लाग्छ ।
बस् ! अब सुप्रितका लागि अब आउँदो पुस्ताले आमाको संगीतलाई बचाएर राखे पुग्छ ।


फोटो क्रेडिट: सुप्रितराज प्रधान
फोटो/भिडियो: कमल प्रसाईं
प्रतिक्रिया 4