२४ मंसिर, काठमाडौं । काठमान्डु गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको हो ।
काठमान्डुका लागि आठौं नम्बरमा ब्याटिङ गरेका सन्तोष यादवले १७ बलमा १ छक्का मद्दतमा सर्वाधिक २३ रन बनाए भने जोन सिम्पसन र आदिल आलमले समान १८ रन बनाए । सिम्पसनले १७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । आदिलले ११ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । भीम शार्कीले १४ बल खेल्दै १ छक्का मद्दतमा १४ रन बनाए ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले सुरुमै सानदार बलिङ गर्दै २-२ विकेट झारेपछि काठमान्डुले १४ रनमै ४ विकेट गुमाएको थियो ।
त्यसपछि काठमान्डुका लागि भीम शार्की र जोन सिम्पसनले ३६ रनको साझेदारी गरे । पावर प्लेमा काठमान्डुले ४ विकेट गुमाएर २९ रन बनाएको थियो ।
५२ रनमा ७ विकेट गएपछि आदिल आलमले केही ठूला सट खेल्दै इनिङ्स अघि बढाएका थिए । आदिल र सन्तोष यादवले साझेदारी गर्ने प्रयास गरेपनि शेर मल्लले आदिललाई बोल्ड गर्दै साझेदारी तोडे ।
लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिए । शेर मल्लले ४ ओभरका २२ रन खर्चेर ३ विकेट लिएका शेर मल्ल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । उनको १३ विकेट पुगेको छ । उनीभन्दा अगाडि सन्दीप लामिछानेको १५ र अविनाश बोहराको १६ विकेट छ । रोहितले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए ।
यस्तै रुबेन ट्रम्पलम्यानले ३.१ ओभरमा १० रन खर्चेर २ विकेट लिए । अभिशेष गौतमले समान १ विकेट लिए ।
प्रतिक्रिया 4