काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्वाचन केन्द्रित गतिविधिमा परिचालन गरेको छ । ती केन्द्रीय सदस्यहरुलाई आफ्नो र प्रतिस्पर्धी दलको शक्ति आँकलन गरी रिपोर्ट तयार पार्न भनिएको छ ।
आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यहरुलाई नेर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार केन्द्रीय सदस्यहरुलाई प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समितिहरु गठन गरी सक्रिय रुपमा परिचालन गर्न तथा गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल तथा गाउँ समिति शीघ्र गठन गर्नेलगायतका संगठन तथा संरचना निर्माण कार्यमा लाग्न पार्टीले निर्देशन दिएको छ ।
त्यसैगरी चुनावी प्रचार प्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षणलगायतका कार्यहरु योजनाबद्ध रुपमा सञ्चालन गर्न पनि भनिएको छ ।
निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम र कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै प्रचार प्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरुले भूमिका खेल्ने बस्नेतको भनाइ छ ।
निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय सदस्यहरुले प्रत्येक क्षेत्रको मतदाता तथ्यांक संकलन, संगठनको स्थिति, प्रतिस्पर्धी दलहरुको अवस्था समेटेर नियमित रुपमा रिपोर्टिङ गर्न तथा पार्टीका उम्मेदवारहरु सफल हुने सम्भावना उच्च रहेका क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष ध्यान, शक्ति परिचालन र रणनीतिमूलक गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया 4