२६ मंसिर, रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ट्रक र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।
दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन् । उनको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4