२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले भोलि (शनिबार) १६५ निर्वाचन क्षेत्रका सभापतिहरूसँग छलफल गर्ने भएको छ ।
महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको समितिले शनिबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँग नयाँ क्रियाशील सदस्यताबारे छलफल गर्न लागेको हो ।
समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले शनिबार बिहान ९ बजे देशभरका क्षेत्रीय सभापतिहरूसँग नयाँ क्रियाशीm सदस्यता वितरणबारे ‘भर्चुअल’ (जुम मिटिङ) छलफल गरिने जानकारी दिए ।
‘हामीले विधानअनुसार नयाँ सदस्यता फारमहरू संसदीय निर्वाचन क्षेत्रमा पठाएका छौं,’ उनले भने, ‘त्यसअन्तर्गत वडा, पालिका, प्रदेश क्षेत्र र संघीय क्षेत्र पर्छन् । त्यहाँ देखिएका समस्या, चुनौती, सामना गर्नु परेका अप्ठ्याराहरू र समाधानका लागि गर्नुपर्ने कामबारे छलफल गर्न बैठक बस्न लागेको हो ।’
समितिले यसअघि ७७ वटै जिल्ला सभापतिहरूसँग क्रियाशील सदस्यता नवीकरणबारे ‘भर्चुअल’ बैठक गरेको थियो । समितिले आइतबार पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने भएको छ ।
‘आइतबार जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्था, तलबाट प्रतिवेदन लिएर समीक्षा गरेर आगामी कदमबारे निर्णय गर्छौं,’ नेता रसाइलीले भने ।
समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘अटो लक’ गर्ने निर्णय गरेको थियो ।
समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ ।
प्रतिक्रिया 4