+
+
Shares

कर्णालीमा नेकपा नेताहरू : समाजवादी सपना बाँडे, जनतासँग माफी मागे

कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले जनतासँग माफी मात्रै मागेनन्, आत्मालोचना गर्दै समाजवादी सपनासमेत बाँडे । 

यज्ञ खत्री यज्ञ खत्री
२०८२ मंसिर २८ गते १९:४१

२८ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले कर्णाली पुगेर जनतासँग माफी मागेका छन् । राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गरेका नेताहरूले जनतासँग माफी मात्रै मागेनन्, आत्मालोचना गर्दै समाजवादी सपनासमेत बाँडे ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त गत भदौ २३ र २४ को जेनजी विद्रोहपछि आफूहरू पूरै नयाँ भइसकेको दाबी गरे । जेनजी विद्रोहकै कारण नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका १० कम्युनिस्ट घटकबीच एकताको आधार सिर्जना भएको उनले बताए ।

जेनजी आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको प्रचण्डको ठहर छ । ‘जेनजी युवाहरूले हामीलाई सच्चिने कि सकिने भन्ने चुनौती दिए । हामीले त्यसलाई स्वीकार गर्‍यौं । र, सच्चिने निर्णयमा पुग्यौं । जेनजीको बाटोमा हिँड्ने पहिलो पार्टी नै हामी बन्यौँ,’ प्रचण्डले भने ।

नेपाली कम्युनिस्ट पार्टी बनेपछि कर्णालीमा पहिलो पटक संयुक्त सभा गरिएको थियो । सभामा नेता, कार्यकर्ता र जनमानसको उपस्थिति उत्साहजनक देखिन्थ्यो । कर्णालीलाई आफ्नो आधार इलाका बताउने माओवादी नेताहरू सन्देश सभालाई सफल बनाउन एक सातादेखि सक्रिय थिए ।

स्थानीय नेताहरूको सक्रियताकै कारण प्रदेशका सबैजसो जिल्लाहरूबाट आएका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । समर्थकको तालीले हौसिएका प्रचण्डले कर्णाली प्रदेशलाई नेकपाको गौरवशाली इतिहास बोकेको प्रदेशका रूपमा लिने गरेको बताए ।

आफूलाई नयाँ भइसकेको बताउने प्रचण्ड कर्णालीका लागि भने पुरानै नेता हुन् । १ फागुन २०५२ देखि प्रचण्डले कर्णालीलाई आधार बनाएर १० वर्षे सशस्त्र विद्रोह गरे । न्याय, समानता र समृद्धिको सपना बाँडे । जसले गर्दा, माओवादी जनयुद्धमा हजारौँ शहीद, घाइते र बेपत्ता बने ।

त्यसकै आडमा माओवादी मुलुककै शक्तिशाली पार्टी बन्यो भने प्रचण्ड गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । निरन्तर २० वर्ष सरकारमा रहेको माओवादी जनतामाझ भने कमजोर बन्दै गयो । पछिल्लो तीन दशकमा प्रचण्ड धेरै पटक कर्णाली आइसकेका छन् ।

यो पटक नेपाली कम्युनिस्ट पार्टीको संयोजक बनेर कर्णाली पुगेका प्रचण्डले माओवाद विचार नै त्यागेर आएका थिए । पार्टीको मार्गनिर्देशक सिद्धान्त माओवाद त्यागेका उनले नयाँ पार्टीको सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ राखेका छन् । उनले फेरि, विगतका गल्तीबाट सिक्दै आफू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताए ।

विगतका कमजोरी सच्याउँदै १६ भन्दा बढी पार्टी मिलेर अगाडि बढ्ने सङ्कल्प गरेको उनले बताए । उनले देशका विभिन्न स्थानमा भएका एकता सभामा देखिएको सहभागिताले अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । ‘नेपालको इतिहासमा यो पहिलो पटक हो, १६ वटा कम्युनिस्ट पार्टीहरू मिलेर एउटै पार्टीमा केन्द्रित भएको,’ प्रचण्डले भने । प्रचण्डले एमाले भित्रका धेरै नेताहरू एकताका लागि आफूसँग संवादमा रहेको दाबी समेत गरे ।

सुदूरबाट सुरु भएको एकता सन्देश सभा कर्णालीमा आएर अन्तिम भएको उल्लेख गर्दै उनले कर्णालीमा नेकपाले इतिहास रच्ने बताए । ‘साथीहरूले भन्नुभएको छ, सुदूरपश्चिम र कर्णालीमा हाम्रो पार्टी एक नम्बरमा रहने छ । इतिहासको रचना गर्ने छौँ,’ उनले भने ।

कुलमानमाथि खनिए प्रचण्ड

अरू बेला एमाले अध्यक्ष ओलीप्रति कडा रूपमा प्रस्तुत हुने गरेका प्रचण्ड सुर्खेत सभामा भने कुलमान घिसिङप्रति खनिए । उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई ‘बैगुनी’ को संज्ञा समेत दिए ।

आफू प्रधानमन्त्री हुँदा भए/गरेका कामहरूको चर्चा गर्दै उनले लोडसेडिङ अन्त्यको जस कुलमानले मात्र लिन खोजेको र आफूलाई नियुक्त गर्ने नेतृत्वलाई बिर्सेको आरोप लगाए ।

‘दोस्रो पटक प्रधानमन्त्री हुँदा हामीले लोडसेडिङबाट आक्रान्त भएको देशलाई लोडसेडिङ मुक्त नेपाल बनाउने ऐतिहासिक कार्य त हामीले पूरा गरेकै हो,’ प्रचण्डले भने, ‘भलै अहिले कुलमानले कुन विष खाएर, जुन थालमा खायो, त्यसैमा प्वाल पार्न खोजेका छन्, तिनले त्यसो नगरुन्, बुद्धि फिरोस् भन्न चाहन्छु ।’ कुलमानलाई प्राधिकरणमा आफूले नै ल्याएको प्रचण्डको दाबी छ ।

उनले आफ्ना विरुद्धमा नउभिन पनि घिसिङलाई आग्रह गरे । घिसिङ आफ्नो पछाडि बेइमानीका साथ हिँडेर पार नपाउने दाहालको भनाइ छ । ‘तिनले त्यसो नगरुन् भन्न चाहन्छु, उनको बुद्धि फिरोस् । यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन्,’ प्रचण्डले भने ।

सत्तामा हुँदा गर्नुपर्ने काम गरेनौँ, सच्चिन्छौँ 

नेकपाका सहसंयोजक माधवकुमार नेपालले इमानदारहरूको पार्टी नै नेकपा भएको दाबी गरे । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनको भनाइ थियो ।

‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन र साझा भावनामा अगाडि बढ्न सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन,’ सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘त्यसैले हामीले विगतका कमजोरी स्वीकार्दै इमानदार भएर काम गर्ने सोचका साथ पार्टी एकता गरेका हौँ ।’

नेकपाका अर्का नेता वामदेव गौतमले समाजवाद निर्माण गर्न नसके आफूहरू जेलमा कोचिन समेत तयार रहेको बताए । विगतमा आफूहरू पटकपटक सत्तामा हुँदा चाहेर पनि धेरै कुरा गर्न नसकेको भन्दै गौतमले आत्मालोचना गरे ।

 

‘विगतमा म तीन पटक उपप्रधान तथा गृहमन्त्री भएँ । हाम्रा नेताहरूले पटकपटक सरकारको नेतृत्व गर्नुभयो । तर नेपाल विकसित हुन सकेन । त्यसैले म आत्मालोचना गर्छु । सरकारमा रहँदा जति गर्नुपर्ने थियो, हामीले गर्दैनौंं,’ उनले भने ।

सन्देश सभालाई सम्बोधन गर्दै गौतमले भाषण गरेर हिँड्ने मात्रै नभई जनताको घरदैलोमा पुगेर माफी माग्न आफ्नै नेताहरूलाई आग्रह गरे । ‘हाम्रो देशमा अहिले ६४ लाख घर परिवार छन् । घरघरमा गएर माफी माग्नै पर्छ,’ नेता गौतमले भने ।

उनले यो देशको विकास नहुनामा अरू पार्टीका नेताहरू जतिकै नेकपा नेताहरू पनि जिम्मेवार रहेको स्वीकारे । ‘हामी सत्तामा हुँदा भनेअनुसार काम गर्न नसकेकै हो । त्यसप्रति हामी आत्मालोचना गर्दछौँ । तपाईँहरूसँग माफी माग्छौ’ उनले भने, ‘भविष्यमा त्यो गल्ती दोहोर्‍याउने बाचा गर्दछौँ ।’

नेता नारायणकाजी श्रेष्ठले एमाले–कांग्रेसले सुशासन नचाहेकै कारण जेनजी विद्रोह भएको दाबी गरे । उनले जतासँग गरेका सबै वाचा पूरा गर्न नसकेको भन्दै अब आत्मालोचना गरेर अघि बढ्नु पर्ने बताए । त्यसका लागि पार्टीलाई पनि बदलेर जानुपर्ने उनको भनाइ छ ।

रावलको पुरानै राष्ट्रवादी रटान 

नेकपा नेता भीम रावलले भने पुरानै राष्ट्रवादी रटान लगाए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई दलाई लामाले शुभकामना दिँदा स्वतन्त्र स्वाधीन देशको प्रधानमन्त्रीले मुखमा पानी जमाएर बसेको उनको आरोप छ ।

उनले देशको नदीनाला र सम्पदा विदेशीको हातमा बुझाएको भन्दै नेताहरूको आलोचना गरे । अपर कर्णाली जलविद्युत आयोजनाबारे बोल्दै उनले भारतीय कम्पनी जीएमआरको आलोचना गरे । ‘अपर कर्णालीलाई जीएमआरको जिम्मा लगाइयो तर अहिलेसम्म काम भएको छैन । काम नगरी ओगटेर राख्नु भनेको कर्णाली र सुदूरपश्चिमका जनतालाई धोका दिनु हो,’ उनले भने ।

रावलले एमाले अध्यक्ष ओलीको कडा आलोचना गरे । ओलीले जेनजी पुस्ताको आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको आरोप लगाए । ‘सिंहदरबारमा आगो लाग्दा प्रधानमन्त्री को थियो ? देश सङ्कटमा पर्दा वा आगो लागेका बेला हेलिकप्टर चढेर भाग्ने को हो ?’ भन्दै ओलीलाई प्रश्न गरे ।

ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले केपी ओलीहरूले अझै देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने बताए । ‘जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन चर्किएपछि हेलिकप्टरमा भाग्ने ? यो भन्दा लज्जास्पद र शर्मनाक के होला ? अझ म शक्तिशाली हुँ, सबैलाई ठेगान लाउँछु भन्दै हिँड्न सुहाउँछ ?,’ उनले भने ।

अरू कसले के भने ? 

नेकपाले कर्णालीमा सन्देश सभा गर्नुको अर्को खास कारण थियो, माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पार्टी परित्याग । एकता प्रक्रियामा सहभागी नभएका शर्माले छुट्टै पार्टी गठन गरेका छन् ।

कुनै समय शर्माको एकछत्र प्रभाव रहेको कर्णालीमा उनीबिनाको नेकपालाई जसरी पनि शक्तिशाली देखाउनु नेतृत्वका लागि प्रतिष्ठाको विषय थियो । त्यसका लागि वीरेन्द्रनगर आसपासका क्षेत्रबाट समेत सर्वसाधारणलाई बसमा हालेर सभा स्थलसम्म ल्याइएको थियो ।

करिब पाँच घण्टा लामो सभालाई सम्बोधन गरेका नेताहरूले जनार्दनबारे भने बोलेनन् । करिब ३० मिनेट सम्बोधन गरेका प्रचण्डले समेत युद्धका कमान्डर प्रभाकरको नामै लिएनन् ।

पार्टीको अबको बाटो ‘समाजवाद’ भएको नेता झलनाथ खनाल र वामदेव गौतमले बारम्बार दोहोर्‍याए । कुनै बाहिरी मोडलको नभई, नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने र नेकपाको लक्ष्य नै अब त्यही भएको खनालको भनाइ थियो ।

‘पूँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिस्टहरू मिलेर समाजवाद ल्याउनुको विकल्प छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित रूपान्तरण गर्न सकिएको छैन । सबै जनताले गाँस, बास र कपाससहित शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य छ’, पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने ।

नेकपाका नेता प्रकाश ज्वालाले आगामी निर्वाचनमा कर्णालीमा नेकपा पहिलो पार्टी बन्ने दाबी गरे । ‘आगामी निर्वाचनमा कर्णालीमा तारा उदाउने छ । नेकपाको लालकिल्ला कर्णाली हुनेछ । कर्णाली विद्रोहको बिगुल फुक्ने प्रदेश हो,’ उनले भने ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?