News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले महाधिवेशनमा कार्यकर्तालाई प्रवेश नदिइएपछि युवाहरूले नेतृत्व परिवर्तन र पुस्तान्तरण आवश्यक रहेको बताएका छन्।
- युवा संघका सदस्यहरूले केपी शर्मा ओलीलाई वर्तमान नेतृत्वका लागि आवश्यक भनेका छन्।
- युवा नेताहरूले ईश्वर पोखरेललाई नेतृत्वमा आउन दिनुपर्ने र पार्टीमा आचरण परिवर्तन आवश्यक रहेको बताएका छन्।
२९ मंसिर, काठमाडौं । गुल्मीका २३ वर्षीय विष्णु पाण्डे भृकुटीमण्डप परिसर बाहिर छन् । महाधिवेशन प्रतिनिधिबाहेक कार्यकर्तालाई एमाले महाधिवेशनस्थल छिर्न नदिइएपछि उनी बाहिरै बसेर भित्र छिर्दै गरेकासँग अन्तर्क्रिया गरिरहेका छन् ।
‘कमरेडहरूले परिवर्तनको पक्षमा आफ्नो मत राख्नुपर्छ,’ गेटभित्र छिर्दै गरेकासँग गफिँदै उनी भनिरहेका छन् ।
पाण्डेका अनुसार यसपटक एमालेले नेतृत्वमा पुनर्विचार गर्न आवश्यक छ । युवाहरूको भावना समेट्ने र पछिल्लो प्रतिकूल परिस्थिति बुझेर महाधिवेशन प्रतिनिधिले नेतृत्व छान्न आवश्यक रहेको उनले बताए । 
एमालेको भविष्य र आगामी चुनावमा जनतामाझ जाँदा आफूहरूले उनीहरूको भावना बुझेको सन्देश दिनेगरी मत हाल्न महाधिवेशन प्रतिनिधिलाई उनको अनुरोध छ ।
‘बदलिँदो परिस्थितिलाई महाधिवेशन प्रतिनिधिले बुझ्छन् भन्ने विश्वास छ । नेतृत्व परिवर्तन र पुस्तान्तरण आजको मूलभूत आवश्यकता हो,’ पाण्डेले भने ।
०००
ओखलढुंगाकी २३ वर्षीया रमिला नेपाल पनि महाधिवेशन प्रतिनिधिले आफूहरूको अपेक्षा नमार्ने कुरामा विश्वस्त छिन् । तर उनको लागि यसपटक एमाले अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिनु उचित हुन्छ । ओलीको प्यानलले जित्नु नै एमाले र देशको लागि आजको आवश्यकता रहेको उनले बताइन् ।
युवा संघको सचिवालय सदस्यसमेत रहेकी उनी नेतृत्व परिवर्तनको सवालमा अहिले ओली नै एमालेको लागि सही पात्र रहेको दाबी गर्छिन् ।

‘नेतृत्व परिवर्तनभन्दा पनि अहिलेको विषम अपरिस्थिमा ओलीको खाँचो छ । सुखी नेपाली, समृद्ध नेपालको लागि पनि उहाँ चाहिन्छ,’ नेपालले भनिन्, ‘यो कुरा महाधिवेशन प्रतिनिधिले बुझिदिनुहुन्छ भन्ने अपेक्षा छ ।’
अध्यक्षको प्रतिस्पर्धामा रहेका ईश्वर पोखरेल पनि पार्टीको लागि आवश्यक रहेकोले यस पटक भन्दा पनि अर्को पटक आउँदा ठिक हुने उनको तर्क छ । ‘यस पटक त उहाँ प्रस्तावक बनेर ओली अध्यक्ष बने ठिक हुन्छ । अर्को पटक ईश्वर पोखरेल आउनुभयो भने पार्टी र देशको लागि पनि हितकर हुन्छ,’ नेपालले थपिन् ।
०००
२३ वर्षीय मौसम आचार्य नेपाल कमर्स क्याम्पस स्ववियु सदस्य हुन् । उनी नेतृत्वमा पात्रभन्दा पनि नेतृत्वको आचरणमा परिवर्तन आवश्यक रहेको बताउँछन् ।
‘पार्टीमा पुस्तान्तरण र सुदृढीकरणको लागि परिवर्तन आवश्यक छ । तर पदमै मात्र परिवर्तनभन्दा पनि नेताको आचरण परिवर्तन खोजेको हो,’ उनले भने ।
यसको मतलब अहिलेको आवश्यकता ओलीकै रहेको भए पनि ओलीले पनि आचरणमा सुधार गर्नुपर्ने आचार्यले बताए । ‘यस पटक ओलीको विकल्प छैन । तर ओलीका आफ्ना काम, कर्तव्य र बोलीमा परिवर्तन खोज्नुपर्छ,’ उनले थपे ।

ओलीका समस्या औंल्याउँदै आचार्यले उनमा आफूमा मात्र शक्ति केन्द्रित गर्ने र शासन गर्ने प्रवृत्ति छ, त्यो परिवर्तन हुनुपर्ने बताए । आफ्ना वरिपरिका मान्छे हाबी नगराउने गरी समीक्षा गरेर नेतृत्वमा आउनुपर्ने उनको सन्देश छ ।
‘यत्रो आन्दोलन भयो । भनिन्छ, भोगाइबाट चेतना जन्मन्छ । त्यो विषम परिस्थितिबाट गुज्रेपछि आफू हल्लिएको अनुभूति नेतृत्वलाई छ । त्यसैले समीक्षा गरेर आफूलाई सुधारेर अघि बढाउनुहुन्छ भन्ने विश्वास छ,’ आचार्यले भने, ‘र, यो प्रतिकूल अवस्थामा अलि हक्की र आँट भएको नेता उहाँ नै हो । उहाँले समीक्षा गरेर, आफूलाई सुधारेर एकपटक नेतृत्व लिनुपर्छ भन्छु ।’
महाधिवेशन प्रतिनिधिसँग पनि आफूले सोही भावना व्यक्त गरिरहेको उनले बताए ।
०००
भृकुटीमण्डपको राजनीतिक चहलपहलमा सामेल छन्, २६ वर्षीय नितिन पाण्डे । उनी भने नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै लबिइङ गरिरहेका भेटिए ।
‘नेकपा एमालेको युवा जमातले परिवर्तन चाहेको छ । हामी सधैं परिवर्तन खोज्ने युवा हौं,’ उनले भने, ‘यस पटकको महाधिवेशनले प्रवृत्ति र पात्र दुवै परिवर्तन गर्छ भन्ने विश्वास छ ।’

पाण्डेका अनुसार पछिल्लो समय एमालेमा व्यक्तिवादी चरित्र हाबी भएको छ । त्यसैले व्यक्तिवादी परिपाटीबाट अबको महाधिवेशनले विधानबाट चल्ने पार्टी बनाउने गरी नेतृत्व छान्न आवश्यक छ ।
त्यसैले पनि पाण्डे खुलेरै ईश्वर पोखरेलको पक्षमा छन् । दुवैको राजनीतिक इतिहास उत्तिकै बलियो भएकाले अब ईश्वर पोखरेललाई एक्स्पोजर दिन आवश्यक रहेको उनले बताए ।
‘केपी कमरेडले धेरै काम गरिसक्नुभयो । उहाँसग जे-जे छन्, योगदान गर्नुभयो । अब ईश्वर पोखरेललाई एक्स्पोजर दिनुपर्छ,’ उनले भने ।
०००
२५ वर्षीय स्वीकृति सुवेदी पनि नेतृत्व परिवर्तनको पक्षमा छिन् । कास्कीकी उनी यसपटक आफूहरूको भावनाअनुसार महाधिवेशन प्रतिनिधिले निर्णय लिन्छन् भन्नेमा विश्वस्त छिन् ।
‘अब युवालाई नै नेतृत्वमा पुर्याउने समय आयो । तर त्यो भएन,’ उनले भनिन्, ‘अब कोही नहुनुभन्दा विकल्पमा ईश्वर पोखरेल हुनुहुन्छ । म चाहिँ उहाँ नेतृत्वमा आउनुपर्छ भन्छु ।’
ओलीलाई मत नदिन महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरिरहेकी उनी पात्रलाई लिएरभन्दा पनि पार्टी गतिशील बनाउनुपर्ने कारण ईश्वर पोखरेलको पक्षमा रहेको बताउँछिन् ।
‘पात्रको कुराको होइन । अब नयाँ दिशामा पार्टी जानुपर्छ । गतिशील हुनुपर्छ भन्ने मेरो आसय हो,’ उनले भनिन् ।
प्रतिक्रिया 4