+
+
Shares

ओलीका राजनीतिक व्यवस्थापक पराजित

विष्णु रिमाल ओलीका प्रभावकारी व्यवस्थापक त बने, तर पार्टीभित्रको नेटवर्क विस्तारमा भने कमजोर रहेको महाधिवेशन परिणामले देखायो ।

दिनेश गौतम दिनेश गौतम
२०८२ पुष ३ गते २०:१६

३ पुस, काठमाडौं । एमालेको उपमहासचिव पदमा विष्णु रिमाल पराजित भएका छन् । नवौं महाधिवेशनमा सचिवमा हारेपछि दशौं महाधिवेशनमा ओलीको सूचीबाट उपमहासचिव जितेका रिमाल यसपटक पनि उक्त पदमा दोहोरिन खोजेका थिए ।

उनी अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक व्यवस्थापकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका नेता हुन् । अध्यक्ष केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल दोहोरिँदै गर्दा उनी त्यो सेटमा दोहोरिएनन् । उनलाई ओली समूहभित्रैबाटै असहयोग भएको परिणामले देखाएको छ ।

एमालेमा तीन उपमहासचिव पद हुन्छन् । विजयी भएका लेखराज भट्टले १ हजार ४५२, रघुवीर महासेठले १ हजार ३६८ र योगेश भट्टराईले १ हजार ३४८ मत पाए । १ हजार ९१ मत मात्र पाएका रिमाल पराजित भए ।

रिमालको राजनीतिको सबै शक्ति नै केपी ओलीसँग गाँसिएको थियो । उनी ओली चारपटक प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकारको भूमिकामा रहे । सरकार र पार्टी दुवैका रणनीति, कार्ययोजना र संगठनात्मक डिजाइन तयार गर्ने मुख्य जिम्मेवारी उनले आफ्नै वरिपरि केन्द्रित गरेका थिए ।

ओलीका राजनीतिक व्यवस्थापकको रूपमा रहेका उनले पार्टी प्रणालीलाई डिजिटल र टेक्नोमैत्री बनाउने र ओलीको डिजिटल ब्रान्डिङ गर्ने काम गरेका थिए । तर यस्तो काम गरिरहँदा उनको शैलीमाथि पार्टीकै कतिपय नेताहरूले आलोचना गर्थे । ओलीको शक्ति सबै आफूमा केन्द्रित गरेको भन्दै उनी आलोचित पनि थिए ।

बालुवाटारमा रहँदा पार्टीका नेताहरूलाई समेत प्रवेश नदिएको, नेता र कार्यकर्ताबीच दूरी बढाएको आरोप उनीमाथि लाग्ने गरेको थियो । ओलीको निर्णय प्रक्रियालाई अत्यधिक केन्द्रीकृत गर्ने काममा रिमालको पनि संलग्नता हुने गरेको भन्दै उनीमाथि प्रश्न उठ्ने गर्थ्यो ।

२०७८ को दशौं महाधिवेशनमा उनी उपमहासचिवमा निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि उनले वित्त विभाग र निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाले ।

तर, मुख्यत: उनले ओलीका काम गरे । उनी प्रभावकारी व्यवस्थापक त बने, तर पार्टीभित्रको नेटवर्क विस्तारमा भने कमजोर रहेको महाधिवेशनको परिणामले देखायो । महाधिवेशन प्रतिनिधिहरूले उनलाई अनुमोदन नगर्नुले कार्यकर्तासँगको निरन्तर संवाद र विश्वास पनि उत्तिकै आवश्यक हुन्छ भन्ने देखियो ।

नुवाकोटको विदुर नगरपालिका–१२, गौरीवेशी (चारघरे) मा जन्मिएका रिमालको पृष्ठभूमि इन्जिनियरिङ अध्ययनमा जोडिन्छ । २०३५ सालमा प्राथमिक विद्यालय शिक्षकबाट पेसागत यात्रा सुरु गरेका उनले पछि पञ्चायत तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत डिप्लोमा इन्जिनियर (ओभरसियर)का रूपमा धादिङ र काठमाडौं क्षेत्रमा काम गरे ।

पुल्चोक क्याम्पसमा प्रशिक्षण लिँदै गर्दा उनले राज्य, विकास र श्रमबीचको सम्बन्धलाई नजिकबाट बुझ्ने अवसर पाए । यही अनुभवले उनलाई श्रमिक आन्दोलन र ट्रेड युनियन राजनीतितर्फ आकर्षित गरेको थियो ।

२०४२ सालदेखि नेकपा (माले) को जिल्ला कमिटीमा संगठित रिमाल २०४४-४६ मा जिल्ला सचिव बनेका थिए । बहुदलीय व्यवस्था पुनःस्थापनापछिको संक्रमणकालमा उनले काठमाडौं उपत्यका विशेष कमिटीमा जिम्मेवारी पाएका थिए । २०४८ पछि एमाले बनेसँगै उनी निरन्तर केन्द्रीय संरचनामा उक्लिँदै गए ।

छैटौं महाधिवेशनबाट केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य, सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य, आठौं र नवौं महाधिवेशनमा पोलिटब्युरो सदस्य हुँदै उनी पार्टीको उपमहासचिव बनेका थिए ।

रिमालको मूल राजनीतिक कार्यक्षेत्र चाहिँ श्रम र ट्रेड युनियन हो । उनी एमालेको मजदूर संगठन जिफन्टबाट पार्टीको मूलधारको राजनीतिमा जोडिएका नेता हुन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?