News Summary
Generated by OK AI. Editorially reviewed.- जाडो मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायुप्रदूषणको मात्रा बढ्न थालेको छ, जसले बिरामीहरूको संख्या ह्वात्तै बढाएको छ।
- वायु प्रदूषणले श्वासप्रश्वास, मुटु, मस्तिष्क, गर्भवती महिला र बच्चामा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने वरिष्ठ विशेषज्ञहरूले बताएका छन्।
- प्रदूषणको मात्रा बिहान ५ देखि ८ बजेसम्म बढी हुने भएकाले त्यस समयमा मर्निङवाक नगर्न चिकित्सकहरूले सिफारिश गरेका छन्।
हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यस वर्ष पनि मौसम चिसिँदै जाँदा वायुप्रदूषणको मात्रा बढ्न थालेको छ । जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी हुने भएकोले यो तातो हावा जस्तो सहजै उडेर जान सक्दैन ।
चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । अर्को भनेको वायुमण्डलको प्रदूषण पखाल्नका लागि यो मौमसमा हत्तपत्त वर्षा पनि हुँदैन ।
जाडो सुरु भएसँगै प्रदूषण बढ्दै गएको छ, जसले गर्दा बिरामीहरूको संख्या पनि ह्वात्तै बढिरहेको वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘पोहोर साल पनि यस्तै स्थिति थियो, तर अहिले त एक महिनामा नै १० गुणा बढी बिरामीहरू देखिएका छन्’ डा. पंगेनी भन्छन्, ‘पहिले दैनिक ४–५ जना आउँथे भने अहिले इमर्जेन्सीमा ५० जना पुग्न थालेका छन् ।’
यो मौसममा यातायातका साधनबाट आउने धुवाँ, भोज भतेर, बिहे, दाउरा बाल्ने र आगो ताप्ने जस्ता क्रियाकलापहरूले प्रदूषण थप बढाएको छ, विशेष गरी भारतको दिल्ली जस्ता प्रदूषित ठाउँबाट फर्कनेहरूलाई बढी समस्या देखिएको डा.पंगेनीले जानकारी दिए ।
प्रदूषित वायुमा कार्बनमोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण हुन्छन् । जसले मानिस, जनावर र वनस्पतिमा हानिकारक प्रभाव पार्छ ।
वायुप्रदूषणले मानव शरीरको हरेक अंगमा असर पार्छ । तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न प्रकारको स्वास्थ्य समस्या निम्ताउने पंगेनीले बताए । डा.पंगेनीका अनुसार वायु प्रदूषणले सबैभन्दा पहिले त श्वासप्रश्वास प्रणालीका अंगहरू नाक, मुख, घाँटी, श्वासनली र फोक्सोमा असर गर्छ । जसले निमोनिया, दम र फोक्सोको क्यान्सर जस्ता दीर्घकालीन समस्या निम्याउन सक्छ ।

प्रदूषणको कारण तत्कालिक समस्याहरूमा नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, आँखामा संक्रमण हुने, छाला सुख्खा हुने र फोक्सोको संक्रमणहरू देखिने डा.पंगेनी बताउँछन् ।
‘वायु प्रदूषणको मात्रा बढी भएमा त्यसले रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ’ उनी भन्छन्, ‘पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी भएका, दीर्घरोगी जोकोहीलाई पनि वायुप्रदूषणले असर गर्नसक्छ ।’ उनका अनुसार प्रदूषणको असरलाई सयौं खिल्ली चुरोटसँग तुलना गर्न सकिन्छ । किनकि यो श्वास फेर्दा २४ घण्टा नै शरीरमा प्रवेश गर्छ । यसले शरीरको सम्पूर्ण अंगमा असर पुर्याइरहेको हुन्छ ।
द लान्सेट जर्नलमा प्रकाशित १०० भन्दा बढी अध्ययनहरूको विश्लेषणअनुसार, लामो समयसम्म पीएमः२.५ र नाइट्रोजन अक्साइडको सम्पर्कमा रहँदा रक्तनलीमा क्याल्सियम जम्मा हुन्छ, जसले धमनीलाई कडा बनाउँछ । यो अवस्थालाई एथेरोस्क्लेरोसिस भनिन्छ, जसले रगतको प्रवाहमा अवरोध ल्याउँछ ।
वायु प्रदुषणले फोक्सोमा गर्ने असर
वायु प्रदूषणका कारण धुलोका कण र रसायनसहितको हावा हाम्रो फोक्सोमा पुग्ने डा. पंगेनीले जानकारी दिए उनका अनुसार । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले केही हदसम्म ‘फिल्टर’ गर्छ, तर बाँकी प्रदूषण फोक्सोको भित्री भागसम्म पुगेर खोकी, श्वास फेर्न गाह्रो हुने र दीर्घकालीन असरहरू निम्त्याउछ ।
वायुमण्डलमा भएको ग्यास र मसिनो धुलोका कण श्वासनली, फोक्सो हुँदै रक्तसञ्चार प्रणालीसम्म पुग्छ । रक्तसञ्चार प्रणाली हुँदै शरीरको हरेक अंगमा पुग्ने र दीर्घकालीन रूपमा मुटुमा पुगेर मुटुको चाल बढ्ने, हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्ने उनले बताए ।
मुटुमा गर्ने असर
प्रदूषणले रक्तनलीहरूलाई साँघुरो र कडा बनाएर क्षति पुर्याउने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु बताउँछन् । उनका अनुसार यसले शरीरमा रगत स्वतन्त्र रूपमा प्रवाह हुन पाउँदैन । रगत जम्ने सम्भावना बढी हुन्छ । साथै मुटुले रगत पम्प गरेर शरीरका अन्य भागमा पर्याप्त मात्रामा रगत नपाएका कारण रक्तचाप बढ्छ, मुटुको मांसपेशीमा दबाब बढ्छ र मुटुको चाल गडबड हुन्छ । हृदयघात र मुटुरोगको जोखिम पनि बढ्छ
मस्तिष्कमा गर्ने असर
वायुप्रदूषणले शरीरको हरेक अंगमा असर गरेजस्तै मस्तिष्कमा पनि प्रत्यक्ष रूपमा असर गर्ने न्युरोलोजिस्ट डा. सुमन भट्टराई बताउँछन् । ‘प्रदूषणले धमनीहरूलाई कडा बनाउँछ, जसले रगत जम्ने हुन्छ’ डा. भट्टराई भन्छन्, ‘रगत राम्रोसँग मस्तिष्कमा सञ्चालन हुन नपाउँदा मस्तिष्कघात हुने सम्भावना हुन्छ ।’ प्रदूषणले तनाव पनि बढाउने र तनाव बढिरहेमा पनि स्ट्रोक हुने सम्भावना हुने उनको भनाइ छ ।
गर्भवतीमा गर्ने असर
वायुप्रदूषणले गर्भवती महिला र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा गम्भीर असर गर्ने बाल श्वासप्रश्वास तथा सघन रोग विशेषज्ञ डा. जगत जीवन घिमिरे बताउँछन् । प्रदूषणले गर्भमा रहेको बच्चाको विकासमा समेत बाधा पुर्याउँछ । यसले गर्भपतन, समयपूर्व जन्म ‘प्रिम्याच्योर डेलिभरी’ र जन्मजात स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने डा. घिमिरेको भनाइ छ ।
‘प्रदूषणको असर विशेष गरी बच्चाको फोक्सो र मस्तिष्कको विकासमा देखिन्छ’ डा. घिमिरे भन्छन्, ‘गर्भमा रहँदा प्रदूषणको सम्पर्कमा आएमा फोक्सोको विकासमा ढिलाइ हुने, फोक्सोको कार्यक्षमता कमजोर हुने र पछि गएर दम वा श्वासप्रश्वाससम्बन्धी रोगहरू देखिने जोखिम बढ्छ ।’

उनका अनुसार यदि गर्भावस्थामा आमा वायुप्रदूषणको सम्पर्क आएमा मस्तिष्कको विकासमा पनि असर पर्छ । यसको असरले टाउको सानो हुने, अटिज्मजस्ता न्यूरोसम्बन्धी समस्याहरू हुने र अन्य संज्ञानात्मक समस्याहरू निम्त्याउन सक्छ ।
यसबाहेक, प्रदूषणले समय पूर्व जन्मिन र गर्भमै बच्चाको मृत्युको जोखिम पनि बढाउँछ । जन्मेपछि पनि यस्ता बच्चाहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या, एलर्जी र कमजोर स्वास्थ्य अवस्था देखिन सक्ने डा. घिमिरे बताउँछन् ।
आँखामा समस्या
प्रदूषित हावाले आँखामा एलर्जी गराउने, आँखा सुख्खा हुने, पोल्नेजस्ता समस्या देखिने बाल आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठ बताउँछिन् । उनका अनुसार प्रदूषणकै कारण अहिले सबै उमेर समूहमा आँखाको समस्या देखिन्छ ।
प्रदूषणले आँखाको एलर्जी समेत हुन्छ, जसलाई चिकित्सकीय भाषामा एलर्जीका कन्जक्टिभाइटिस भन्ने गरिन्छ । यसका कारण आँखामा संक्रमण बढेर दैनिक काम गर्न समेत नसकिने अवस्था हुन सक्छ । उडिरहेको धुलो आँखाको परेलीमा जमेर बस्ने र त्यसबाट संक्रमण हुने डा. श्रेष्ठ बताउँछिन् ।
छालामा असर
ओजन तह पृथ्वीको वायुमण्डलको पातलो भाग हो, जसले सूर्यको पराबैजनी किरणको अधिकांश मात्रा सोस्छ । तर वातावरण प्रदूषणको कारण त्यो तह पातलिंदै जाँदा त्यस्ता विकिरण पृथ्वीको सतहसम्म आइपुग्छ । यसले छालामा प्रत्यक्ष असर पर्छ । वातावरणमा भएको मसिनो धुलोको कण र रासायनिक प्रदूषणले पनि छालामा असर गर्ने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।
प्रदूषणले छालाको सतह, रौं, छालाको ग्रन्थी र भित्री तहलाई पनि असर गर्छ । जसले छालामा डण्डीफोर, छालाको इन्फेक्सन, छाला जल्ने, दाग धब्बा, चाउरीपन, छाला झोल्लिने, समयभन्दा अगावै बुढो देखिने र छालाको क्यान्सरजस्ता समस्या निम्त्याउन सक्ने डा. पौडेलको भनाइ छ ।
मर्निङ्गवाक जाँदा प्रदूषण झन् असर
जाडोयाम सुरु भएपछि काठमाडौंमा मर्निङवाकमा निस्कन हानिकारक हुन्छ भनिन्छ । काठमाडौं उपत्यका कचौरा जस्तो आकारको भएकोले पनि उहाँ वायुप्रदूषण अत्यधिक हुने विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा प्रातकालीन भ्रमणमा निस्कँदा मुटु, फोक्सो लगायतमा गम्भीर समस्या हुने चिकित्सकहरूको भनाइ छ ।

जाडोयाम सुरु भएसँगै हावाको बहाव कम हुन्छ र चिसो–तातो हावाले एउटा तह बनाउँछ । हावा कम चल्ने र पानी नपर्ने भएकाले जाडो मौसममा त्यो धुलोका कण र प्रदूषण जहाँको त्यहीं रहन्छ । यो मौसममा बिहान ५ देखि ८ बजेसम्मको समयमा प्रदूषणको मात्रा बढी हुने भएकाले त्यसबेला मर्निङवाक नजानु उचित हुन्छ । बिहानभन्दा दिउँसो र साँझ बाहिर निस्कनु उचित हुने छातीरोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् ।
प्रदूषण बढी भएको समयमा मर्निङवाकमा निस्कँदा फोक्सो सम्बन्धी समस्या सामान्य व्यक्तिलाई पनि हुन सक्छ । जाडोमा हिँड्दा छिटो-छिटो सास फेर्ने क्रममा प्रदूषित हावा र हानिकारक धुलोका कणहरू फोक्सोको भित्री तहसम्म पुगेर असर गर्न सक्ने डा. पंगेनीले जानकारी दिए ।
डा. पंगेनीका अनुसार धुलो, धुँवाको मात्रा बढी भएको ठाउँमा जानु भन्दा अलि खुल्ला ठाउँमा जानु उचित हुन्छ । घर वरपर फोहोर जलाउँदा धुँवाको मुस्लो निस्कने गर्छ । त्यसैले फोहोरहरु जलाउनु हुँदैन, त्यसलाई व्यवस्थापन गर्नुपर्छ ।
प्रतिक्रिया 4