३ पुस, काठमाडौं । स्पा र गेस्टहाउसबाट आठ बालिकाको उद्धार गरिएको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं स्पा, गेस्टहाउसहरूबाट विभिन्न मितिमा आठ जना बालिकाहरूको उद्धार गरेको हो ।
उद्दार गरिएका बालिकाहरूलाई सुरक्षित आवासका लागि विभिन्न सेल्टर हाउसमा राखिएको ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए ।
खाजाघर, गेस्टहाउस, स्पाहरूमा बालिकालाई यौनधन्दामा लगाउने गरेको सूचना आएपछि ब्यूरोले अनुसन्धान गरेको थियो ।
सो क्रममा ठमेलमा रहेको गोल्डेन स्पा, चाबहिलमा रहेको फायर लन्च एन्ड क्लब, बौद्धमा रहेको लक्की स्पा, मित्रनगरमा रहेको सुदूरपश्चिम खाजाघर र मित्रनगरमै रहेको खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट आठ नाबालिकाको उद्धार गरिएको एसएसपी पंगेनीले बताए ।
यसका साथै नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
जसमा सिन्धुलीको दूधौली नगरपालिका–१२ कि गीताकुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ का गोविन्द बुढाथोकी, बूढानीलकण्ठ–१३ का हेमन्त श्रेष्ठ, बझाङको छबिसपाथीभेरीका ४२ वर्षीय हरिभक्त गिरी र कैलालीको गौरीगंगा नगरपालिका–६ का भीमबहादुर साउद छन् ।
उनीहरूलाई हिरासतमा राखेर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया 4