News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन फुटबल कन्फेडेरेसनले अखिल नेपाल फुटबल संघलाई २ हजार अमेरिकी डलर जरिवाना तोकेको छ।
- मलेसियासँगको खेलमा ढिलाइ गरेपछि जरिवाना तोकिएको हो।
- एएफसीले निर्णय भएको ३० दिनभित्र उक्त जरिवाना भुक्तानी गर्नुपर्ने उल्लेख गरेको छ।
४ पुस, काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई नियम उल्लंघन गरेको भन्दै जरिवाना सुनाएको छ ।
एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणअन्तर्गत गत नोभेम्बर १८ मा भएको नेपाल र मलेसियाबीचको खेलमा ढिलाइ गरेको आरोपमा एन्फालाई एएफसीले २ हजार अमेरिकी डलर जरिवाना तोकेको हो ।
‘एन्फाका प्रतिनिधिका कारण खेलको पहिलो हाफ १ मिनेट २० सेकेन्ड र दोस्रो हाफ १ मिनेट ३० सेकेन्ड ढिलो सुरु भएको थियो। त्यही कारण २ हजार डलर जरिवाना तोकिएको छ’ एएफसीको डिसिप्लिनरी तथा इथिक्स कमिटीको गत डिसेम्बर १५ मा भएको बैठकपछि गरिएको निर्णयमा भनिएको छ।
एन्फासँगै मलेसियाको फुटबल संघलाई पनि २ हजार ५०० डलर जरिवाना तोकिएको छ । एएफसीले निर्णय भएको ३० दिनभित्र उक्त जरिवाना भुक्तानी गर्नुपर्ने पनि उल्लेख गरेको छ ।
नेपाल मलेसियासँगको उक्त खेलमा १-० ले पराजित भएको थियो ।

प्रतिक्रिया 4