+
+
Shares

के फेसबुकले नेपालमा मनिटाइजेसन हटाएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १४:४९
Listen News
0:00
0:30
🔊

बुधबार नेपालका फेसबुक प्रयोगकर्ताहरुबीच एउटा ठूलै तरंग सिर्जना भयो । गत सेप्टेम्बर महिनादेखि आफ्नो फेसबुक अकाउन्टलाई मनिटाइज गरेर पैसा कमाउने सुविधा प्राप्त गरेका नेपाली फेसबुक प्रयोगकर्ताहरूले बुधबार फेसबुकको ड्यासबोर्डमा एउटा सन्देश प्राप्त गरे ।

आफ्नो फेसबुक अकाउन्ट मनिटाइज भई अपलोड गर्ने कन्टेन्टहरू लगायतबाट पैसा आर्जन गरिरहेकाहरूको मनिटाइजेसन खण्डमा सरकारको अनुरोध वा स्थानीय कानुनी प्रावधानका कारण केही मनिटाइजेसन टुल निष्क्रिय तथा सीमित पारिएको उल्लेख थियो । यो सूचनासँगै धेरै प्रयोगकर्ताले फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा ३ महिनामै मनिटाइजेसन बन्द गरेको अड्कल काटे । तथापि यसको वास्तविकता भने फरक देखिएको छ ।

फेसबुकको कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशहरूको सूचीमा नेपालको नाम अझै पनि यथावत रहेको हुनाले फेसबुकले नेपाली प्रयोगकर्ताका लागि मनिटाइजेसनको सुविधा नहटाएको प्रष्ट हुन्छ ।

वास्तवमा फेसबुकमा मनिटाइजेसका लागि विभिन्न टुलहरू रहेका छन् । व्यावसायिक बाहेकका आम सामान्य प्रयोगकर्ताहरूले फेसबुकमा राखिने भिडियो सामग्रीबाट आउने विज्ञापन अर्थात् In-Stream Ads बापत, फ्यानले पठाउने भर्चुअल स्टारबापत, फ्यानले गर्ने अकाउन्ट सब्सक्रिप्सन अर्थात् Fan Subscriptions बापत तथा हामीले फेसबुकमा राख्ने विभिन्न सामग्रीहरू अरूले हेरेको, प्रतिक्रिया दिएको वा मन पराएको अर्थात् इन्गेजमेन्टको आधारमा पर्फमेन्स आधारित भुक्तानी Performance Bonuses गरी चार प्रकारले पैसा कमाउन सक्दछन् ।

नेपाली प्रयोगकर्ताका लागि यसअघि यी चारवटै मनिटाइजेसन टुल मेटाले उपलब्ध गराएको भए पनि हाल यीमध्ये धेरैका लागि फ्यान सब्सक्रिप्सन टुललाई निष्क्रिय बनाएको देखिएको छ ।

विज्ञहरूका अनुसार नेपालबाट फेसबुक अकाउन्ट सब्सक्रिप्सनबापत गर्नुपर्ने अन्तर्राष्ट्रिय भुक्तानीको असहज हुनुका साथै त्यसलाई सरकारले पनि वैधता नदिएको हुनाले फेसबुकले उक्त फिचरलाई निष्क्रिय बनाएको हुनसक्छ । वास्तवमा यो टुल हालसम्म नेपाली फेसबुक प्रयोगकर्तामाझ खासै उपयोगमा पनि रहेको छैन । यस बाहेक अन्य तीनवटा मनिटाइजेसन टुल भने सक्रिय नै रहेको हुँदा नेपाली प्रयोगकर्ताले फेसबुक मनिटाइजेसनबाट रकम आर्जन निरन्तर रुपमा गर्नसकने देखिन्छ ।

तथापि नेपालको कर नीति, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको असहजता तथा मेटाले नेपालमा सम्पर्क कार्यालय नराखेको जस्ता कारणले गर्दा प्रयोगकर्ताहरूले अन्य टुलबाट भइरहेको मनिटाइजेसनमा पनि बेलाबेलामा समस्या भोग्नु परिरहेको गुनासो आउने गरेको छ ।

फेसबुकले प्रयोगकर्तालाई सरकारको अनुरोध वा स्थानीय कानुनी प्रावधानका कारण मनिटाइजेसका केही टुल निष्क्रिय पारेको बताएको भए पनि यस विषयमा नेपाल सरकारले कुनै प्रतिक्रिया दिएको छैन । साथै नेपालमा कुन टुल किन बन्द गरिएको हो भन्ने बारेमा उसले यकिन बताएको पनि छैन ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?