+
+
Shares

धुरन्धर चोर, जसबाट चोरिए २१ सहकारी

दिनभर सहकारीको रेकी गर्ने, राति १२ देखि २ बजेको अवधिमा सहकारी चोर्ने दीपकको शैली हो । चोरीपछि काठमाडौं, पोखरा जस्ता ठाउँमा घुमघाम गर्ने, मोजमस्ती गरेर रकम उडाउने गरेको प्रहरी बताउँछ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ पुष ४ गते २०:४४
Listen News
0:00
0:30
🔊

४ पुस, काठमाडौं । चुस्स बोकदाह्री भएको ख्याउटे शरीरमा महँगा ब्रान्डेड कपडा । लक्जरियस होटलको बास, घुमफिर र मोजमस्ती । दैनिक फरकफरक युवतीसँग नाइट क्लबमा मस्ती ।

लवाइखवाइ र मोजमस्ती हेर्दा यी व्यक्ति कुनै धनाढ्य परिवारका हुन् भन्ने लख काट्न सकिन्छ । तर सत्य त्यसको ठिक उल्टो छ । उनी न कुनै धनाढ्य परिवारका हुन्, न त आफैं उत्पात कमाउने व्यक्ति नै ।

यसरी मोजमस्तीको जीवनयापन गर्ने ख्याउटे जेनजी हुन् सहकारी चोरीका मोस्ट वान्टेड । जब कुनै सहकारी चोरी हुन्छ, अनि तिनै युवकको तीनपुस्ते पल्टाउन थाल्छ प्रहरीको चोरी शाखा ।

सहकारी चोरी भन्ने बित्तिकै प्रारम्भिक अनुसन्धानमा पर्ने ती जेनजीले चोरेको देखिएन भने बल्ल दोस्रो, तेस्रो विकल्पमा प्रहरीले अनुसन्धान अघि बढाउँछ ।

सहकारी चोरीमा कहलिएका ती कुख्यात युवक हुन् दीपक गजुरेल (२८) ।

एकथरी जेनजीले मुलुकमा भ्रष्टाचार र कुशासन भयो भन्दै विद्रोह गरे । दुई दिनमै निर्वाचित सरकार ढालेर नागरिक सरकार गठन गरे । अहिले देश बनाउने बहस गर्दैछन् ।

तिनै जेनजीले गरेको आन्दोलनको मौकामा अर्का जेनजी दीपक भने सुन्धारा कारागारको चौघेराबाट बेपत्ता भए । अनि काठमाडौंमा मच्चाउन थाले लुटपाट र चोरीको धन्दा । त्यो पनि एक-दुई हजार होइन, एकै पटक १६-१६ लाख ।

सधैं मोजमस्तीमा बिताउने दीपकलाई कारागारको चौघेरा पट्यारलाग्दो हुने नै भयो । कारागारबाट निस्केपछि उनी पुन: मोजमस्तीमै लागे । जेनजी आन्दोलनपछिका तीन महिनासम्म काठमाडौंका सुविधा सम्पन्न होटलमा कोठा लिएर बसे । कहिले ठमेलका गेस्ट हाउस, कहिले गौशाला त रातोपुलका होटल बसे ।

अन्ततः कारागारबाट भागेको तीन महिनापछि २६ मंसिरमा रातोपुलको रोयल च्याम्बर होटलको कोठाबाट समातिए । आफ्नो सूत्र परिचालन गरी प्रहरी च्याम्बर होटलमा बिहान १० बजे पुग्दा उनी एक्लै थिएनन् । सँगै युवती पनि थिइन् । युवतीसँग हुनु उनका लागि त्यो दिनको संयोग मात्र होइन । फरकफरक युवतीसँग होटलमा बस्नु उनको दैनिकी नै हो ।

अनुसन्धानमा खटिएका आधारभूत तहका एक प्रहरी भन्छन्, ‘लुटपाटको एउटै उद्देश्य छ-मोजमस्ती गर्ने, फरकफरक केटी घुमाउने । क्लब जाने ।’

होटलबाट युवतीसहित समातिएका उनको साथबाट प्रहरीले २३ हजार ५०० बरामद गर्‍यो । १६ लाख चोरी भएको भन्दै जाहेरी परे पनि जम्मा साढे २३ हजार मात्रै भेटिएपछि प्रहरी नै चकित परे । बाँकी रकमका बारेमा सोध्दा दीपकले खर्च भइसकेको जवाफ दिए ।

जेनजी आन्दोलनको मौकामा अर्का जेनजी दीपक भने सुन्धारा कारागारको चौघेराबाट बेपत्ता भए । अनि काठमाडौंमा मच्चाउन थाले लुटपाट र चोरी धन्दा । त्यो पनि एक-दुई हजार होइन, एकै पटक १६-१६ लाख ।

प्रहरी, हिरासत र कारागार राम्रोसँग बुझेका उनलाई थाहा थियो- के जवाफ दिने, पैसा कहाँ लुकाउने । प्रहरी अनुसन्धानबारे आफूलाई धुरन्धर जानकार दाबी गर्ने उनीबाट कुरा नफुत्किने पक्का थियो । सँगै होटलमा बसेकी युवतीमार्फत प्रहरीले चाल चल्यो । अनि खुल्यो रकम लुकाएको ठमेलको अर्को कोठा ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ठमेलको एक कोठामा लुकाएको अवस्थामा थप १० लाख बरामद भयो । उनले ठमेलको होटल लोटस ग्रान्डमा रकम लुकाएका थिए ।

त्यो रकम दीपकले सिनामंगलमा रहेको राज श्री फाइनान्सबाट २४ मंसिरको राति १२:४५ बजे चोरी गरेको प्रहरीले बताएको छ ।

नुवाकोटको बेलकोट नगरपालिका-९ घर भएका दीपक पछिल्लो पटक यही सहकारी चोरी आरोपमा समातिएका हुन् । यो सहकारीबाट उनले १६ लाख चोरी गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

दिनभर सहकारीको रेकी गर्ने, राति १२ देखि २ बजेको अवधिमा सहकारी चोर्ने उनको शैली देखिएको छ । अनि चोरी गरेको रकमले काठमाडौं, पोखरा जस्ता ठाउँमा घुमघाम गर्ने, मोजमस्ती गरेर रकम उडाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीले उनीबाट चोरी गर्दा लगाउने कपडा पनि बरामद गरेको छ । चोरी गर्दा लगाइएको हरियो रङको हुडी, चोरी गर्दा नै लगाएको स्पोर्ट लेखेको पञ्जा बरामद भएको छ । सँगै खैरो रङको सन्नी लेखेको झोला, चाँदीका धातु, क्यानन क्यामेरा, नेक्सन लेखेको हार्ड ड्राइभ, डब्लूडी एलिमेन्ट्स लेखेको हार्ड ड्राइभ, रजिस्टर, नागरिकता, बैंकका चेकहरू पनि प्रहरीले बरामद गरेको छ ।

सहकारीका धुरन्धर चोर, जसले चोरे २१ सहकारी

सहकारी चोरीमा अहिले हिरासतमा रहेका दीपक गजुरेलको यो २१औं सहकारी चोरी हो । समग्रमा पक्राउ र मुद्दा चलेको विवरण हर्ने हो भने उनी समातिएको २३औं पटक हो । किनभने, उनी एक पटक अभद्र र एक पटक लागुऔषध कसुरमा समातिएका थिए ।

ताला काट्ने, फोड्ने हातहतियारसहित एक्लै मध्यराति सहकारीमा छिर्ने र चोर्दै हिँड्ने दीपकको यो शैली प्रहरीमाझ परिचित छ । मध्यराति ‘१२ बजेदेखि २ बजेको समयमा एक्लै कोही कसैले सहकारी चोर्छ भने केही नबुझी सोझै दीपकलाई खोज्दा फरक पर्दैन’ भन्ने भनाइ अनुसन्धान अधिकारीहरू माझ निकै चर्चित छ ।

यतिसम्म कि उनले चार महिनाको अवधिमा ७ सहकारीबाट ४३ लाख नगद चोरेका थिए । १३ जेठ २०७८ को राति काठमाडौंको मैतीदेवीस्थित एउटै घरमा रहेका २ वटा सहकारी चोरी भएको थियो ।

त्यतिबेला ज्येष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ नगद तथा मोबाइल तथा ल्यापटप १-१ थान र गौंथली बचत तथा ऋण सहकारी संस्थाबाट नगद २ लाख ५८ हजार रुपैयाँ तथा ९ तोला सुन चोरी भएको थियो ।

चोरीको विषयमा २ वटै सहकारी संस्थाले प्रहरीमा उजुरी दिए। प्रहरीले अनुसन्धान पनि सुरु गर्‍यो । तर चोरीमा संलग्न व्यक्ति भने फेला परेनन् । यसअघि पनि सहकारी चोरी भन्दै प्रहरीमा उजुरी आउने गरेको थियो ।

अनुसन्धान गर्दै जाँदा १२ असार २०७८ मा गौशाला सडकमा हिँड्दै गरेका एक व्यक्ति समातिए । ती व्यक्ति अहिले पक्राउ परेका उनै दीपक गजुरेल थिए । त्यतिबेला उनी २२ वर्षका थिए । उनले बोकेको झोला जाँच गर्दा सिसा काट्ने मेसिनदेखि मास्टर चाबी र केही कपडा भेटिएका थिए ।

अनुसन्धानबाट उनले एकै घरमा रहेका दुई सहकारी मात्रै होइन, चार महिनामा (१५ माघ २०७७ देखि २०७८ जेठसम्म) ७ सहकारीबाट ३ लाख बढी चोरी गरेको खुल्यो ।

प्रहरीका अनुसार उनले बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्थाबाट १५ माघ २०७७ मा ७ लाख २ हजार ६३६ रुपैयाँ चोरी गरेका थिए ।

यो सहकारी चोरी गरेको १ हप्ता पनि नपुग्दै २१ माघ २०७७ मा शंखमुलस्थित घर संसार उपभोक्ता सहकारी संस्थाबाट २ लाख २४ हजार ९५ रुपैयाँ चोरी गरेको आरोपमा मुद्दा चलेको थियो ।

गौशाला मित्रपार्कस्थित पञ्चश्री बचत तथा ऋण सहकारी संस्थाबाट ११ फागुन २०७७ मा १४ लाख ९८ हजार तथा कोटेश्वरको सन्दुक बचत तथा ऋण सहकारी संस्थाबाट ४ चैत २०७७ मा १० लाख १३ हजार ६२५ रुपैयाँ चोरीको कसुरमा मुद्दा चलेको थियो ।

कोटेश्वरमा चोरी गरेको २ महिनापछि १३ जेठ २०७८ मा उनले मैतीदेवीस्थित ज्येष्ठ आइडोलोजी सहकारी संस्थाबाट बाट ५ लाख रुपैयाँ नगद र मोबाइल तथा ल्यापटप १-१ थान र गौंथली बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५८ हजार ५०० रुपैयाँ नगद र ९ तोला सुनको गहना चोरी गरेका थिए ।

यी बाहेक उनले पोखराका सहकारी पनि चोरी गरेको प्रहरीले बताएको छ । सहकारी चोरी कसुरमा कारागार चलान भएका उनी जेनजी आन्दोलनको मौकामा २४ भदौका कारागारबाट भागेका थिए । त्यसपछि उनी काठमाडौंका फरकफरक होटलमा कोठा लिँदै बस्ने र चोरी गर्ने गरेको प्रहरीले बताएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?