News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार नगरपालिका वडा–८ र वडा–९ मा दुई घरमा करिब २० लाख रुपैयाँ बराबर चोरी भएको छ।
- अशोक सिंहको घरबाट साढे चार तोला सुन, ४५ तोला चाँदी र ३५ हजार भारतीय रुपैयाँ चोरी भएको छ।
- प्रहरीले चोरी छतबाट मानिस पसेर भएको प्रारम्भिक अनुसन्धान गरेको र घटनास्थलमा टोली पुगेको जनाएको छ।
४ चैत, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा–८ पुरानो चौक चोहर्वामा दुई जनाको घरमा चोरी भएको छ।
प्रहरीका अनुसार गोलबजार नगरपालिका वडा–९ डन्डा टोलका शिवकुमार महतो र अशोक सिंह (शक्ति) को घरमा गए राति चोरी भएको छ । दुई घरमा गरी करिब २० लाख रुपैयाँ बराबरको चोरी भएको अनुमान गरिएको छ।
सिंह हाल वडा–८ पुरानो चौक चोहर्वामा घर निर्माण गरी फेन्सी पसल सञ्चालन गर्दै आएका थिए । तर, व्यवसाय राम्रो नचल्दा उनले करिब ६ महिनादेखि पसल बन्द गरी गाउँमै बसोबास गर्दै आएका थिए । गाउँमै खेतिपातीमा व्यस्त भएका उनी समय–समयमा बजारको घरमा आएर रेखदेख गर्ने गर्थे । हिजो साँझ पनि उनले घरमा बत्ती बालेर गाउँ फर्किएका थिए। आज दिउँसो करिब ३ बजे घरमा आउँदा ढोका खोलेपछि दराज खुला अवस्थामा देखिएपछि घरमा चोरी भएको थाहा पाएको उनले जानकारी दिए।
उनका अनुसार चोरी गए राति भएको हुन सक्ने अनुमान गरिएको छ। अशोक सिंहको घरबाट करिब साढे चार तोला सुन, ४५ तोला चाँदी, ३५ हजार भारतीय रुपैयाँ (करिब ५५ हजार नेपाली रुपैयाँ) लुटिएको छ। त्यस्तै, शिवकुमार महतोको घरबाट पनि नगद तथा अन्य सामान लुटिएको छ।
दुवै जनाको घरमा केही दिनदेखि कोही नभएको मौका छोपेर चोरी भएको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार दुवै घरमा छतबाट मानिस पसेर चोरी गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4