+
+
Shares

इन्द्रलाल सापकोटा : युवा संघ अध्यक्षमा महेश बस्नेतसँग हारेका थिए, अहिले सचिव गुमाए

अहिले एमाले सचिवमा पराजित भएका इन्द्रलाल २०६६ पुस ११ देखि १३ गतेसम्म सिरहामा भएको युवा संघको सातौं महाधिवेशनमा महेश बस्नेतसँग अध्यक्षमा पराजित भएका थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ पुष ४ गते २१:४५
Listen News
0:00
0:30
🔊

४ पुस, पोखरा । नेकपा एमालेको ११औं महाधिवेशनमा कम चर्चामा आएका सचिव उम्मेदवार हुन्, इन्द्रलाल सापकोटा । जो अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलका ९ जना सचिव उम्मेदवारमध्ये एक थिए ।

बागलुुङका इन्द्रलाल यस्ता व्यक्ति हुन्, जो पार्टीका हरेक आन्दोलन र संकटमा नेकपा एमालेको मूलधारमै बसेर पार्टीभित्र प्रश्न उठाइरहे, नेतृत्वका कमजोरी देखाइरहे । यसपटक पनि उनी जेनजी आन्दोलनको मूल एजेन्डालाई स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए ।

जेनजी पुस्ताले उठाएको सुशासन, नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणको मुद्दालाई एमालेले पनि समीक्षा गर्नुपर्छ भन्ने पक्षमा उनी थिए । पटकपटक सत्ताको तालाचाबी पाएको एमालेले जेनजी आन्दोलनले उठाएका मूलभूत प्रश्नबाट भाग्नु हुँदैन भन्ने नेतामध्ये एक हुन्, इन्द्रलाल ।

उनको विगत पनि प्रश्न गर्दै र रुपान्तरणको एजेन्डा उठाउँदै आएको देखिन्छ । २०५४ सालमा नेता वामदेव गौतमले पार्टी फुटाएर माले बनाउँदा उनले एमाले नै रोजेका थिए । जतिबेला इन्द्रलाल मालिका गाउँ विकास समितिको अध्यक्ष थिए र एमालेको बागलुङ उपसचिव ।

बागलुङमा एमालेबाट निर्वाचित ३४ जना जनप्रतिनिधि हुँदा माले र एमालेमा ५०/५० प्रतिशतका दरले बाँडिएका थिए । इन्द्रलालले एमाले नै रोजेका थिए ।

नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा भित्र चरम संकट हुँदा इन्द्रलाल गण्डकीको सांसद थिए । तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा प्रदेशसभाको रोस्टममा उभिएर त्यसको विपक्षमा आवाज उठाउने एक मात्र एमाले सांसद उनै थिए ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि ओलीको कदमप्रति खुसी थिएनन् तर उनी विरोध गर्ने पक्षमा थिएनन् । नेकपा विभाजनताका एमालेका ‘१० भाइ’ को पक्षमा गण्डकीमा उभिने सांसद उनी एक्ला थिए ।

२०७७ फागुन २३ गते नेकपा विभाजन भएर एमाले र माओवादी छुट्टियो । एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनालहरूले विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी खोले ।

गण्डकीबाट नेपालको पार्टीमा लाग्नेको संख्या शून्य हुँदा इन्द्रलाललाई तत्कालीन ५ दलीय गठबन्धनबाट रोज्जा मन्त्रालय प्रस्ताव पनि आएको थियो । उनले ओलीले गरेको संसद् विघटन गलत थियो भनिरहे तर विभाजन रोजेनन् ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरण हुनुपर्छ, पार्टीभित्र प्रश्नलाई जीवित राख्नुपर्छ भन्ने इन्द्रलाल महाधिवेशनमा कम मत ल्याउने सचिवहरूमध्ये परे ।

पहिले पनि एमाले भित्र गण्डकीमा ओली समूहको सधैं रजगज थियो । ओली समूहबाट नेपाल समूहले सधैं हेपिएको महसुस गर्ने भए पनि धौलागिरिको बागलुङमा भने इन्द्रलालहरूको दबदबा नै थियो । तर उनले विभाजन रोजेनन् र भने, ‘कम्युनिस्ट पार्टी भित्र लोकतन्त्र छ भने नेता फेर्न पनि सकिन्छ र सुधार्न पनि सकिन्छ ।’

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा पार्टी रुपान्तरण हुनुपर्छ, नेतृत्व पनि हस्तान्तरण हुनुपर्छ, पार्टीभित्र प्रश्नलाई जीवित राख्नुपर्छ भन्ने इन्द्रलाल महाधिवेशनमा भने कम मत ल्याउने सचिवहरूमध्ये परे ।

‘हारिन्छ भन्ने थाहा थियो, अप्ठेरोमा छौं भन्ने पनि थाहा थियो । फेरि पनि सम्झौता गरेर सबैभन्दा बढी राष्ट्रवादी तिमी हौ, सबैभन्दा जान्ने तिमी हौ ‘बा’ भनेर भनेको भए एक थान केन्द्रीय सदस्य इन्द्रलालहरूलाई आउँथ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो भन्न सकिएन र जसलाई बनाउने हो केन्द्रीय सदस्य बनाऊ ‘बा’ भनेर हाँसिहाँसी फरक मत राखेको हो । परिवर्तनको विचार बोकेको हो ।’

एमालेको राजनीतिमा यो उनको दोस्रो हार हो । यसअघि उनले २०६६ पुस ११ देखि १३ गतेसम्म सिरहामा भएको युवा संघको सातौं महाधिवेशनमा महेश बस्नेतसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

अजम्बर राई काङमाङ युवा संघको अध्यक्ष हुँदा महासचिव भएर काम गरेका इन्द्रलाल र वाईसीएलसँग जुध्न ओलीको पक्षबाट बनाइएको युथ फोर्सका कमान्डर बस्नेतबीच प्रतिस्पर्धा भएको थियो । बस्नेतलाई ओली र माधवले समेत साथ दिएका थिए भने इन्द्रलाललाई तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालको साथ थियो ।

बस्नेतसँग झन्डै १०० मतले पराजित भएका इन्द्रलाल अहिले सचिवमा त हारे नै केन्द्रीय सदस्यमा समेत गुमाए । ओलीसँग सम्झौता गरेको भए केन्द्रीय सदस्य हुन केही समस्या नहुने बताउँदै उनले फरक विचार र परिवर्तनको प्रश्न उठाएर हार्दा मजा नै भएको बताए ।

यत्रो आन्दोलन र परिवर्तनको आवाज उठ्दाउठ्दै पनि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म ओलीकै दबदबा हुनुलाई इन्द्रलालले कसरी हेरेका छन् त ?

‘फरक मतको झण्डा बोक्न पाइँदैन, नेतृत्वलाई प्रश्न गर्नै पाइँदैन भन्ने स्पष्ट छैन र ? कम्युनिस्ट पार्टी लोकतान्त्रिक हो भने फरक विचार बोक्नेहरूको पनि आवश्यकता छ भन्ने महसुस गर्नुपर्छ कि पर्दैन ?,’ उनको तर्क छ, ‘इन्द्रलालहरूले गरेको अपराध त के हो र ? केपी कमरेड तपाइँले पार्टी सञ्चालन गरेको शैली, प्रक्रिया ठिक भएन भनेको न हो ।’

एमाले, कांग्रेस, माओवादीमा शीर्ष नेताहरू पटकपटक नीति निर्माणमा बसे, उनीहरूको औचित्य समाप्त भयो भन्ने जेनजी आन्दोलनको मूल मर्मलाई आफूहरूले आत्मसात गरेको उनी बताउँछन् ।

अहिले एमालेभित्र केपी ओली र उनकै समूहलाई महाधिवेशनले अनुमोदन गरे पनि परीक्षा आउँदो चुनावले लिने उनको भनाइ छ । अहिले कब्जा गरे जस्तो आउँदो चुनाव कब्जा गर्न नसकिने र परिवर्तनको माग नबुझ्ने पार्टीले मुलुकको हित गर्न नसक्ने उनको जिकिर छ ।

इन्द्रलाल गण्डकीको भूगोलको राजनीतिमा पृथ्वीसुब्बा गुरुङ पक्षधर नेता हुन् । पृथ्वीसुब्बा ओलीकै कित्तामा उभिएर लोकप्रिय मतका साथ उपाध्यक्ष जित्दा उनले भने कमजोर मत प्राप्त गरे ।

‘हारेर बोल्यो भन्ने होला । तर विचारको झण्डा उठाउनैपर्थ्यो, हामीले उठाएको विचार सत्यको पक्षमा थियो । हेर्दै जानुहोला आन्दोलनले त्यही जाहेर गर्छ । अहिले पार्टी त कब्जा गर्नुहोला तर फागुन २१ पनि आउला, सरेछ भने केही समयपछि चुनाव आउला, त्यो बेला पनि कब्जा गर्नुपर्ने होला,’ इन्द्रलालले भने, ‘यथास्थितिमा जान हुन्छ, देश जान्छ भन्ने निष्कर्षमा म छैन ।’

इन्द्रलाल गण्डकीको भूगोलको राजनीतिमा पृथ्वीसुब्बा गुरुङ पक्षधर नेता हुन् । पृथ्वीसुब्बा ओलीकै कित्तामा उभिएर लोकप्रिय मतका साथ उपाध्यक्ष जित्दा उनले भने कमजोर मत प्राप्त गरे ।

इन्द्रलाल गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बालाई समेत सचेत गराउने नेता थिए । नेकपा विभाजनपछि पृथ्वीसुब्बाले पनि सरकारलाई टिकाउन प्रदेश प्रमुखसँग मिलेर तत्कालीन संघीय समाजवादी पार्टी भित्र खेलेर टिक्न खोजेको आरोप थियो । तर इन्द्रलालले अल्पमतमा हुँदाहुँदै त्यसो गरे आफूहरूले साथ दिन नसक्ने टेलिफोनमार्फत बताएपछि पृथ्वीसुब्बा पनि पछि हटेको एमालेकै नेताहरू बताउँथे ।

उनले पृथ्वीसुब्बालाई सधैं साथ दिइरहे । यसपटक पनि उनलाई महासचिव बनाउने गरी इन्द्रलालले कसरत गरेका थिए तर ओलीले दिएको उपाध्यक्षमै पृथ्वीसुब्बाले चित्त बुझाए ।

एमालेको जिल्ला सचिव प्रमुख हुने प्रणाली हुँदा बागलुङको नेतृत्व गरेका उनले जनआन्दोलन २०६२/०६३ मा पनि नेतृत्वदायी भूमिका खेलेका थिए । अध्यक्ष प्रणालीमा गएपछि निर्वाचनमार्फत उनी नै अध्यक्ष चुनिएका थिए भने नेकपा हुँदा पनि उनले नै बागलुङको नेतृत्व गरेका थिए ।

२०४२ सालदेखि विद्यार्थी आन्दोलनमार्फत राजनीतिक यात्रा थालेका इन्द्रलाल २०४४ सालमा राज्यविरुद्धको कसुरमा हिरासतमा परे । २०५२ सालमा युवा संघको जिल्ला कोषाध्यक्ष हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै केन्द्रीय सदस्यसम्म भएका उनी अब भने एमालेप्रति खासै उत्साही सुनिएनन् ।

उनले ओली र उनकै समूहलाई मात्र महाधिवेशनले अनुमोदन गरेर प्रश्नलाई निषेध गर्ने काम भएको महसुस गरेका छन् । ‘यो मैले हारें भनेर होइन, म कमजोर नै थिएँ हुँला । मुख्य कुरा पार्टीले परिवर्तनको मागलाई महसुस गर्‍यो कि गरेन भन्ने हो,’ उनको तर्क छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?