+
+
Shares
सरकारका १०० दिन :

तहसनहस प्रहरी संगठन लयमा फर्किँदै

जेनजी आन्दोलनमा ध्वंश बनाइएका प्रहरी कार्यालयहरू अधिकांशजसो सञ्चालनमा आएका छन् । धेरै प्रहरी कार्यालय स्थानीय समुदायदेखि विभिन्न संघसंस्थाको सहयोगमा निर्माण भएका छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ पुष ६ गते ११:५६
प्रहरी प्रभाग कोटेश्वरको भवन
Listen News
0:00
0:30
🔊

६ पुस, काठमाडौं । गत २३ र २४ भदौको जेनजी आन्दोलनमा सबैभन्दा बढी क्षति बेहोर्ने संगठन हो, नेपाल प्रहरी । आन्दोलनका क्रममा फ्रन्टलाइनरको रूपमा खटिने प्रहरीमाथि आक्रमणदेखि कार्यालय जलाउने र तोडफोड गर्नेसम्मका घटना भए ।

आन्दोलनमा एक असई, सहायक हवल्दार र जवान गरी तीन जना प्रहरी मारिए । सँगै, ठूलो मात्रामा भौतिक क्षति भयो ।

काठमाडौं उपत्यकामा रहेका १८ वटा प्रहरी वृत्तमध्ये १७ वटा खरानी भए । उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भयो ।

देशभर करिब ५०० प्रहरी कार्यालय आन्दोलनकारीको निसानामा परे । प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भयो । सवारी साधनमा ५४ करोडको क्षति भयो । ४९४ सवारी साधन पूर्ण र ५७ आंशिक गरी कूल ५५१ सवारी साधनमा क्षति भयो ।

यो बाहेक प्रहरीका व्यक्तिगत सरसामान र सवारीमा पनि ठूलो क्षति भयो । ९८ हजार राउन्ड गोली गायब भए । प्रहरीका बर्दी लुटिए, हतियार खोसिए, कुटिए, मारिए, केहीले आत्मसमर्पण गरेर ज्यान बचाए ।

यी सबै घटनाक्रमले जेनजी आन्दोलनमा प्रहरी थिलोथिलो बनेको प्रष्ट हुन्छ । भौतिक क्षति एकातिर छ, अर्कोतिर यो घटनाले प्रहरीको मनोबलसमेत गिरेको थियो । कतिसम्म भने, बर्दी र बुट बिनै ट्राफिक प्रहरीले ड्युटी गर्नुपरेको थियो ।

यस्ता घटनाक्रमले आगामी दिनमा सुरक्षा चुनौती थपिनुका साथै प्रहरीले कसरी, कुन मनोबलले काम गर्छ भन्ने प्रश्न तेर्सिएको थियो । आम नागरिक त्रासको अवस्थामा थिए । घर-टोलमा लुटपाट, चोरी हुँदासमेत प्रहरी पुग्न सक्ने अवस्था थिएन ।

यिनै चुनौतीका बीच जेनजीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए । गृहमन्त्रीको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिइयो ।

त्यतिबेला सुरक्षा अवस्था नाजुक र चिन्ताजनक थियो । त्यसबेलाको घटनाबारे एक सुरक्षा प्रमुख सम्झन्छन्, ‘२३ गतेसम्म देशको आन्तरिक सुरक्षाको चुनौती थियो । तर २४ गतेको घटनापछि आन्तरिक चुनौतीसँगै बाह्य चुनौती पनि थपियो । व्यवस्था नै के हुने भन्नेसम्मको चुनौती थियो ।’

प्रहरीकै कमान्ड गर्ने तालुक गृह मन्त्रालयको मुख्य जिम्मेवारी नै भौतिक संरचनाको पुनर्निर्माणदेखि लत्ताकपडा, बन्दोबस्तीका सरसामान र हातहतियारयुक्त प्रहरी बनाउनुपर्ने थियो । यसमा जतिसक्दो चाँडो काम भएको देखिन्छ ।

त्यतिबेला ध्वंश बनाइएका प्रहरी कार्यालयहरू अहिले अधिकांशजसो सञ्चालनमा आएका छन् । धेरै प्रहरी कार्यालयहरू स्थानीय समुदायदेखि विभिन्न संघसंस्थाको सहयोगमा निर्माण भएका छन् । प्रहरीलाई सवारी साधनदेखि लत्ता कपडाहरू पनि सहयोग भएको छ ।

एमालेको एघारौँ महाधिवेशनको सुरक्षामा खटिएका प्रहरी

हरेकजसो आन्दोलनको पहिलो निशानामा प्रहरी संगठन पर्दै आए पनि त्यसपछिको उपलब्धि वा सम्झौतामा भने प्रहरीका समस्या गौण बन्ने गरेको गुनासो हुँदै आएका छन् ।

जेनजी आन्दोलनपछि जेनजी समूहदेखि नेकपा एमालेका कार्यकर्ताबीच हुनसक्ने झडपको अवस्थासमेत आएको थियो । तर यी घटनामा प्रहरीले निकै सुझबुझले काम गरेर त्यसलाई निराकरण गर्न सफल भयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितका व्यक्तिविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी पर्‍यो । जेनजी अगुवाले जसरी पनि तत्कालै ओली-लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखे । यसले प्रहरीमाथि प्रेसर पनि बढायो ।

अर्कोतर्फ, एमालेका कार्यकर्ताहरूले जेनजी अगुवा सुधन गुरुङदेखि काठमाडौंका मेयर बालेन शाहलगायत विरुद्ध जाहेरी दिए । जहाँ सुधन, बालेनलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखियो ।

जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शन

दुवैतर्फका काउन्टर जाहेरीले द्वन्द्वको अवस्था सिर्जना गरेको थियो । तर यो घटनामा प्रहरीले निकै सुझबुझ ढंगबाट हल गर्‍यो । दुवैतर्फका जाहेरीलाई तामेलीमा राखेपछि अवस्था साम्य भयो । यो घटनामा प्रहरी सफल भएको देखियो ।

सधैंजसो विवाद बन्ने प्रहरीको आईजी बढुवा भने यो पटक विवादरहित भयो । पहिलो बरियताका एआईजी दानबहादुर कार्कीलाई सरकारले आईजी बनाएपछि राजीनामा दिने, सर्वोच्च जानेसम्मको अवस्था यो पटक आएन ।

जेनजी आन्दोलनपछि पनि जेनजी र एमालेका कार्यकर्ताबीच नोकझोक र झडप हुने अवस्था थियो । त्यो अवस्था पनि निर्मूल पार्न प्रहरी सफल भयो ।

यसैबीचमा करिब एक महिनापछि कीर्तिपुरमा नेपाल प्रिमियर लिग सम्पन्न भयो । सुरक्षा त्रुटिबिनै लिग सफल भयो । यसले सुरक्षामा प्रहरी पुरानै अवस्थामा फर्केको भन्ने सन्देश दिन सफल भयो ।

एनपीएल सुरक्षामा परिचालित प्रहरीहरु

७ मंसिरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशभर आन्दोलन र हड्ताल गर्ने घोषणा गरेका थिए । सोहीअनुसार उनले प्रचारप्रसार र तयारी पनि गरेका थिए ।

पूर्ववर्ती सरकार तथा सुरक्षा संयन्त्रले यसअघि जेनजीले घोषणा गरेको आन्दोलनलाई नजरअन्दाज गर्दा ठूलो क्षति भएको थियो ।

सुरक्षा निकाय थिलथिलो भएको अवस्थामा प्रसाईं समूहले गरेको आन्दोलन घोषणा अर्को चुनौतीको रूपमा हेरिएको थियो । जसरी चन्द्रकुवेर खापुङले कमान्ड सम्हालेर खादामाला लगाउँदालगाउँदै जेनजीले आन्दोलन गरेका थिए, त्यस्तै परिस्थितिमा दानबहादुर कार्कीले आईजीपीको बधाई थाप्दै गर्दा प्रसाईंले आन्दोलनको दिन जुराएका थिए ।

तर, सरकार र सुरक्षा संयन्त्रको चलाखीका कारण प्रसाईंको ७ मंसिरको आन्दोलन तुहियो । यदि प्रसाईंले आन्दोलन गरेको भए अर्को ठूलो सुरक्षा चुनौती हुने आकलन सुरक्षा निकायको थियो । त्यसअघि नै प्रसाईं पक्राउ परे ।

अहिले प्रसाईं समूहलाई आन्दोलन छाडेर छलफलमा आउन सरकारले बोलाइरहेको छ ।

जेनजी आन्दोलनमा ७७ जना मारिए । ठूलो भौतिक क्षति भयो । सर्वोच्च अदातलतदेखि, सिंहदरबार, जिल्ला अदालतहरू, महान्यायाधिवक्ता कार्यालय, सरकारी भवनहरू, भाटभटेनी सुपरमार्केट, नेताका घरहरू जलाइए । गाडीहरू नष्ट गरियो ।

अब यी दुवैतर्फको घटना छानबिन गरेर कारबाही गर्नुपर्ने चुनौती थियो । २४ भदौको आगजनी र तोडफोडमा संलग्नहरूको पहिचान गरेर अहिले प्रहरीले धमाधम कारबाही गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार देशभरबाट अहिलेसम्म ८६० जना पक्राउ परिसकेका छन् ।

 

 

यहीबीचमा २७ मंसिरदेखि नेकपा एमालेको ११औं महाधिवेशन काठमाडौंमा सुरु भयो । भक्तपुरमा उद्घाटन भएर सुरु भएको यो महाधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले महत्वपूर्ण भूमिका निभायो । तहसनहस भएको छोटो समयमै प्रहरीले लयमा फर्किँदै गरेका यी घटनाहरूले सन्देश दिएको छ ।

पूर्वएआईजी रविराज थापा सरकारले जुन हिसाबले प्रहरीको मनोबल फर्काउन र लयमा ल्याउन काम गर्नुपर्ने हो त्यसरी भने काम गर्न नसकेको बताउँछन् ।

प्रहरी आफ्नै बुताले लयमा फर्किँदैछ । अहिले प्रहरी जीउ-ज्यानको बाजी राखेर ड्युटीमा खटिएका छन् । उनीहरूको समस्या कसले सोचेको होला ? त्यसलाई कमान्ड गर्छु भन्ने माथिल्लो लेभलका मान्छेले कसरी सोचेका होलान् ? जुन रूपमा सरकारले काम गर्नुपर्थ्यो त्यो देखिँदैन,’ एआईजी थापा भन्छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?