+
+
Shares

सामाजिक सञ्जालमा हाम्रो रुचिको ‘कन्टेन्ट’ मात्र किन बढी आउँछ ?

समग्रमा, सोसल मिडिया हाम्रो जीवनको हिस्सा हो, तर यसको एल्गोरिदमले हामीलाई नियन्त्रण गर्न नदिनु नै बुद्धिमानी हुन्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ पुष ६ गते २०:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्ताको रुचि र व्यवहार अनुसार सामग्री देखाउँछन्, जसलाई फिल्टर बबल भनिन्छ र यसले जानकारीको दायरा सीमित गर्छ।
  • एको चेम्बर प्रभावमा मानिसहरू समान विचार भएका समूहसँग मात्र जोडिन्छन्, जसले राजनीतिक ध्रुवीकरण र सामाजिक सहिष्णुता घटाउँछ।
  • केही एपहरूले माइक्रोफोनबाट आवाज सुनेर विज्ञापन देखाउने दाबी गरेका छन्, तर ठूला कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन् भने सुरक्षा कमजोरीले यस्तो सम्भावना देखिन्छ।

मानौं तपाईं खानाको पारखी हुनुहुन्छ । ठोकुवा गरेर भन्न सकिन्छ, तपाईंको फेसबुक वा टिकटकमा खानाकै भिडियो मात्र बढी आउँछ । तपाईं फेसनमा रुचि राख्नुहुन्छ । पक्कै पनि तपाईंले प्रयोग गर्ने सामाजिक सञ्जालमा पहिरनका कुराहरू बढी आउँछ ।

तपाईं खेलकुदमा लगाव राख्नुहुन्छ भने सामाजिक सञ्जालमा खेलकुदै सामाग्री बढी आउँछ । तपाईं यात्रामा रमाउने हुनुहुन्छ भने तपाईंको सामाजिक सञ्जालमा यात्राकै सामाग्री बढी आउँछ । तपाईंलाई त यस्तो लाग्नसक्छ कि, यो दुनियाँमा तपाईंको रुचि अनुरुपको कुरा मात्र छ ।

कोही भूतप्रेतमा विश्वास गर्छन् भने उनीहरूलाई दुनियाँमा भूतप्रेत छ्यापछ्याप्ती छ जस्तो लाग्न सक्छ । किनभने उनीहरूको फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा त्यस्तै मात्र सामाग्री देखापर्छ । आखिर किन यस्तो हुन्छ ? सामान्य प्रयोगकर्तालाई यसबारे खास हेक्का भएको पाइँदैन ।

सोसल मिडिया प्लेटफर्महरू जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब र एक्समा स्क्रोल गर्दा प्रायः आफूले मन पराउने, खोज्ने वा पहिले हेरेका सामाग्रीहरू मात्र देखिन्छन् । यो कुनै संयोग होइन, बरू एल्गोरिदमको डिजाइन र प्लेटफर्महरूको व्यावसायिक रणनीतिको परिणाम हो । यसले जानकारीको दायरालाई सीमित बनाउँछ र विविध विचारहरूबाट टाढा राख्छ । यस प्रभावलाई मुख्य रूपमा ‘फिल्टर बबल’ र ‘एको चेम्बर’ भनिन्छ ।

सबभन्दा पहिले, फिल्टर बबलको कुरा गरौं । यो शब्द सन् २०११ मा इन्टरनेट एक्टिभिस्ट इलाइ पारिसरले आफ्नो पुस्तक ‘द फिल्टर बबलः ह्वाट द इन्टरनेट इज हाइडिङ फ्रम यु’ मा प्रस्तुत गरेका थिए । पारिसरका अनुसार, इन्टरनेट कम्पनीहरूले व्यक्तिगत एल्गोरिदम प्रयोग गरेर हाम्रो अघिल्लो व्यवहार जस्तै- लाइक, शेयर, सर्च हिस्ट्री, हेरेको समय, क्लिकहरू र यहाँसम्म कि लोकेशनका आधारमा सामाग्री छान्छन् ।

उदाहरणका लागि, यदि कसैले स्वास्थ्य सम्बन्धी सामाग्री बढी हेर्यो भने एल्गोरिदमले त्यस्तै सामाग्री मात्र देखाउँछ । यसले हामीलाई ‘व्यक्तिगत जानकारीको बबल’ मा कैद गर्छ, जहाँ फरक दृष्टिकोणहरू प्रवेश गर्दैनन् । एल्गोरिदमको मुख्य उद्देश्य प्रयोगकर्तालाई प्लेटफर्ममा लामो समय राख्नु हो, किनकि बढी समय भनेको बढी विज्ञापन प्रदर्शन र कम्पनीहरूका लागि बढी कमाइ हो ।

एक अध्ययन अनुसार, फेसबुकको एल्गोरिदमले फिल्टर बबल प्रभावलाई २०१५ मा नै मजबुत बनाएको थियो, जसले प्रयोगकर्ताको सामाग्री उपभोगलाई ५० प्रतिशतसम्म सीमित बनाएको पाइयो । यसको प्रभावलाई अस्वीकार गर्ने अध्ययनहरू पनि छन्, जस्तै २०२१ को एक अनुसन्धानले फिल्टर बबलको अस्तित्वलाई न्यून प्रभावकारी भनेको छ, तर यसले सामान्यतया सामाजिक ध्रुवीकरण बढाउने कुरालाई भने अस्वीकार गर्दैन ।

दोस्रो, एको चेम्बर । यो फिल्टर बबलभन्दा अलि फरक छ, किनकि यसमा हामी आफैं समान विचार भएका मानिसहरूसँग मात्र जोडिन्छौं । हामीले फलो गर्नेहरू, हामी जोडिने ग्रुपहरू वा कमेन्ट गर्नेहरू प्रायः हाम्रै जस्तै सोचका हुन्छन् । यसले हाम्रो विचारलाई बारम्बार दोहोर्‍याएर मजबुत बनाउँछ, जसलाई निश्चितीकरण पूर्वाग्रह भनिन्छ ।

२०२१ को ‘पिएनएएस’ जर्नलमा प्रकाशित अध्ययन अनुसार, सोसल मिडिया प्लेटफर्महरू जस्तै फेसबुक, ट्विटर र इन्स्टाग्राममा एको चेम्बरले जानकारी फैलावटलाई प्रभावित गर्छ, जसले राजनीतिक ध्रुवीकरण बढाउँछ । उदाहरणका लागि, रेन्सेलियर इन्स्टिच्युटको २०२४ को अध्ययनले प्रयोगकर्ताहरू लोकप्रिय मतलाई प्राथमिकता दिन्छन् र विपक्षी विचारहरूबाट टाढा रहन्छन् भन्ने कुरा देखाएको छ । जसले सामाजिक सञ्जालमा एको चेम्बरलाई मजबुत बनाउँछ ।

अध्ययनहरूका अनुसार, फेसबुक र एक्स जस्ता प्लेटफर्ममा यो प्रभाव बढी देखिन्छ, किनकि एल्गोरिदमले इंगेजमेन्ट लाइक, कमेन्ट, शेयर बढाउने सामाग्रीलाई प्राथमिकता दिन्छ। भावनात्मक वा विवादास्पद सामाग्रीले बढी इंगेजमेन्ट पाउँछ, त्यसैले यस्ता पोस्टहरू बढी देखिन्छन् । मिशिगन स्टेट युनिभर्सिटीको २०२५ को अध्ययनले ग्रामीण क्षेत्रका प्रयोगकर्ताहरूमा एको चेम्बरले सामाजिक सहिष्णुता घटाउने र नेटवर्क विविधता कम गर्ने देखाएको छ ।

के डिभाइसले बोलेको कुरा पनि ट्र्याक गर्छ ?

आफ्नो साथीभाइहरूसँग कुराकानी गरिरहनु भएको छ । यसबेला फोन, ल्यापटप खुल्लै राखिरहनुभएको छ भने केही बेरमा सोसल मिडिया चलाउँदा सोही कुराको विज्ञापन अथवा कुनै पनि कन्टेन्ट आफ्नो डिभाइसमा देख्नुहुन्छ । त्यस्तो देखेर कतै डिभाइसले आफ्नो आवाज त सुनिरहेको छैन भनेर सोच्न सकिन्छ । तर, के साँच्चै यस्तो हुन्छ त ?

गुगल, फेसबुक, एप्पल जस्ता प्रविधिका ठूला कम्पनीहरू यस्तो दाबी अस्वीकार गर्छन् । बरू उनीहरूले बारम्बार माइक्रोफोनबाट सामान्य कुराकानी सुनेर विज्ञापन टार्गेट नगर्ने बताइरहन्छन् । तर, दैनिक जीवनमा यी कम्पनीहरूले नै तयार गरेका सफ्टवेयर अथवा एप बढी मात्रामा प्रयोग गर्छौं । यद्यपि केही थर्ड पार्टी एपहरूले भने यसरी आवाज सुनेर त्यही अनुसारको विज्ञापन देखाउन सक्ने विज्ञहरू बताउँछन्।

साइबर सुरक्षा विज्ञ एवं भैरव टेक्नोलोजीका प्रमुख विजय लिम्बु सेनिहाङका अनुसार वेबसाइटहरूमा कुकीहरू स्वीकार गरेर सहमति लिएपछि ब्राउजर वा उपकरणका क्रियाकलापहरू ट्र्याक गरी एल्गोरिदमले सम्बन्धित विज्ञापन देखाउँछ, जुन सामान्य प्रक्रिया हो । तर मोबाइल एपहरू, विशेष गरी एन्ड्रोइड उपकरणहरूमा सुरक्षा कमजोरीका कारण माइक्रोफोन साइलेन्ट रूपमा ट्याप हुन सक्छ ।

केही प्लेटफर्महरूले यसलाई अस्वीकार गरे पनि अनुसन्धानकर्ताहरूले यसबारे केही तथ्य प्रमाणित गरेका छन् । ‘एपहरूले आवाज रेकर्ड गरी मुख्य रूपमा अंग्रेजी शब्दहरू ट्र्याक गर्छन् र विज्ञापन लाइब्रेरीसँग मिलाउँछन्, मिलेमा सम्बन्धित विज्ञापन देखाउँछन् ’ लिम्बु भन्छन् ।

जस्तो, २०२४ मा कक्स मिडिया ग्रुप नामक मार्केटिङ कम्पनीले डिभाइसमार्फत प्रयोगकर्ताको आवाज सुनेर सोही अनुसारको विज्ञापन देखाउने दाबी गरेको थियो । यसलाई ‘एक्टिभ लिसनिङ’ टेक्नोलोजी भनिन्छ, जसमा माइक्रोफोनबाट डेटा लिने र त्यसका आधारमा फिडमा कन्टेन्ट देखाउने हुन्छ । कम्पनीले आफ्नो पिच डेकमा स्मार्टफोन बाट कुराकानी सुनेर विज्ञापन टार्गेट गर्ने दाबी गरेको थियो, जसले गोपनीयताको चिन्ता बढाएको थियो ।

लिम्बुका अनुसार एल्गोरिदमका कारण हामीलाई त्यस्तो कन्टेन्ट आएको हुन सक्छ । किनकि हाम्रो रूचिको कन्टेन्ट देखाउन सामाजिक सञ्जाल कम्पनीहरूले ठूलो मात्रामा डेटा ट्र्याकिङ जस्तै लोकेशन, सर्च हिस्ट्री, ब्राउजिङ, उमेर, लिङ्गबारे जानकारी लिइरहेका हुन्छन् । आजकल एल्गोरिदम यति सटिक हुन्छ कि, यी आधारहरूबाट हाम्रोबारे सही अनुमान लगाउन सक्छन्, जुन हामीलाई संयोगजस्तो लाग्न सक्छ । यसबाट बच्न माइक्रोफोन एक्सेस अथवा पर्सनलाइज्ड एड्स बन्द गर्न सकिन्छ ।

यी दुवैको संयोजनले के हुन्छ ?

यी दुवैको संयोजनले हाम्रो सोचाएको दायरा साँघुरो हुन्छ । संसारमा सबैले मैले जस्तै सोच्छने जस्तो लाग्न सक्छ । उदाहरणका लागि, सन् २०१६ को अमेरिकी चुनावमा फिल्टर बबल र एको चेम्बरले फेक न्युज र गलत जानकारी फैलाउन मद्दत गरेको अध्ययनहरूले देखाएका छन् ।

नेशनल ब्यूरो अफ इकनोमिक रिसर्चको एक रिसर्च अनुसार, फेक न्युजले चुनावमा डोनाल्ड ट्रम्पलाई फाइदा पुर्‍याएको थियो, जसमा ११५ प्रो–ट्रम्प फेक स्टोरीहरू फैलिएका थिए । यसले २७.४ प्रतिशत अमेरिकीहरूले फेक न्युज साइटहरू भिजिट गरेको देखाएको थियो ।

नेपालमा पनि राजनीतिक बहसहरूमा यस्तै देखिन्छ । एक पक्षका समर्थकले अर्को पक्षको विचार कहिल्यै देख्दैनन्, सुन्दैन । तर, सबै अध्ययनहरूले यो पूर्णरूपमा हानिकारक मान्दैनन् । केही रिसर्चका अनुसार, एल्गोरिदमले विविधता बढाउन पनि सक्छ, किनकि अनायासै फरक सामाग्री देखिने हुन्छ । तर अधिकांश प्रयोगकर्ता, विशेष गरी युवाहरू, यस्ता बबलमा फस्छन् । यसको असर मानसिक स्वास्थ्यमा पनि पर्छ । यसले एंग्जाइटी, डिप्रेसन बढ्न सक्छ, किनकि हामीले नकारात्मक वा एकपक्षीय सामाग्री मात्र देख्छौं।

साइकोलोजी टुडेको २०२४ को रिपोर्ट अनुसार, जानकारी बबलले ध्रुवीकरण बढाउँछ, जसले सामाजिक विखण्डन र अलगाव बढाउँछ । एको चेम्बरले अलगाव र विविध दृष्टिकोणको कमीबाट आत्मसम्मान समस्या र एंग्जाइटी बढाउँछ भन्ने कुरा अर्को अध्ययनले देखाएको छ ।

यो समस्याको कसरी समाधान गर्ने ?

यो समस्याबाट बच्न सचेत हुनुपर्छ । विभिन्न स्रोतहरूबाट जानकारी लिनुपर्छ । जस्तै समाचार वेबसाइट, किताब, अफलाइन छलफल आदि । सोसल मिडियामा फरक विचार भएका अकाउन्ट फलो गर्नुपर्छ । ब्राउजरमा इन्कोग्निटो मोड प्रयोग गर्नुहोस् वा सर्च हिस्ट्री डिलिट गर्नुपर्ने साइबर सुरक्षा विज्ञ लिम्बुको सुझाव छ ।

समग्रमा, सोसल मिडिया हाम्रो जीवनको हिस्सा हो, तर यसको एल्गोरिदमले हामीलाई नियन्त्रण गर्न नदिनु नै बुद्धिमानी हुन्छ । विविधताको खोजीले मात्र हामी साँचो जानकारी र सन्तुलित दृष्टिकोण प्राप्त गर्न सक्ने उनले बताए ।

लिम्बुका अनुसार युरोपमा यसका लागि केही प्लेटफर्महरूलाई जरिवाना समेत गरिएको छ । एन्ड्रोइडमा यो बढी हुन्छ किनकि यसमा गोपनीयता फोकस कम छ, जबकि आईफोनमा गोपनीयता मजबुत छ र ‘आक्स एप नट टु ट्रयाक’जस्ता फिचरहरू छन् । एन्ड्रोइड फोनहरूमा गोपनीयता कमजोर हुँदा एल्गोरिदम सक्रिय हुन्छन्, जसले राजनीतिक धारणाहरूमा इको चेम्बर सिर्जना गर्छ । देशअनुसार व्यवहार फरक हुन्छ ।

गोपनीयताको कानुन कडा भएका युरोपियन देशहरूमा ‘कन्भर्सेसन लिसनिङ’ हुँदैन, तर नेपालजस्ता देशहरूमा जहाँ नियम कडा छैनन्, यो हुन्छ । प्रमाणका रूपमा, यूके आईपीबाट भिपिएन प्रयोग गर्दा एपहरूले सहमति माग्छन्, तर नेपालबाट चलाउँदा माग्दैनन् प्रणालीहरू देशको आईपी र नियमहरूका आधारमा डिजाइन गरिएका हुन्छन् ।

यसबारे आफूसँग पनि केही व्यक्तिगत अनुभव रहेको लिम्बु सुनाउँछन् । ‘इन्स्टाग्रामले कन्भर्सेसन सुनेको थाहा पाएपछि मोबाइलबाट सामाजिक सञ्जालहरू हटाएर ल्यापटप÷डेस्कटपबाट मात्र प्रयोग गर्ने गरेको छु’ लिम्बु भन्छन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?