६ पुस, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन् ।
‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन केन्द्रीय समितिले निर्णय गरिसकेको बताए ।
नेता डा कोइरालाले सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा, जघन्य अपराध गरेका पाँच हजार फरार कैदी पक्राउ एवं लुटिएका हातहतियार बरामद गरी प्रहरीको मनोवल उठाउने कार्य गर्नुपर्ने सुझाव दिए । ‘वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प नभएकाले तोकिएको समयमा सम्पन्न गर्न सरकारले आफ्नो कार्य गर्नुपर्छ,’ उनले भने ।
सम्पूर्ण राजनीतिक दलका युवापुस्तालाई स्थानीय निकायमा ४०, प्रदेशमा ३० र सङ्घमा २० प्रतिशत प्रतिनिधित्व गराएमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शीता र जवाफदेहिता कायम हुनसक्ने उनको भनाइ थियो ।
नेता डा कोइरालाले सामुदायिक विद्यालयको शिक्षालाई अब्बल बनाउन शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने धारणा राखे । उनले विगतको सरकारले बजेट वितरणमा भेदभावका कारण विराटनगर महानगरपालिका अन्यभन्दा पछाडि परेको आरोप लगाए ।
प्रतिक्रिया 4