+
+
Shares

सरकारले तोक्यो धान, मकै, गहुँसहित बिउबिजनको नयाँ मूल्य, कुनको कति ?

मन्त्रीस्तरीय निर्णय अनुसार धान, मकै, गहुँ, दलहन तथा तेलहन बालीका लागि नयाँ दर स्वीकृत गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २८ मंसिरको निर्णय अनुसार धान, मकै, गहुँ, दलहन र तेलहन बालीका लागि नयाँ बिक्री मूल्य तोकेको छ।
  • उन्नत जातको हाइब्रिड मकैको बिउको मूल्य प्रतिकिलो ३ सय र हाइब्रिड धानको बिउ २ सय रुपैयाँ निर्धारण गरिएको छ।
  • मुसुरोको मूल बिउ प्रतिकिलो १ सय ६० र तोरीको मूल बिउ १ सय ७० रुपैयाँ कायम गरिएको छ।

७ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिउबिजन, बालीवस्तु र कृषि उपजको नयाँ बिक्री मूल्य तोकेको छ ।

मन्त्रालयको २८ मंसिरको मन्त्रीस्तरीय निर्णय अनुसार धान, मकै, गहुँ, दलहन तथा तेलहन बालीका लागि नयाँ दर स्वीकृत गरिएको हो ।

नयाँ मूल्यसूची अनुसार बिउबिजनतर्फ उन्नत जातको हाइब्रिड मकैको बिउ सबैभन्दा महँगो प्रतिकिलो ३ सय रुपैयाँ तोकिएको छ । यसैगरी हाइब्रिड धानको बिउको मूल्य प्रतिकिलो २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

प्रमाणिततर्फको धान र मकैको बिउको मूल्य केही सस्तो छ । मध्यम-मोटा धानको बिउ र खुला मकैको बिउ दुवैको मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै बास्नादार धानको बिउको मूल्य किलोको १ सय ५ रुपैयाँ र प्रमाणित बास्नादार धानको बिउ १ सय रुपैयाँ तोकिएको छ । मोटा-मध्यम धानको मूल बिउ ७१ रुपैयाँ र प्रमाणित बिउ ६५ निर्धारण भएको छ । गहुँको मूल बिउ प्रतिकिलो ८० र प्रमाणित बिउ ७५ रुपैयाँ तोकिएको छ ।

मन्त्रालयले दलहन र तेलहनतर्फका बिउबिजनको मूल्य पनि तोकेको छ । मुसुरोको मूल बिउ प्रतिकिलो १ सय ६० रुपैयाँ र तोरीको मूल बिउ १ सय ७० कायम गरिएको छ । प्रमाणित मुसुरो बिउ १ सय ४० रुपैयाँ र प्रमाणित तोरीको बिउ १ सय ५० मा उपलब्ध हुनेछ ।

त्यस्तै हरियो मलका रूपमा प्रयोग गरिने ढैँचाको बिउको मूल्य भने प्रतिकिलो १ सय २० रुपैयाँ तोकिएको छ ।

बिउका लागि अयोग्य ठहरिएका खाद्यान्नको मूल्य पनि सरकारले निर्धारण गरेको छ । गहुँको मूल्य प्रतिकिलो ३८ रुपैयाँ ६७ पैसा, मोटा धानको ३४ रुपैयाँ ६३ पैसा, मध्यम र मसिनो धानको ३६ रुपैयाँ २८ पैसा र मकैको मूल्य ३५ रुपैयाँ कायम गरिएको छ ।

मुसुरोको मूल्य प्रतिकिलो ९० रुपैयाँ र तोरीको ८० रुपैयाँ तोकिएको छ ।  बिउ प्रशोधन गर्दा निस्कने टुक्रिएको धानको मूल्य १८ रुपैयाँ र टुक्रिएको गहुँको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी कृषि सहउत्पादन अन्तर्गत धानको परालको मूल्य प्रतिकिलो २ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?