News Summary
Generated by OK AI. Editorially reviewed.- आजको डिजिटल युगमा बालबालिकालाई डिजिटल डिभाइसबाट पूरै टाढा राख्न सम्भव छैन र मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटर उनीहरूको दैनिकीको हिस्सा बनेका छन्।
- अभिभावकले बालबालिकाको स्क्रिन टाइम कम गर्न नियम बनाउने, आफैं जिम्मेवार बन्ने र विकल्पको व्यवस्था गरिदिने भूमिका खेल्नुपर्छ।
आजको डिजिटल युगमा बालबालिकालाई डिजिटल डिभाइसबाट पूरै टाढा राख्न सम्भव छैन । मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटर बालबालिकाको दैनिकीको हिस्सा बनिसकेका छन् । अनलाइन कक्षा, शैक्षिक सामग्री, गेम, मनोरञ्जनका नाममा बालबालिकाको स्क्रिन प्रयोगको समय बढ्दो छ ।
सीमित र उद्देश्यपूर्ण स्क्रिन प्रयोग उपयोगी हुन सक्छ, तर अत्यधिक स्क्रिन टाइमले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा नकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसैले बालबालिकाको स्क्रिन टाइम कम गर्नु आजका अभिभावकहरूको प्रमुख चुनौती बनेको छ।
स्क्रिन टाइम किन हानिकारक हुन सक्छ भन्ने कुरा बुझ्न आवश्यक छ । लामो समय स्क्रिनमा बसेर खेल खेल्नु वा भिडियो हेर्नुले बालबालिकामा आँखाको समस्या, निद्रामा गडबडी, मोटोपन, एकाग्रता कमजोर हुने, चिडचिडापन बढ्ने जस्ता समस्या देखिन सक्छन् ।
साथै, वास्तविक सामाजिक अन्तरक्रिया घट्दा उनीहरूको भावनात्मक विकास पनि प्रभावित हुन्छ । यसकारण स्क्रिन टाइम कम गर्नु निषेध होइन, सन्तुलनको प्रयास हो।
१.कति समय प्रयोग गर्ने, नियम बनाउने
बालबालिकालाई कति समय डिभाइसहरू चलाउने दिने भनेर नियम बनाएर त्यहीअनुसार लागू गर्नु उपयुक्त हुन्छ । उमेर तथा उसको समय हेरेर त्यफ तय गर्न सकिन्छ । नियम बनाउँदा एकतर्फी भन्दा पनि बच्चासँगै बसेर छलफल गर्दै तय गर्नु राम्रो हुन्छ । यसो गर्दा नियम पालना गर्न उनीहरू स्वयं अग्रसर हुन्छन् । समयसीमा तथा नियम बनाइसकेपछि त्यो पालना भएनभएको अभिभावकले नियमित निगरानी गर्नुपर्छ । पालना गराउनु भूमिका खेल्नुपर्छ ।
२.अभिभावक आफैं जिम्मेवार बन्ने
बालबालिका मात्रै नभई यस्ता कुरामा अभिभावक पनि सचेत रहनुपर्छ । यदि अभिभावक नै सधैं मोबाइल, ल्यापटपमा व्यस्त हुन्छन् भने बालबालिकाले नटेर्न सक्छन् । घरमा ‘स्क्रिन–फ्री समय’ तय गर्न सकिन्छ, जस्तै खाना खाने बेला, परिवारसँग बस्ने समय वा सुत्नुअघि। अभिभावकले आफैं स्क्रिन प्रयोग कम गर्दा बालबालिकाले स्वाभाविक रूपमा त्यसलाई अनुकरण गर्छन्।
३.विकल्पको व्यवस्था गरिदिने
बालबालिकाहरू वयस्तको तुलनामा धेरै चञ्चल हुन्छन् । उनीहरू केही न केही नगरी त्यत्तिकै बस्न सक्दैनन् । धेरै अभिभावकले बालबालिकालाई ‘मोबाइल नचलाऊ’ त भन्छन् तर त्यसको विकल्पमा के गर्ने भन्नेमा ध्यान दिँदैनन् । बालबालिकालाई खेलकुद, चित्रकला वस्ता क्रियाकलापमा संलग्ने हुने वातावरण बनाइदिनुपर्छ ।
उनीहरूको रुचिअनुसारका पुस्तक जम्मा गरिदिने, संगीत, नाच, साइकल चलाउने जस्ता कुरामा आकर्षित गर्नुपर्छ । उसलाई फुर्सद भएका बेला आफूसँगै घरमा सानातिना काम पनि गर्न प्रेरित गर्नुआवश्यक छ । यदि उनीहरू आफ्ना रुचिका अन्य कुरामा रमाउन थाले भने स्क्रिनप्रतिको आकर्षण आफैं घट्दै जान्छ ।
४.बालबालिकासँग समय बिताउने
धेरैजसो अवस्थामा बालबालिका एक्लोपन महसुस गरिरहेका हुन्छन् । प्रायगरी शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिका यस समस्याबाट पीडित हुन्छन् । सबैजसो बालबालिकाहरू आ-आफ्नै घरमा भुल्ने भएकाले बाहिर जम्मा भएर खेल्ने, भुल्ने साथीहरू हुँदैनन् । यस्तो अवस्थामा उनीहरूको डिजिटल दुनियाँतिरै लहसिन्छन् । यस्तो अवस्थामा अभिभावक नै बालबालिकाको साथी बन्नु आवश्यक देखिन्छ ।
उनीहरूसँग खेल्ने, कुरा गर्ने, उनीहरूको दिनचर्या र भावनाबारे चासो देखाउने हो भने स्क्रिनको आवश्यकता कम हुँदै जान्छ। परिवारसँग बिताएको गुणस्तरीय समय डिजिटल मनोरञ्जनभन्दा बढी प्रभावकारी हुन्छ ।
५.स्क्रिनको प्रयोगलाई उयपोगी सामग्रीतर्फ मोड्ने
सबै स्क्रिनको प्रयोग सबै अर्थमा नकारात्मक हुँदैन । बालबालिकाले स्क्रिन प्रयोग गर्दा पनि यसलाई सिकाइका सामग्रीमा केन्द्रित गर्न सकिन्छ । शैक्षिक भिडियो, ज्ञानवर्धक कार्यक्रम र सिर्जनात्मक सामग्री सीमित समयका लागि उपयोगी हुन सक्छन्। बालकालिकाले कस्ता समग्रीमा धेरै रुचि राखेको छ र के हेर्छ भन्ने कुरामा अभिभावकले निगरानी राख्नुपर्छ ।
६.बच्चालाई अचानक नचिड्याउने
बालकालिकालाई नियन्त्रण गर्ने नाममा उनीहरूले हेरिरहेका बेला एकैपटक मोबाइल खोसिदिने तथा डिभाइसहरू बन्द गर्ने गर्नु त्यति राम्रो हुँदैन । अचानक मोबाइल खोस्दा बालबालिका चिडिने, रिसाउन तथा अभिभावकप्रति नकारात्मक धारणा बनाउन सक्छन् । उनीहरूलाई सम्झाएर समझदारीपूर्वक त्यसलाई रोक्नुपर्छ । बिस्तारै स्क्रिनको समय घटाउँदै लैजाने गर्नुपर्छ । सकारात्मक व्यवहारको प्रशंसा गर्नु र सानो सुधारलाई पनि स्वीकार गर्नु जरुरी हुन्छ।
बालबालिकालाई डिजिटल संसारबाट पूर्ण रूपमा टाढा राख्नु सम्भव पनि छैन र टाढा राख्नु हुँदैन पनि । परिस्थितिको बोध गराएर उनीहरूलाई आफैं जिम्मेवार बनाउनु नै सबैभन्दा उत्तम उपाय हो ।
प्रतिक्रिया 4