८ पुस, नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बाँकेको नेपालगञ्जमा पार्टीको नवनिर्मित भवन (सुशील कोइराला स्मृति भवन)को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पूर्वपार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा भवन उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा नेता गिरीले बाँकेसँग लामो समयदेखि आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै नेपालगञ्जबाट उपसभापति पदमा लड्ने घोषणा गरे । तर, उनले आफू कुन समूहबाट प्रतिष्पर्धा गर्ने भन्ने विषयमा भने पछि टुंगो लाग्ने बताए ।
२०३६ सालमा नेविसंघ केन्द्रीय सदस्य भएका गिरी पटक–पटक पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् । १४औं महाधिवेशनमा उनी डा शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
नेता गिरी २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट सांसद पदमा निर्वाचित भएका थिए । उनले २०७३ मा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया 4