८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका सांसद नारायणदत्त मिश्रले वन्यजन्तु संरक्षणका नाममा राष्ट्रिय आवश्यकता र स्थानीय जनजीवनलाई बेवास्ता गर्न नहुने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बाघ र हात्तीजस्ता वन्यजन्तुको संरक्षणमा स्पष्ट नीति र सीमा निर्धारण आवश्यक रहेको बताए ।
उनले वन्यजन्तुका कारण मानव क्षति र आर्थिक नोक्सान बढिरहेको उल्लेख गर्दै बाघ तथा हात्तीबाट जनधनमा भइरहेको क्षतिलाई राज्यले प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
नेपालले संसारका लागि बाघ पाल्दा के फाइदा भइरहेको छ ? भन्दै उनले प्रश्न समेत गरे ।
‘हामीलाई बाघ कति चाहिने हो ? नेपालले बाघ कति पालिदिनुपर्ने हो ? यदि संसारका लागि बाघ पाल्ने हो भने बाघ पाले बापत हामीले के पाउने हो ? बाघले हाम्रै मान्छे खाइदिने तर हामीले त्यसको रोकथाम पनि गर्न नसक्ने ?’ उनको प्रश्न छ ।
उनले अगाडि भने, ‘हात्तीले हाम्रो यति धेरै नोक्सान गरेको छ । कति हात्ती राख्दा खेरी हामीलाई फाइदा छ त ? कुन कुराको संरक्षण गर्ने भनेर लहैलहैमा त्यसैतिर गयो भने सलह संरक्षण गर्दा कुनै दिन त्यसले बस्ती नै साप गरिदिनसक्छ ।’
उनले वन्यजन्तु संरक्षण गर्दा त्यसको दीर्घकालीन असरको बारेमा समेत सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया 4