+
+
Shares

सरदरभन्दा ९ डिग्रीले घट्यो पश्चिम तराईको तापक्रम, जनजीवन प्रभावित

धनगढी र नेपालगन्जको तापक्रम सरदरभन्दा ९ डिग्री सेल्सियससम्मले गिरावट आएको छ, जसका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते ७:४७

९ पुस, काठमाडौं । नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो दिन’ को अवस्था सिर्जना भएको छ ।

मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ (हिजो) धनगढीको अधिकतम तापक्रम मात्र १३.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जबकि त्यहाँको यो समयको सरदर अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस हो । तर सरदरभन्दा करिब ९ डिग्री सेल्सियसको गिरावट आएपछि स्थानीयको दैनिकी र हवाई उडान प्रभावित भएको छ ।

त्यसैगरी, नेपालगन्जको तापक्रम पनि सरदर २२.१ डिग्री सेल्सियस हुनुपर्नेमा हिजो घटेर १३.१ डिग्री सेल्सियस पुगेको छ । आज पनि ती क्षेत्रको तापक्रम १५ देखि १७ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको मौसमविद पुडासैनीले जानकारी दिए ।

तराईदेखि पहाडी खोँचसम्म हुस्सु र कुहिरो

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरका तराई भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराई मधेशका अधिकांश क्षेत्रमा भिजिबिलिटी (पारदर्शिता) १ किलोमिटर भन्दा कम रहेको छ ।

पश्चिम तराईमा हिजो दिनभरि नै घाम लाग्न सकेन, आज पनि अवस्था त्यस्तै हुने पूर्वानुमान छ ।

तराई मात्र नभई पहाडी क्षेत्रका खोँच, उपत्यका र नदी तटीय क्षेत्रहरूमा पनि हुस्सु लागेको पुडासैनीले बताए ।

काठमाडौँ उपत्यकामा भने बिहानको समयमा केही हुस्सु लागे पनि दिउँसो घाम लाग्ने प्रक्षेपण गरिएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ, जुन हिजोको (४.९ डिग्री सेल्सियस) तुलनामा केही बढी हो । आज काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

विभागले तराईदेखि मधेश प्रदेशसम्मका नागरिकलाई चिसोबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने क्रम आगामी केही दिन जारी रहने देखिएकाले स्वास्थ्य र यात्रामा ध्यान दिन मौसमविद्को सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?