९ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले वर्तमान कोशी प्रदेश सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै सरकारले आफ्ना कमजोरी र भ्रष्टाचार लुकाउन हिउँदे अधिवेशन छल्न खोजेको उनले आरोप लगाए ।
जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन ध्वस्त भएको थियो । प्रदेशसभा कटहरीमा रहेको कृषि बजारको भवनमा सारिएको थियो । तर, प्रदेशसभा हल तयार भएको छैन ।
‘पूर्वाधार छैन भन्नु एउटा बहाना मात्र हो । हामीसँग सुरक्षित अन्य विकल्पहरू पनि छन्,’ आङ्बोले भने, ‘जनताका समस्या र आवाजलाई संसद्मा उठाउन ढिलो भइसकेको छ, सरकारले तत्काल अधिवेशन आह्वान गरोस् ।’
प्रदेशसभा भवन नभए पनि अन्य सार्वजनिक भवनमा बैठक बोलाउन सकिने उनको भनाइ छ । नेता आङ्बोले मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरूमा चरम बेथिति बढेको दाबी गरे ।
‘मुख्यमन्त्री कार्यालयबाटै मन्त्रीका पीएले पैसा उठाएका तथ्यहरू बाहिर आएका छन् । अर्कोतिर मन्त्रीहरूले मान्छे कुट्नेदेखि सचिवको गाडीको साँचो खोस्नेसम्मका अराजक गतिविधि गरिरहेका छन्,’ आङ्बोले भने, ‘यी सबै विषयको जवाफ मुख्यमन्त्रीले संसद्मा उभिएर दिनुपर्ने हुन्छ, त्यसैले उहाँ संसद् फेस गर्न डराइरहनुभएको छ।’
साउनदेखि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा चलाए पनि मुख्यमन्त्रीले अहिलेसम्म ठोस कदम चाल्न नसकेको आङ्बोको टिप्पणी छ।
‘मन्त्रीहरूलाई बर्खास्त गरेर नयाँ टोली बनाउने आँट मुख्यमन्त्रीमा छैन । उहाँ आफ्नो दल र गठबन्धनभित्र निरीह देखिनुभएको छ,’ उनले भने, ‘यो अवस्थामा उहाँसँग संसद्मा उभिने नैतिक हैसियत पनि बाँकी छैन ।’
सरकारले ल्याएको बजेट, लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनजस्ता महत्त्वाकांक्षी योजनाहरू पूर्ण रूपमा असफल भएको नेता आङ्बोले बताए ।
सरकारले आफैंले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयन गर्न नसक्नुले यसको असफलता पुष्टि भएको उनको दाबी छ ।
विपक्षी दलको तर्फबाट सरकारलाई जवाफदेही बनाउन तत्काल संसद् अधिवेशन बोलाउन माग गर्दै आङ्बोले सरकारले आफ्ना कमजोरी लुकाउन अधिवेशन छल्ने काम गरे त्यो स्वीकार्य नहुने बताए ।
प्रतिक्रिया 4