+
+
Shares

सरकारसँग मुटु अस्पतालले माग्यो उपचार वापतको १८ करोड

पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि मिर्गौलाका बिरामीहरूको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने अस्पतालले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारसँग करिब १८ करोड रुपैयाँ तत्काल भुक्तानी दिन माग गरेको छ।
  • अस्पतालले पुस मसान्तसम्म भुक्तानी नपाए माघ १ गतेदेखि निःशुल्क डायलाइसिस र मुटु उपचार सेवा बन्द गर्ने जानकारी गराएको छ।
  • अस्पतालले आर्थिक संकटमा परेर औषधि, उपकरण सप्लाई र कर्मचारी तलब भुक्तानीमा समस्या आएको जनाएको छ।

९ पुस, बुटवल । मुटु र मिर्गौलाको उपचार गरेवापत पाउनुपर्ने करिब १८ करोड रुपैयाँ तत्काल भुक्तानी दिन बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारसँग माग गरेको छ ।

मुटु र मिर्गौलाका बिरामीहरूको उपचार गरेवापत सरकारबाट २० करोड ३९ लाख ३१ हजार ८७९ प्राप्त गर्न बाँकी रहेकोमा दुई करोड ५८ लाख २२ हजार ५०० रुपैयाँ मात्र भुक्तानी पाएकाले निःशुल्क उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको अस्पतालले जनाएको छ ।

अस्पतालले बुटवलमा पत्रकार सम्मलन गरी नेपाल सरकारबाट भुक्तानी पाउन बाँकी १७ करोड ८१ लाख रुपैयाँ पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मिर्गौलाका बिरामीहरूको निःशुल्क डायलाइसिस सेवा र मुटु उपचारमा प्रदान गर्दै आएको एक लाख रुपैयाँ बन्द गर्न बाध्य हुने जानकारी गराएको छ ।

करोडौं रकम भुक्तानी पाउन बाँकी रहेकाले अस्पताल आर्थिक संकटमा परी अन्य उपचार सेवा प्रभावित हुने अवस्था सिर्जना भएको अस्पतालका अध्यक्ष एजाज आलमले गुनासो गरे ।

‘सरकारले नियमित रूपमा प्रदान गर्नुपर्ने करोडौं रकम समयमा भुक्तानी नदिँदा अस्पताल ऋणमा डुब्न थाल्यो । औषधि र उपकरणहरूको सप्लाई रोकियो,’ अध्यक्ष आलमले भने, ‘चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको तलब भुक्तानीमा समस्या भएको छ । विपन्न नागरिक औषधि-उपचार कार्यक्रम अन्तर्गतको निःशुल्क उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।’

सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि-उपचार कार्यक्रमअन्तर्गत यस वर्ष मात्रै एक हजार ३८४ जना मुटुका बिरामीलाई चार करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबर र मिर्गौला बिरामीहरूको डायलाइसिसको १३ करोड ९४ लाख ६५ हजार बराबरको ५५१ जनाको डायलाइसिस गरिएको अस्पतालले जनाएको छ ।

मुटु र मिर्गौलाका गरी वर्ष मात्रै १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको छ ।

अस्पतालले अति विपन्न असहाय बिरामीहरूको उपचारका लागि यस वर्ष एक करोड ४५ लाख ७२ हजार ११९ रुपैयाँ बराबरको निःशुल्क उपचार गरिएको पनि जनाएको छ ।

यसका साथै संस्थाका विशिष्ट सम्मानित सदस्य तिलप्रसाद भट्टराईले पाँच जना डायलाइसिसका बिरामीलाई तीन लाख ४१ हजार ४५९ रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बीमाबाट स्वास्थ्य विभागमा सार्दा बाँकी रहेको ६ करोड १९ लाख ७२ हजार ५०० रुपैयाँ हालसम्म पनि प्राप्त हुन नसकेको पनि अस्पतालले जनाएको छ ।

अस्पतालले विगतमा पनि सरकारी निकायबाट हैरानी बेहोर्नुपरेको गुनासो गरेको छ । २०८१ चैतदेखि २०८२ असारसम्म अन्य शाखाहरूबाट प्रदान गरिएको र २०८१ चैत देखि २०८२ वैशाखसम्म बुटवलबाट प्रदान गरिएको डायलाइसिस सेवाको भुक्तानी प्राप्त हुँदा ८५ लाख ४५ हजार रुपैयाँ कम प्राप्त भएको अध्यक्ष आलमले बताए ।

उक्त रकम के–कति कारणले कम प्राप्त भएको हो भनी बीमा बोर्डमा बुझ्दा स्वास्थ्य विभागमा बुझ्नु भन्ने र स्वास्थ्य विभागमा बुझ्दा बीमा बोर्डमा बुझ्नु भन्ने गैरजिम्मेवार जवाफ प्राप्त हुने गरेको उनले बताए ।

अस्पतालले बुटवलबाट ३११ जना, लमहीबाट २७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ गरी ५५१ जना मिर्गौलाका बिरामीहरूले नियमित रूपमा निःशुल्क डायलाइसिस गराउँदै आएको आलमले बताए ।

अस्पतालबाट स्थापनाको १२ वर्षमा मुटु, मिर्गौला तथा जनरल फिजिसियनका गरी हालसम्म पाँच लाखभन्दा बढी बिरामीको उपचार भएको छ २। २०७० पुस १० गतेबाट सेवा सुरु गरेको यस अस्पतालमा २०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याबबाट मात्रै एन्जियोग्राफी, एन्जियोप्लास्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पीटीएमसी गरी ६ हजार ५६९ जनाले सेवा प्राप्त गरेको अध्यक्ष आलमले बताए ।

उनका अनुसार २०७२ सालदेखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट पनि बिरामीहरूले हालसम्म तीन लाख १३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेका छन् ।

यस अस्पतालले बुटवलसँगै दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको बाणगंगामा डायलाइसिस सेन्टर स्थापना गरी सञ्चालन गर्दै आएको छ ।

रुपन्देही उद्योग संघको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा विभिन्न रोटरी क्लब, समाजसेवीलगायतको आर्थिक सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?