+
+
Shares

छोरीमाथि ‘बडी सेमिङ’ हुन थालेपछि करिश्मा : व्यक्ति जस्तो छ, त्यही भएर बाँच्न पाउनुपर्छ

कानुनी बाटो अपनाउने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री करिश्मा मानन्धरले छोरी कवितामाथि सामाजिक सञ्जालमा भइरहेको बडी सेमिङप्रति आपत्ति जनाएकी छन्।
  • करिश्माले छोरीको शरीर, स्वरूप र अस्तित्वमाथि प्रश्न उठाउनु गलत भएको र कानुनी बाटो अपनाउने अधिकार आफूमा रहेको बताएकी छन्।
  • उनीले सार्वजनिक जीवनसँग सम्बन्धित आलोचना सहने तर क्रूरता र मानवता हराएको शब्दप्रति असहजता व्यक्त गरेकी छन्।

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले छोरी कवितामाथि सामाजिक सञ्जालमा भैरहेको ‘बडी सेमिङ’ लाई लिएर आपत्ति जनाएकी छन् ।

मान्छेहरूले कुरै नबुझी छोरीको शरिर, स्वरुप र अस्तित्वमाथि प्रश्न उठाएको भन्दै करिश्माले स्क्रिन सट पनि सेयर गरेकी छन् ।

करिश्मा लेख्छिन्, ‘मेरो छोरीमाथि बारम्बार बडी सेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो, उसले के भोगिरहेकी छ ? यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ ?’

व्यक्ति जे जस्तो छ, ऊ त्यस्तै भएर बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार भएको करिश्माको भनाइ छ । आफूसँग छोरीको तुलना गरिएको भन्दै उनले गल्ती कहाँ भयो भनेर प्रश्न गरेकी छन् ।

‘मसँग उसको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो ? गल्ती कहाँ भयो ? आफ्नो सन्तानप्रति सचेत हुनु मेरो अपराध हो ? आफूप्रति सचेत रहनु मेरो अपराध हो ? कि हामी जे जस्तो भौतिक रुपमा छौं, त्यो देखिए बापत मौन भएर लुकेर बाँच्नुपर्ने हो ?’ करिश्माको भनाइ छ ।

यस्तो गतिविधिले आफू र परिवारलाई मानसिक क्षति पुर्‍याएमा कानूनी बाटो अपनाउने चेतावनी पनि करिश्माले दिएकी छन् । पछिल्लो समय स्वेच्छाले आफूले मिडियासँग दूरी बनाएको पनि करिश्माले उल्लेख गरेकी छन् ।

करिश्माले के लेखिन् ?

आजकल म धेरै सार्वजनिक हुन चाहँदिन । जे राख्छु आफ्नै वालमा राख्ने गरेको छु । मिडियाका धेरै साथीहरूसँग मेरो नजिकको सम्बन्ध छ, तर पछिल्लो समय म स्वेच्छाले केही दूरी बनाइरहेकी छु । यसको अर्थ उहाँहरूसँग मेरो सम्बन्ध बिग्रिएको होइन । सार्वजनिक व्यक्तिका जीवनका कुराहरू बाहिर ल्याउनु उहाँहरूको पेशागत जिम्मेवारी हो र त्यसलाई हामीले व्यक्तिगत रूपमा दोष दिनु मिल्दैन भन्ने बुझाइका साथ म शान्त रूपमा टाढा बस्न रुचाउँछु ।

दर्शकहरू हाम्रो कामको कदर गर्नुहुन्छ र कलाकारिताको माध्यमबाट हामी सबैसँग जोडिएका छौँ । हाम्रो निजी जीवनप्रति चासो राख्नु दर्शकहरूको अधिकार हो भन्ने कुरा म स्वीकार गर्छु। त्यसैले राम्रा र नराम्रा टिप्पणीहरू सहन सक्ने मनोबल मैले बनाइसकेकी छु । तर समस्या त्यतिबेला सुरु हुन्छ, जतिबेला आलोचना होइन, क्रूरता देखिन्छ । जतिबेला मानवता हराएर शब्दहरू हतियार बन्छन् । कम्तीमा जनावरजत्तिको विवेक त राख्नुस् ।

मेरो छोरीमाथि बारम्बार बडी–शेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो, उसले के भोगिरहेकी छ, यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ ? के सुन्दरता कुनै एउटै मापदण्डमा सीमित हुन्छ ? यदि त्यस्तो हो भने, के त्यो मापदण्डमा नपरेका मानिसहरूले मान्छे भएर बाँच्ने अधिकार गुमाउँछन् ? यो संसार विविधताले भरिएको छ । के विविधता नै कुरूपता हो ? होइन । हरेक व्यक्तिमा आफ्नै किसिमको सौन्दर्य हुन्छ । ऊ जे जस्तो छ, त्यही भएर बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार हो ।

मसँग उसको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो ? गल्ती कहाँ भयो ? आफ्नो सन्तानप्रति सचेत हुनु मेरो अपराध हो ? आफु प्रति सचेत रहनु मेरो अपराध हो ? कि हामी जे जस्तो भौतिक रुपमा छौ त्यो देखिये बापत मौन भएर लुकेर बाँच्नुपर्ने हो ? हामी जे जस्ता छौँ, प्रकृतिले बनाएका हौँ । त्यसमा हामीलाई कुनै गुनासो छैन । यसैमा हामी सन्तुष्ट र खुसी छौं । तपाईंलाई मन पर्दैन भने नहेर्नुस् । तर आफ्नो समय, ऊर्जा र मानसिकता नकारात्मक शब्द लेख्न खर्चिँदा त्यसको असर अन्ततः तपाईंमै पर्छ । मेरो सहनशीलताको पनि सीमा छ । यदि यस्ता गतिविधिले मलाई वा मेरो परिवारलाई मानसिक क्षति पुर्‍यायो भने, कानुनी बाटो अपनाउने जानकारी र अधिकार मसँग छ । यो चेतावनी होइन– आत्मसम्मान र सुरक्षाको स्पष्ट सीमा मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?