News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले अबको विकल्प विशेष महाधिवेशन मात्रै रहेको बताउनुभएको छ।
- १५ औं महाधिवेशनका लागि तोकिएको समयमा एकपक्ष तयार नभएको कारण नियमित महाधिवेशन गर्न नसकिने अवस्था आएको छ।
- २४८८ प्रतिनिधिको हस्ताक्षरसहित २९ असोजमा विशेष महाधिवेशनको माग गरिएको र पुस २८ गतेसम्म आव्हान गर्नुपर्ने छ।
११ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विशेष महाधिवेशन हस्ताक्षरका अगुवा मधु आचार्यले अबको विकल्प विशेष महाधिवेशन मात्रै रहेको बताएका छन् ।
१५ औं महाधिवेशनका लागि तोकिएको समयमा गर्नका लागि एकपक्ष तयार नभएको हुँदा अब विशेष महाधिवेशनको विकल्प नरहेको नेता आचार्यले बताए । यही पुसको २६ देखि २८ गतेसम्म महाधिवेशन गर्नका लागि केन्द्रीय समितिबाट कार्यतालिका पारित गरिएको थियो ।
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य हालसम्म सकिएको छैन । धनुषा र कैलाली लगायतका जिल्लामा नवीकरणको काम समेत सुस्त गतिमा रहेको सदस्यता व्यवस्थापन समितिले जानकारी गराएको छ । वडा र क्षेत्रको अधिवेशन गरेर सिंधै केन्द्रीय महाधिवेशन गर्न सकिने विकल्प समेत महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिमा राखेका थिए । उक्त विकल्पमा संस्थापन पक्ष तयार भएको छैन ।
महाधिवेशनको एजेण्डामा सहमतिको विन्दु पहिल्याउन नसक्दै संस्थापन पक्ष समानुपातिक तर्फका उम्मेदवारका विषय छलफल गराउन चाहेको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी गराए । उनी भन्छन्,‘नियमित महाधिवेशन गर्न नसकिने हो भने विधानतः आह्वान भएको विशेष महाधिवेशनमा जानुपर्दछ । उहाँहरू महाधिवेशनको एजेण्डालाई वेवास्ता गर्दै अब समानुपातिक उम्मेदवारको एजेण्डामा कुरा गर्न सुरु गरौं भन्न थाल्नु भएको छ,’ कार्यसम्पादन समितिको बैठक विगत तिन दिनदेखि जारी छ ।
नियमित महाधिवशेन गर्न नसकिने हो भने विशेषमा जानैपर्ने वाध्यकारी रहेको केन्द्रीय सदस्य आचार्यले बताए । २९ असोजमा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित विशेष महाधिवेशनको माग गरिएको थियो । विशेष महाधिवेशन माग गरेको मितिले तीन महिनाभित्र आव्हान गरिसक्नु पर्दछ ।
उक्त अवधि पुस २८ गतेबाट सकिन्छ । आचार्य भन्छन्,‘केन्द्रीय समितिले आव्हान गरेर विशेष महाधिवेशन आव्हान गरोस् । केन्द्रीय समितिले नबोलाउने हो भने मागकर्ताले आव्हान गर्छन् ।’ विशेष महाधिवेशनका लागि समयको चाप नहुने उनले बताए ।
चुनावअघि वा पछि महाधिवेशन गर्ने विवाद लामो भएको थियो । अन्ततः संस्थापन पक्ष चुनावअघिको कार्यतालिका ल्याउन सहमत भएको थियो । १५ मंसिरमा कार्यतालिका केन्द्रीय समितिबाट निर्णय भएको थियो । विगतमा छ महिनाभन्दा बढी समय कार्यतालिकालाई छुट्याउने गरिएकोमा यसपटक डेढ महिनाको अवधि तोकिएको थियो ।
कार्यतालिकाका लागि तोकिएको समय अनुसार कार्यान्वयन नभएको कारण देखाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले वडा अधिवशेनको समय प्रभावित हुने बिहीबार बताएका थिए । वडाको १६ पुसमा गरेर तल्लो तहका अधिवेशन सक्दै २६ पुसमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाइएको थियो ।
केन्द्रीय सदस्य आचार्य नियमित हुन नसके विशेष महाधिवेशन आव्हान गर्नुपर्ने दबाब हस्ताक्षरकर्ताहरुले गरिरहेको बताए । ‘केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाओस् । केन्द्रीय समितिले नबोलाए दुई महामन्त्रीले आह्वान गर्नुस् उहाँहरूको दबाब छ,’ उनी भन्छन्,‘नत्र मागकर्ताहरुले आव्हान गर्ने प्रतिनिधिहरूको कुरा छ ।’
प्रतिक्रिया 4