एक दशकअघि चार दशकभन्दा लामो समय आबद्ध रहेको पार्टी छाडेर वैकल्पिक राजनीतिको वकालत गर्दै नयाँ राजनीतिक यात्रा शुरु गरेका थिए डा. बाबुराम भट्टराईले । यसबीचमा उल्लेख्य राजनीतिक प्रयोगहरू गरेका भट्टराई अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकको भूमिकामा छन् । अहिले कुनै पनि पार्टीको सदस्य नरहेको बताउने उनले शुक्रबार काठमाडौं महानगरका मेयर बालेन शाहसँग संवाद गरेका थिए ।
उनै भट्टराईसँग रवि लामिछाने र बालेनबीचको एकता, नेपालमा वैकल्पिक राजनीति र सम्भावित बाटो बारे अनलाइनखबरले गरेको कुराकानीः
तपाईं विगत एक दशकदेखि वैकल्पिक राजनीतिक अभियानमा सक्रिय हुनुहुन्छ । आज रवि लामिछाने नेतृत्वको रास्वपा र बालेन शाह समूहबीच एकता भएको छ। यसलाई कसरी हेर्नु भएको छ?
तपाईंले भन्नुभए जस्तै ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपाली इतिहासमै पहिलोपटक जारी भएपछि नेपाल एउटा नयाँ चरणमा प्रवेश गर्यो ।
राजनीतिक रूपले लोकतान्त्रिक क्रान्ति सापेक्ष रूपमा पूरा भयो, अबको मुख्य एजेन्डा आर्थिक-सामाजिक रूपान्तरण हुनुपर्छ। त्यसका लागि पुराना शक्ति, विचार, नीति र कार्यक्रमलाई पनि पुनर्संरचना गरेर वैकल्पिक शक्ति बनाउनुपर्छ भनेर म त्यो अभियानमा लागेको हुँ। यसरी लागेको अहिले १० वर्ष भयो ।
यस क्रममा नयाँ वैकल्पिक शक्तिहरू विभिन्न ढंगले उदाउने र केही चाहिँ पश्चगामी दिशातिर गएर अस्ताउने आदि-आदि पनि हुँदै आएको छ । यहीक्रममा आजसम्म आइपुग्दा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी र उदीयमान युवा व्यक्तित्व बालेन शाह र उहाँका साथीहरूको समूहबीच एकता भएको छ । यसलाई म त्यही अभियानको एउटा महत्त्वपूर्ण कडी ठान्दछु। म उहाँहरूलाई बधाई र शुभकामना भन्न चाहन्छु।
यसबीचको अनुभवको आधारमा तपाईंका सुझावहरू के छन् ?
यतिले मात्र पूर्ण नहुन सक्छ। मुख्य कुरा एजेन्डामा प्रष्ट हुनुपर्छ। संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि किन्तुपरन्तु गरेर कमजोर नपारी सफल बनाउनुपर्छ । दोस्रो, नेपालको जुन विविधतापूर्ण बनोट छ, जटिल भू-राजनीति छ, यसलाई सन्तुलन मिलाएर अगाडि बढ्नुपर्छ । हाम्रो राज्यका अंग असाध्यै कमजोर छन् । जसले गर्दा भ्रष्टाचार, बेथिति व्याप्त छ ।
यसलाई संरचनात्मक ढंगले नै सुधार गरेर सुशासनको प्रत्याभूति दिनुपर्छ । परिणाम र लक्ष्य, एक डेढ दशकभित्र नेपाललाई अहिलेको पिछडिएको अवस्थाबाट उन्नत अवस्थामा पुर्याउने स्पष्ट आर्थिक समृद्धिको मार्गचित्र हुनुपर्छ । यी विषयहरू अबका मुख्य एजेन्डा हुनुपर्छ । त्यसैको वरिपरि अगाडि बढोस् र यसमा सहमत हुने शक्तिहरु अरू पनि गोलबन्द हुँदै जाऊन् र सँगसँगै, बहुदलीय लोकतन्त्रमा एउटै दलमात्रै हुनुपर्छ भन्ने पनि छैन ।
वैकल्पिक राजनीति भनेको पनि बहुदलीय लोकतन्त्र अन्तर्गतको अर्को धार हो । नयाँ धारभित्र फेरि विभिन्न दलका हाँगा हुनसक्छन् । त्यसैले अरू पनि हुन सक्छन् । तिनीहरुका बिचमा पनि धेरै टुक्राटाक्री भन्दा कमसेकम दुईभन्दा बढी त्यस्ता नयाँ र वैकल्पिक केन्द्रहरू नहून् । त्यसो भइदियो भने स्वस्थ प्रतिस्पर्धा भएर पुराना दलहरूलाई लोकतान्त्रिक ढंगले बिदा गरेर देशले नयाँ निकास पाउँछ भन्ने मलाई लाग्छ ।
रवि र बालेनबीच भएको ७ बुँदे सम्झौतामा तपाईँले उठाउँदै आउनुभएको एजेन्डा सम्बोधन भएका छन् त ?
मूलतः छन् । तर केही अलि अस्पष्ट पनि छन्। जस्तै, नेपालको सन्दर्भमा उहाँहरूलाई मेरो सुझाव, यो ‘राइट’ (दक्षिणपन्थी) र ‘लेफ्ट’ (वामपन्थी) भन्नाले हामी केवल कांग्रेस र कम्युनिस्ट वा पुँजीवाद र साम्यवाद मात्र बुझ्छौँ, त्यो मात्र होइन। ‘राइट’ भनेको त समाजको गतिको प्रक्रियालाई अलि मन्द गतिमा लैजाने र यथास्थितिमा टेकेर अगाडि बढ्ने सोच हो। ‘लेफ्ट’ भनेको त्यो गतिको प्रक्रियालाई तीव्र पार्दै वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडन तथा पर्यावरणीय प्रश्नहरूलाई सम्बोधन गरेर जानुपर्छ भन्ने विचार हो।
अमेरिकामा पनि ‘लेफ्ट’ले लोकतन्त्रभित्रै रहेर यस्ता मुद्दा उठाउँछन्। तर हामीकहाँ ‘लेफ्ट’ हुनु भनेको लोकतन्त्र विरोधी हुनु र ‘राइट’ हुनु मात्र लोकतन्त्रवादी हुनु भन्ने बुझाइ छ। दक्षिणपन्थी धारले अलि सम्वर्द्धनवादी मात्रै विचार उठाउँछ भन्ने गरिन्छ । यस्तो हुँदैन। यो समाज विकासको सापेक्षतामा पनि हुन्छ ।

नेपाल अहिले भर्खरै सामन्ती युगबाट पूँजीवादी युग हुँदै समाजवादतर्फ उन्मुख छ। हाम्रो जातीय र क्षेत्रीय विविधता धेरै भएकाले हामी अलि तीव्र ढङ्गले जानुपर्छ। यहाँ निजी स्वतन्त्रता र बजारको भूमिका हुन्छ, तर शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा राज्यले दायित्व लिनुपर्छ। यसलाई ‘पूर्वी-एशियाली बाटो’ भन्न सकिन्छ, जहाँ राज्यले निजी क्षेत्रको विकासमा सहयोग गर्छ। त्यसैले नेपालको बाटो ‘लेफ्ट अफ सेन्टर’ (मध्य-वाम) हुनुपर्छ भन्ने मेरो बुझाइ हो।
पछि, अलि मध्यम विकासमा गइसकेपछि बजार र व्यक्तिको फेरि खुला प्रतिस्पर्धा बढी हुन्छ । त्यो अलि ‘राइट अफ द सेन्टर’ हुन्छ । अलि उच्च विकसित चरणमा पुगेपछि असमानता आउँछ, पर्यावरणीय विनाश हुनथाल्छ । यस्तो बहस युरोप-अमेरिकातिर छ अहिले । त्यहाँ फेरि ‘लेफ्ट अफ सेन्टर’ हुन्छ । यसरी राइट-लेफ्ट, राइट-लेफ्ट हुँदै समाज अगाडि बढ्ने भएकोले यो विषयलाई हामी जड भएर, हिजोकै विचारमा मात्र नटाँसिइकन समयानुकूल र अहिलेको सापेक्षतामा जानु उपयुक्त हुन्छ । यस्ता मुद्दाहरूमा पनि उहाँहरू र सबै वैकल्पिक र नयाँ भन्नेहरूले बहस गर्दा राम्रो हुन्छ ।
बहुदलीय लोकतन्त्रको कुरा गरिरहँदा तपाईँले वैकल्पिक धारभित्र पनि विभिन्न धारका पार्टीहरू हुनुपर्छ भन्न खोज्नुभएको हो ?
हो। कतिपयले वैकल्पिक पार्टी भन्नाले पुरानोको सट्टामा अर्को एउटा विकल्प मात्र बुझ्छन्, तर त्यो होइन। पार्टीको मात्र विकल्प नभएर समग्र राजनीतिक संरचना, विचार र पुरानो कार्यशैलीको पुनर्संरचना गर्ने अर्थमा वैकल्पिक भनिएको हो। लोकतन्त्रमा बहुदलीय लोकतन्त्रकै मान्यता छ अहिले र यो रहन्छ पनि । त्यसैले वैकल्पिक राजनीतिभित्र पनि कोही ‘लेफ्ट अफ सेन्टर’, कोही ‘राइट अफ सेन्टर’ र कोही ‘सेन्ट्रिस्ट’ (मध्यमार्गी) गरी दुई-तीनवटा प्रवृत्ति हुन सक्छन्।
कांग्रेस र कम्युनिस्ट एउटा विशिष्ट युगका लेफ्ट-राइट हुन्। लोकतान्त्रीकरणको युग, राष्ट्रियताको निम्ति बाह्य हस्तक्षेप र उपनिवेशविरुद्ध लड्ने क्रममा कांग्रेस-कम्युनिस्ट भन्ने पार्टीहरू जन्मिएका हुन् । अब अहिले एजेन्डा नै परिवर्तन भइसकेको छ। त्यसैले वैकल्पिक राजनीतिमा पनि मूलभूत एजेन्डा र विचारधाराभित्र स्वस्थ प्रतिस्पर्धा र सहकार्य हुनुपर्छ। यो नै लोकतन्त्रको सारतत्व हो । त्यसैले एकभन्दा बढी दल हुनसक्छन् र हुनुपर्छ भन्ने हो ।
तपाईँ आफैँ चाहिँ उहाँहरूसँग प्रतिस्पर्धा गर्ने कि सहकार्य गर्ने पक्षमा हुनुहुन्छ? केही दिन अघि बालेनसँग भेटघाट हुँदा कस्तो कुरा भयो ?
एउटा कुरा स्पष्ट पारौं, म अहिले कुनै पार्टीमा छैन। गत वर्षदेखि नै साथीहरूलाई अगाडि सारेर म दलमा नबस्ने, बरु भिन्न ढङ्गले सहयोग गर्ने भन्दै आएको थिएँ। भदौ २३-२४ को जेन-जी विद्रोहपछि असोज ८ गते पार्टीको विस्तारित बैठक राखेर मैले पार्टीबाट बिदा लिइसकेँ। पछि विभिन्न समितिहरू मिलाएर साथीहरूले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ बनाउनुभयो, त्यसमा मैले शुभकामना दिएँ। तर म त्यो मात्रै होइन, अरू कुनै पार्टीको पनि सदस्य छैन । उहाँहरूले मलाई सद्भावपूर्ण ढङ्गले अभिभावक वा संरक्षक भन्नुहुन्छ। त्यो त मलाई सबैले भन्नुहुन्छ । अस्ति बालेनजीले पनि भेट्दा ‘तपाईँ अभिभावक हुनुपर्यो’ भन्नुभयो। रविजीले भेटहरूमा ‘हाम्रो अभिभावक’ भन्नुहुन्छ । कुलमानजी, मधेसका रेशम चौधरीजीहरू लगायत जो अहिले नयाँ ढंगले आउनुभएको छ, उहाँहरू सबैले ‘अभिभावक’ भन्नुहुन्छ। म अहिले त्यस्तो भूमिकामा मात्र छु, कुनै पार्टीमा आबद्ध छैन भन्ने कुरा स्पष्ट रहोस्।
तर चुनाव आउँदै छ, राजनीति गर्न र आफ्नो एजेन्डा लागू गर्न त कतै न कतै जोडिनुपर्ला। चुनाव लड्ने केही सोच छ कि ?
मेरो निजी रूपमा त्यस्तो सोच छैन। हुन त अस्ति बालेनजीले ‘तपाईँजस्तो व्यक्ति संसदमा आउनुपर्छ, हामीलाई अभिभावकत्व मूर्त रूपमा दिनुपर्छ’ भन्नुभयो, म हाँसेँ मात्रै । अहिले नै मैले पूरै मन बनाइसकेको छैन। पहिले निर्वाचन हुनुपर्यो तोकिएको समयमा । समय आएपछि भन्नु उपयुक्त होला ।

मेरो भित्रि इच्छा २०७९ कै चुनावदेखि भन्दै आएको कुरा हो- हाम्रो उमेरका मान्छेहरू अब कार्यकारी भूमिका वा संसदमा भन्दा पनि अन्य ढङ्गले समाज रूपान्तरणमा योगदान दिनुपर्छ । पटक-पटक हामीले मात्रै स्थान ओगटेर बस्नुहुन्न भन्ने मेरो मान्यता अहिले पनि छ ।
यो अहिलेको ‘पोलिटिकल स्पेक्ट्रम’मा रवि-बालेनको पार्टीले कुन क्षेत्र वा समुदायको मत बढी पाउलान् ?
अब कसरी आउँछ, त्यो हेर्न बाँकी छ। सुरुमा रास्वपाले आफ्नो ‘स्पेस’ अलि ‘राइट अफ सेन्टर’ (लिबरल धार) हो भन्नुहुन्थ्यो। तर बालेनजीसँग कुरा गर्दा उहाँ अलि फरक जस्तो पाएँ ।
त्यो फरक भनेको के रहेछ ?
उहाँ समावेशीता, सङ्घीयता हुनैपर्छ । संविधानका मूलभूत मान्यताहरू घटाउनै हुँदैन, त्यसलाई संरक्षण गरेर अगाडि जानुपर्छ भन्ने कुरा उहाँ आफैंले जोड दिएर कुरा गर्नुभयो । यसले उहाँ अलि बढी प्रतिबद्ध हुनुहुन्छ कि जस्तो लागेको थियो । तैपनि पार्टीका नीतिहरू समय अनुकूल विकास गर्दै जान पनि सकिन्छ। विभिन्न पक्षहरू मिल्दै गइसकेपछि समयअनुरूप रुपान्तरण पनि हुन्छ । त्यसैले रास्वपाबारे उहाँहरूले जे भन्नुहुन्छ, कुरो त्यही हो । तैपनि उहाँहरूले वैकल्पिक राजनीतिको झण्डा उठाइरहनुभएको छ र जनता पनि पुराना कांग्रेस, एमाले, माओवादी नाम गरेका दलहरूसँग वाक्क-दिक्क भएको अवस्थामा उहाँहरूले सकारात्मक भूमिका खेल्नुहुनेछ, खेल्नुहोला भन्ने मेरो आग्रह छ। सँगसँगै, अरू उस्तै शक्तिहरू, विभिन्न क्षेत्रीय, जातीय समूहमा जोडिएका शक्तिहरू र पुराना पार्टीबाट विद्रोह गरेर निस्कने शक्तिहरूलाई पनि समेट्ने अथवा सहकार्य गर्ने ढंगले अगाडि बढेमा आगामी निर्वाचनमा नयाँ र वैकल्पिक शक्तिहरू एउटा राष्ट्रिय र नेतृत्वदायी शक्तिका रूपमा उदय हुन सक्छन्।
तपाईंले अहिले कुनै पनि पार्टीमा छैन, अहिले सबैले अभिभावक भन्छन् भन्नुभयो । रवि-बालेन समूहमा अरू थप शक्तिहरू जोडिने सम्भावनामाथि केही गृहकार्य भइरहेको हो र ?
सबैको अभिभावक भन्दा एउटा ठट्यौली भनाइ छ, ‘म सफलताको सूत्र त भन्न सक्दिनँ, तर असफलताको सूत्र चाहिँ भन्न सक्छु, त्यो हो- सबैलाई खुसी पार्ने कोसिस गर।’ सबैलाई खुसी पार्दा कोही पनि खुसी हुँदैनन्। त्यसैले अग्रगमन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सहभागिता, सुशासन र संविधानले परिकल्पना गरेको ‘लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित समाजवाद’ (पुरानो कम्युनिस्ट समाजवाद होइन) नै मेरो निजी आस्था हो ।
नेपालको अहिलेको सन्दर्भमा त्यही मेल खान्छ जस्तो लाग्छ । त्यसैले त्यसैको वरिपरि रहेर यो विचारसँग मिल्नेहरू एक ठाउँमा आउनुपर्छ । अलि फरक विचार राख्नेहरूले फरक भएर प्रतिस्पर्धा गर्न सक्छन् । म उहाँहरू सबैलाई त्यही सुझाव दिन्छु । त्यसैले अग्रगामी शक्तिहरूप्रति सबैलाई सहयोग, समर्थन रहन्छ । तर, विभिन्न बहानामा प्रकट वा अप्रकट ढंगले प्रतिगमनतिर जान खोज्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै उल्ट्याउन खोज्ने, राष्ट्रियताप्रति नै आघात पुर्याउन खोज्ने तत्वहरूलाई मेरो कुनै प्रत्यक्ष-अप्रत्यक्ष सहयोग, समर्थन र अभिभावकत्व हुन सक्दैन ।
प्रतिक्रिया 4