१३ पुस, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएको निर्वाचन सुरक्षा प्रहरीबारे सोमबार गृह मन्त्रालयमा अन्तिम छलफल गरेर टुंग्याउने तयारी अघि बढाइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टा छुट्टै भर्ना गर्ने भन्दै माग गरिएको संख्यामा सोमबार मन्त्रालयले अन्तिम छलफल गरेर टुंगो लगाउने तयारी गरेको मन्त्रालय स्रोतले बतायो ।
‘दुवै सुरक्षा निकायबाट निर्वाचन सुरक्षा प्रहरी भर्नाबारेको खाकासहितको प्रस्ताव आएको छ । त्यसमा मन्त्रालयमा भोलि अन्तिम छलफल गरेर टुंग्याउने तयारी गरेका छौं,’ मन्त्रालय स्रोतले भन्यो ।
निर्वाचन प्रहरीको भर्ना, तिनको संख्या, काम, कर्तव्य, अधिकारसहितको निर्देशिका तयार पारेर दुवै प्रहरी संगठनले मन्त्रालयमा यसअघि नै पेश गरेका छन् । उक्त खाकामा आधारमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको छ ।
सोमबार पनि यसबारे अन्तिम छलफल गरेर टुंगो लगाउने तयारी गरिएको छ । त्यसपछि निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गर्ने तयारी गरिएको छ ।
यसअघि नेपाल प्रहरीले करिब १ लाख ३२ हजार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने माग राखेको थियो । पछि मतदाता संख्या, मतदान स्थलहरू थप भएपछि १ लाख ३६ हजार ७४४ निर्वाचन सुरक्षा प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै १४ हजार ५ सय भन्दा बढी निर्वाचन प्रहरी सशस्त्र प्रहरी अन्तर्गत खटिनेगरी भर्ना गरिने तयारी गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अब जतिसक्दो चाँडो प्रहरीले निर्वाचन सुरक्षा प्रहरी भर्नाका लागि दरखास्त आह्वान गर्ने बताउँछन् ।
यता नेपाल प्रहरीले त्यसैअनुसार तयारी गरेको छ । जसअनुसार सोमबार मन्त्रालयमा छलफल गरेर यी सबै विषयहरु टुंग्याएर निर्वाचन सुरक्षा प्रहरीको भर्ना खोल्ने तयारी गरिएको छ ।
अघिल्लो निर्वाचनमा ४० दिनको सेवा–सुविधा दिने गरी म्यादी प्रहरी खटाइएको थियो । उनीहरूलाई प्रहरी जवानको सुरु स्केलको तलबअनुसार ४० दिनको सेवा–सुविधा दिइएको थियो । यसपटक पनि ४० दिनकै लागि निर्वाचन सुरषा प्रहरी भनाए गर्नेगरी तयारी अघि बढाइएको छ ।
निर्वाचन प्रहरी भर्ना गर्दा १८ वर्ष उमेर पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने, अवकाश प्राप्त आर्मी, सशस्त्र प्रहरी, नेपाली प्रहरीहरूलाई विशेष प्राथमिकता दिने जस्ता प्रावधान रहनेछन् । उनीहरूको तलबभत्ता तथा सेवा–सुविधा प्रहरी जवान सरह नै हुने बताइएको छ ।
मतदान केन्द्रहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा छुट्याइने र त्यसैअनुसार निर्वाचन सुरक्षा प्रहरी सहितका सुरक्षाकर्मी खटाइने बताएको छ । पहिलो घेरामा प्रहरी, निर्वाचन प्रहरी रहेनछन् । त्यसपछि दोस्रो घेरामा सशस्त्र प्रहरीले सुरक्षा गर्ने बताइएको छ ।
अन्तिम अर्थात् तेस्रो घेरामा भने नेपाली सेनाले सुरक्षा गर्ने बताइएको छ । मतदान केन्द्र संवेदनशिलताका आधारमा सुरक्षाकर्मीहरू परिचालन हुन्छन् ।
प्रतिक्रिया 4