१४ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहको शिक्षा तथा विकास विषयको प्रश्नपत्र अघिल्लो वर्षसँग हुबहु रहेको पाइएको छ ।
एमएड दोस्रो सेमेस्टरको २८ मंसिरमा भएको शिक्षा तथा विकास विषयमा सोधिएको ११ वटा प्रश्नमध्ये ९ वटा प्रश्न २०८१ को प्रश्नसँग हुबहु र २ वटा प्रश्न समान खालको आएको शिक्षक र विद्यार्थीहरूले बताएका छन् ।
‘अघिल्लो वर्षको प्रश्न सोधिनु भनेको प्रश्नपत्र बाहिरिएको हो । एउटै प्रश्न दोहोरिनुले परीक्षा प्रणालीको मर्यादा उल्लघंन भएको छ,’ त्रिविका एक प्राध्यापकले भने, ‘परीक्षाको निश्पक्षता, विश्वसनियता र गुणस्तरमा प्रश्न उठेको छ ।’
एमएड दोस्रो सेमेस्टरको परीक्षा गत २७ मंसिरदेखि ७ पुससम्म चलेको थियो । प्रश्नपत्र बाहिरिँदा पनि डिन कार्यालयले कुनै निर्णय नलिएको गुनासो केही प्राध्यापकहरूले गरेका छन् ।
‘प्रश्नपत्र दोहोरिएपछि तत्काल परीक्षा समितिको बैठक बसेर पुनः परीक्षा गर्नु पर्ने हो । ७ पुसमा परीक्षा सकिएपछि दोहोरिएको विषयको पुनः परीक्षा ९ पुसमा गर्न सकिने थियो । तर डिन कार्यालयले यो विषय गुपचुप राख्यो,’ ती प्राध्यापकले भने, ‘ढिलागरी पुनः परीक्षा लिँदा विद्यार्थीलाई असर पर्छ ।
डिन वेदराज आचार्य भने केही प्रश्नपत्र दोहोरिएको तर बाहिर आए जस्तो नभएको दाबी गर्छन् ।
‘अलिअलि दोहोरिएको हो । यो विषयमा आज सम्बन्धित व्यक्तिहरूलाई स्पष्टीकरण मागेको छ । तर बाहिर आएको जस्तो पनि होइन । पुरानो प्रश्नपत्र नहेरि बनाएको पाइएको छ,’ उनले भने ।
यसरी प्रश्नपत्र दोहोरिनुमा सधैं एउटै व्यक्तिलाई प्रश्नपत्र बनाउने दिने र प्रश्नपत्र बैंकको व्यवस्था नहुँदा दोहोरिने गरेको आरोप प्राध्यापकहरूको छ ।
‘प्रश्नपत्र मोडेरेसनमा समस्या हो । रिमोडरेसन नगरी प्रश्न सोध्ने गरेकोले हो,’ ती प्राध्यापकले भने, ‘ एक दुइ सेट प्रश्नमात्र बनाएर परीक्षा लिँदा पनि दोहोरिने गरेको छ ।’ यसअघि पनि यस्तै प्रकृतिको घटनामा दोषीलाई कारबाही र पुनः परीक्षा लिइएको नजिर छ ।
हेर्नुहोस् प्रश्नपत्र :


प्रतिक्रिया 4