News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले एनालग प्रविधिमा बनेका स्वदेशी फिल्मलाई डिजिटल माध्यममा सुरक्षित राख्न डिजिटाइजेसन कार्यक्रम सञ्चालन गर्न आवेदन आह्वान गरेको छ।
- डिजिटाइजेसनमा सहभागी हुन इच्छुक फिल्म निर्माता वा अधिकार प्राप्त व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्ने बोर्डले जनाएको छ।
- बोर्ड अध्यक्ष दिनेश डिसीले डिजिटाइजेसनले पुराना चलचित्रलाई संरक्षण गरी नयाँ पुस्तासम्म लैजान सहयोग पुग्ने बताए।
काठमाडौँ । चलचित्र विकास बोर्डले स्वदेशी फिल्मलाई ‘डिजिटाइजेसन’ गर्ने कार्यको लागि आवेदन आह्वान गरेको छ ।
बोर्डले सूचना प्रकाशित गर्दै एनालग प्रविधिमा निर्माण भएका स्वदेशी फिल्मलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो ।
यस कार्यमा सहभागी हुन इच्छुक फिल्म निर्माता वा अधिकार प्राप्त व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोर्डले तोकेको ढाँचामा आवेदन पेश गर्नुपर्ने जनाइएको छ ।
डिजिटाइजेसन प्रक्रियामा सहभागिताका शर्त, आवेदन फाराम तथा आवश्यक विवरण बोर्डको वेबसाइटबाट लिन सकिने जनाइएको छ । बोर्ड अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र मुलुकको सांस्कृतिक र ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै डिजिटाइजेसन अत्यावश्यक भएको बताए ।
उनले भने, ‘पुराना स्वदेशी चलचित्र केवल मनोरञ्जन मात्र होइनन्, ती हाम्रो समाज, समय र इतिहासका दस्तावेज हुन् । डिजिटाइजेसनमार्फत यस्ता चलचित्रको संरक्षण गर्नु आजको आवश्यकता हो । यस कार्यक्रमले हराउँदै गएका चलचित्रलाई सुरक्षित राख्दै नयाँ पुस्तासम्म लैजान सहयोग पुग्नेछ ।’
बोर्डले कार्यक्रममार्फत पुराना स्वदेशी चलचित्रको दीर्घकालीन संरक्षण, अध्ययन-अनुसन्धान तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली चलचित्रको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया 4