News Summary
Generated by OK AI. Editorially reviewed.- पायल्स मलद्वार वरपर नसाहरू फुल्ने वा सुन्निने अवस्थालाई भनिन्छ र मुख्य कारण खानपान, कब्जियत र लामो समय शौचालयमा बस्नु हो।
- पायल्सका चार चरण हुन्छन् जसमा पहिलो चरणमा दिसामा रगत आउँछ र चौथो चरणमा पायल्स बाहिर निस्केर भित्र पस्दैन।
- पहिलो र दोस्रो चरणमा औषधिबाट उपचार सम्भव छ भने तेस्रो र चौथो चरणमा शल्यक्रिया आवश्यक हुन्छ र खानपानमा मसालेदार तथा कब्जियत गराउने खानेकुरा नखान सिफारिश गरिएको छ।
धेरै मानिसहरू दिसा गर्दा रगत आउनु, मलद्वार वरिपरि दुखाइ वा मासु पलाउनुजस्ता समस्या देखिँदा पनि त्यसलाई लुकाएर बस्छन् । समाजमा ‘लाज लाग्ने रोग’ भनेर बुझिने मानसिकताका कारण पायल्सको समस्या खुलेर भन्न र समयमै उपचार गराउन धेरैले हिचकिचाउँछन् । तर चिकित्सकहरू भन्छन्- लुकाएर बस्दा समस्या झन् जटिल बन्दै जान्छ । सुरुको चरणमै पहिचान भयो भने पायल्स साधारण उपचारले पनि पूर्ण रूपमा निको हुन सक्छ ।
यस्तोमा सामान्य देखिने पायल्स जटिल बन्दै शल्यक्रियासम्म पुग्न सक्ने अवस्था कसरी सिर्जना हुन्छ ? पायल्स हुँदा शल्यक्रिया नै गर्नुपर्छ कि औषधिले पनि ठिक हुन्छ ? यो विषयमा क्षार सूत्र विज्ञ डा. सुवर्ण पौडेलसँग गरिएको कुराकानी:
१.पायल्स के हो र यो किन हुन्छ ?
पायल्स मलद्वारमा हुने समस्यामध्ये एक हो । मुख्यतया मलद्वार वरपर अर्थात् मलद्वारको भित्री वा बाहिर नसाहरू फुल्ने वा सुन्निने अवस्थालाई पायल्स भनिन्छ । पायल्स भित्री र बाहिरी गरी दुई प्रकारका हुन्छन् ।
पायल्स हुनुमा एउटा मात्र कारण हुँदैन । तर, मुख्य रुपमा पायल्स खानपानका कारण हुन्छ । खास गरी मसालेदार खाना, जंकफुड, मैदाजन्य, तारेको भुटेको खानेकुराले यो समस्या ल्याउन सक्छ । किनभने यस्तो खानेकुरा सहजै पच्दैन, जसकारण पखाला वा कब्जियत हुनसक्छ । दिसा गर्दा बल गर्ने बानी, लामो समय शौचालयमा बिताउने बानीले पनि पायल्सको समस्या ल्याउन सक्छ । यस्तै गर्भावस्था, बुढ्यौली र वंशाणुगत कारणले पायल्स हुनसक्छ ।
२.पायल्स हुँदा देखिने सामान्य लक्षणहरू के–के हुन् ?
सामान्यतया दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने पायल्सका लक्षणहरु हुन् । तर, भित्री र बाहिरी पायल्समा लक्षणहरु फरक पर्न सक्छ । मलद्वारको बाहिरको नसा फुल्नुलाई बाहिरी पायल्स भनिन्छ भने भित्री पायल्समा भने चार चरण हुने गर्छ ।
पहिलो चरणमा दिसामा रगत देखिन्छ । दोस्रो चरणमा दिसा गर्दा मलद्वारबाट बाहिर निस्किने र भित्र पस्ने हुन्छ । तेस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्कन्छ आफैँभित्र पस्दैन, औँलाले धकेलेर भित्र पसाउनुपर्ने हुन्छ । चौथो अवस्थालाई पोल्याप्स् स्टेज पनि भनिन्छ । जुन अवस्थामा मानिसले दिसा गरेर उठेर औँलाले धकेलेर भित्र पसाउँदा पनि नपस्ने बाहिर नै निस्किरहने हुन्छ । कहिलेकाहीँ पायल्स फुटेर रगत बग्ने गर्छ ।
३.पायल्स खतरनाक रोग हो कि साधारण उपचारले निको हुन्छ ?
सुरुको अवस्थामा पत्ता लाग्यो भने साधारण उपचारले पनि पायल्स निको हुन सक्छ । तर, जटिल अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक विधि छन् । यी उपचार पद्धतिमध्ये कुन बढी प्रभावकारी हुन्छ भन्ने प्रश्न भने धेरैको मनमा उब्जिरहेको हुन्छ । आयुर्वेदिक र एलोपेथिक दुवै तरिकाले पायल्सको उपचार प्रभावकारी हुन्छ । कुन उपचार छनोट गर्ने व्यक्तिमा भर पर्छ ।
पायल्सको पहिलो तथा दोस्रो चरण हो भने औषधिबाट नै पनि पायल्स निको हुन्छ । तर लामो समयदेखि पायल्सको समस्या भएका र तेस्रो, चौथो चरणमा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
४.पायल्स भएमा खानपानमा के खाने र के नखाने ?
पायल्स भएकाले कब्जियत हुने खालका खानेकुरा खानुहुँदैन । यसमा मैदाजन्य परिकार, माछा, मासु, अण्डा, तारेको, भुटेको, मसालेदार खाना, अदुवा, मरीच, खुर्सानी, रक्सी, चुरोट खानु हुँदैन । किनकि यी खानेकुरा सजिलै पचाउन नसकिने भएकाले कब्जियत गराउन सक्छ । त्यसै गरी चिया, कफी, कोल्ड ड्रिङ्क, पाउडरजन्य खानेकुराले पनि गर्मी गराउने भएकाले कब्जियतको समस्या ल्याउन सक्छ त्यसैले यस्तो खानेकुरा पनि खानु हुँदैन।
पायल्सको समस्या भएको व्यक्तिले दैनिक कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । बिहान बेलुकीको खानामा हरियो सागपातको तरकारी, दिनको एउटा फलफूल खानुपर्छ । खाजामा गहुँबाट बनेका परिकार जस्तै ओट्स, ढिँडो, पानी रोटी, सुख्खा रोटी खाने, दुग्धजन्य परिकार तथा शरीरलाई शीतलता दिने फाइबरयुक्त खानेकुरा खाने गर्नुपर्छ । साथै उखुको रस, किसमिस, झोलिलो खानेकुरा, रेसादार खानेकुरा पायल्सका बिरामीका लागि लाभदायक हुन्छ ।
५.पायल्स हुँदा अपरेसन नै गर्नुपर्छ कि औषधिले पनि ठिक हुन्छ ?
दिसामा रगत आयो भने त्यो पायल्सको सुरुवाती चरण हो । दोस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्किने र भित्र पस्ने हुन्छ । तेस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्कन्छ आफैँभित्र पस्दैन थिचेर भित्र पसाउनुपर्ने हुन्छ । चौथो चरणमा भने मलद्वारबाट पायल्स भित्र नै नपस्ने बाहिर नै निस्किरहने हुन्छ ।
पायल्सको पहिलो तथा दोस्रो चरण हो भने आयुर्वेदिक औषधिबाट नै पनि पायल्स निको हुन्छ । तर लामो समयदेखि पायल्सको समस्या भएका र तेस्रो, चौथो चरणमा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
६.पायल्सलाई पूर्ण रूपमा निको पार्न सकिन्छ कि सधैँ रहिरहन्छ ?
पायल्सलाई पूर्ण रुपमा निको पार्न सकिन्छ । तर, महिलाहरूमा गर्भावस्थामाको समयमा र पुरुषहरूमा बुढेसकालमा प्रोस्टेटका कारणले यो समस्या दोहोरिन सकिन्छ । साथै बारम्बार कब्जियत, मलद्वारको मांसपेशी कमजोर हुनु, अत्यधिक मोटोपन वा दुब्लोपनको कारण पनि यो समस्या दोहोरिन सक्छ ।
प्रतिक्रिया 4